Sunday, July 24, 2022

समृद्धिका लागि समाज भित्र राज्य (State in Society for the Prosperity)

 समृद्धिका लागि समाज भित्र राज्य (State in Society for the Prosperity)


आफैमा खण्डित समाज (Fregmented Society) नै समाजको सकारात्मक रूपान्तरण, परिवर्तन र विकासको बाधक हो भने सामन्ती स्वायत्त राज्य (Autonomy State) को निरंकुशता पनि शक्तिराज्य (Strong State) निर्माणको अवरोध हो । समाज र राज्य बीचको आपसी सम्बन्ध र सशक्तीकरण (Mutual Relationship and Empowerment) को विकल्पमा विश्वास र अभ्यास गर्नु समृद्ध समाज र शक्तिशाली राज्य निर्माणक्रमको बाधक हो ।


खण्डित समाज भन्नाले समाज भित्र रहेको आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, भौगोलिक विविधता साथै सामाजिक संस्थाहरू लगायत विभिन्न शक्ति संघर्ष समुह बीचको असमानजस्यता एवं एकता, सद्भाव र तालमेल नभएको एक जटिल स्थिति र अवस्था हो । जस्तै कुनै समाज भित्र रहेको विविध पहिचान ,भाषिक, धार्मिक, लैङ्गिक, भौगोलिक, आर्थिक लगायत आधारमा व्यक्ति वा समूह बीच समानता नहुनु, तालमेत नहुनु वा विविधता बीचको एकता र सद्भाव कमजोर हुनु । त्यसरी नै स्वायत्त राज्य भन्नाले राज्यले लोकतान्त्रिक विधि प्रक्रियामा विश्वास नराखी समाज वा समाज भित्रको विविधता एवं शक्ति समुहलाई नजरअन्दाज गर्दै शक्ति प्रदर्शन र निरंकुशताको अभ्यास गर्ने राज्य व्यवस्था हो । जस्तै; राज्यले राज्य व्यवस्था संचालनको क्रममा मनोमानी ढङ्गबाट नातावाद, कृपावाद जस्ता विषयको निकृष्ट अभ्यास गर्ने साथै निरंकुश निर्णय, सामन्तवादी प्रवृत्ति तथा एकाधिकार शक्ति प्रदर्शनमा विश्वास राख्ने जस्ता अभ्यासहरू ।


समाज विकासकालागि समाज भित्र रहेको विविधता बीचको एकता अनिवार्य सर्त हो भने राज्यले शक्ति प्रदर्शन गर्नु भन्दा लोकतान्त्रिक विधि प्रक्रिया र पद्दतिमा रहनु पनि पहिलो र अन्तिम सर्त हो । समाजमा विविधता बीचको एकता साथै राजनीतिमा लोकतान्त्रिक राज्य व्यवस्था भएर मात्र समाज विकास हुन सक्दैन । गुणस्तर विकसित समाज साथै समृद्ध र शक्तिशाली राज्य बन्न र बनाउन विविध सामाजिक शक्तिहरू (Social Forces) र राज्य बीचको पारस्परिक सहकार्य र सहअस्तित्व महत्वपूर्ण रहेको हुन्छ । अर्थात समाजको गुणस्तर विकास र परिवर्तनको क्रममा समाज भित्रको एकता साथै उदारवादी-कल्याणकारी राज्य बीचको पारस्परिक सशक्तीकरण (Mutual Empowerment) अनिवार्य सर्त हो भनेर मान्ने गरेका छन् सामाजिक चिन्तकहरू (Social Thinkers) ।


नेपाली समाजको ऐतिहासिक विकासक्रमको समाजशास्त्रीय दृष्टिकोण बाट अध्ययन गर्दा समाजको पछ्यौटे र कमजोर राज्य वा तेस्रो मूलुकको दर्जामा पर्नुको पछाडिका विविध कारणहरू मध्ये समाज र राज्य बीचको तालमेलमा बेमेल मुख्य हो भनेर नकार्न सकिन्न । सामज भित्रको असमान वितरण र भौतिक पहुँच ले सृजना गरेको अन्याय र त्यस विरूद्धको शक्ति संघर्ष समूहहरू बीचमा एकता हुन नसक्नु । अर्को तर्फ राजनीतिक पद्धतिबाट शक्तिमा पुगेर व्यवस्था संचालन गरिरहेको राज्यले नातवाद, कृपावाद लगायत सामन्तवादी अभ्यास गर्दै सामन्त पात्र (Strong Man) संग साँठगाँठ गर्दै त्यस्ता व्यक्ति वा संघर्ष समूह माथि निरंकुशता र शक्ति प्रदर्शन गर्ने अभ्यास भई रहेको देखिन्छ । राजनीतिक अभ्यासका नाममा शक्ति हत्याउने र राज्य व्यवस्था संचालनमा राज्य नै सर्वेसर्वा हो भन्दै स्वायत्तताको नकारात्मक लाभ उठाउने जस्ता अभ्यास भईरहेको नकार्न सकिन्न । 


यसरी समाजको अस्तित्व फरक रहेको र सकाजको सम्बन्ध राज्यसंग नरहेको राज्यले ठान्नु साथै राजनीति र राज्यको अस्तित्वलाई नस्विकार्ने आफैमा खण्डित समाजको बुझाई र अभ्यास नै समस्याको जड हो । त्यसैले विश्वसमाजका शक्ति राज्यहरूको विकासक्रमको ऐतिहासिक सन्दर्भको वैज्ञानिक अध्ययन गर्दै साथै आफ्नो समाज र राज्यको वर्तमान स्थिति र अवस्थाको वस्तविकता पत्ता लगाउन र सत्यको नजिक पुग्दै मूल जड पत्ता लगाउन जरुरी छ । मूल समस्या पत्ता लगाए पश्चात् दिगो समाधानको वैज्ञानिक योजना र अभ्यास अपनाउन जरुरी छ । त्यसकालागि समाज, राजनीति र राज्यको पारस्परिक र परिपुरक सम्बन्ध रहेको सबै पक्षले स्विकार्नु पर्दछ । सअस्तित्व र ससम्बन्धको संस्कृति र मूल्यमान्यताको अभ्यासमा जानुको विकल्पमा जानू हुन्न ।


समाज मात्र आफैमा निर्णायक होईन र राजनीति र राज्य मात्र पनि आफैमा सम्पूर्ण हैन । तर दुवै बीचको आपसी समन्वय, सहअस्तित्व र कल्याणकारीता जस्ता विषय अविकास राज्य र पछ्यौटे समाजको समस्याको दिगो समाधान हो । समाज भित्रका विभिन्न सामाजिक शक्ति संघर्ष समूह विरूद्ध शक्ति तथा निरंकुशता प्रदर्शन गर्ने स्वायत्त राज्यको अभ्यास गर्ने अर्थात (Society Vs State)  नभई सामाजिक एकता भएको समाज र कल्याणकारी राज्य दुवै बीचको पारस्परिक सम्बन्ध (Mutual Relationship) साथै एक अर्को प्रति शक्ति बनेर व्यवहार अपनाउनु पर्दछ । अर्थात समाजमा राज्य (State in Society) भएर सहअस्तित्वमा बलियो विश्वास राख्ने र त्यही अभ्यासमा जान सक्नु पर्दछ । तब मात्र विश्वसमाजमा आफ्नो समाज साथै राज्यलाई विकसित, समृद्ध र शक्तिशाली बनाउन सकिन्छ भन्ने वकालत गर्दछ राजनीतिक समाजशास्त्र (Political Sociology) ले ।

No comments:

Post a Comment