Wednesday, February 23, 2022

सामाजिक सत्य

 कसको दिदीबहिनीले अाफ्नो दाजुभाइ, कसको पत्नीले अाफ्नो पति, कसको मातापिताले अाफ्नो छोरा अधिकृत हुँदै सचिव, मुख्यसचिव, प्रहरी प्रमुख, सेनापति साथै मन्त्री, प्रधानमन्त्री भएको हेर्न चाहदैन होला र नेपाली समाजमा (पितृसत्तात्मक समाज) । सामाजिक सत्यको नजिक पुग्नका लागि जब समग्र देशको वर्तमान स्थितिलाई सुक्ष्म दृष्टिकोणले अध्ययन, खोज र मुल्यांकन गर्दै गर्दा यी सबै लोकसेवा र राष्ट्रसेवाका सार्वजनिक पदहरू शक्तिशाली बन्न र धन अार्जन गर्नु नै हो भन्ने कारण नै मजबुत देखिन्छ ।


परिवार भित्र परिवरका कुनै पनि सदस्यले आफ्नो दाजुभाइ, पति वा छोरा सार्वजनिक पद धारण गरेर आफ्नो समाजकालागि, देशकालागि इमानदार भएर सेवा र सुरक्षा प्रवाहमा लागोस भन्ने उदेश्य राख्ने हो भने आजको अवस्था टार्न सकिन्छ । परिवारका हरेक सदस्यमा भएको अर्थप्रधान र शक्तिकेन्द्रित अपेक्षाको कारण हो भ्रष्टाचार, अनैतिकता र घुसखोरी जस्ता प्रवृती मौलाएको । 


राज्यलाई यो अवस्थामा पुर्‍याउने संस्कृति घरघरको सदस्य सदस्यमा छ/छैन भनेर आत्मालोचना गर्नु भन्दा अरूलाई दोषी देखाएर पन्छीने नेपाली समाजको प्रवृत्ति साझा लक्ष्य हासिल गर्नुको बाधक हो ।


Tuesday, February 22, 2022

पुस्तक बजार

श्रीस्वस्थानी वर्तकथा किताब किन्न हिडेको, पूँजीवादी समाजका बुद्ध कार्ल मार्क्स र नेपालका एङ्ग्री आधुनिक बुद्ध डोरबहादुर बिष्ट किनी पठाईयो । 


आजको दिनमा गोमा ब्राह्मणी, सत्यदेवी साथै सिताहरू माथि हुने अन्यायको स्वरूप कस्तो किसिमको छ, त्यसैका न्यायकालागि, वैज्ञानिक र व्यवहारिक समाज निर्माणका खातिर, समाजको संरचनात्मक असमानताहरू हटाउन सामन्तवादी समाजका गौतम बुद्ध, पूँजीवादी समाजका बुद्ध मार्क्स र उत्तर आधुनिक समाजका बुद्ध बिष्टको अभियान ठिक कि श्रीस्वस्थानीहरू (कपोकल्पीत, अव्यवहारिक धार्मिक ग्रन्थहरू) र वर्गीय नेतृत्वको आधारमा निर्माण भएको समाज ठिक भन्ने विषय खोज्नु छ । 


यी तीन जनाको विचार, आदर्श र क्रिया लाई आदर्श मानेर समाज परिवर्तन, रूपान्तरण र विकास अभियानमा लागेका ज्ञात अज्ञात सहिदहरूको शक्ति र क्षमताले आज सम्म हटाउन नसकेको नेपालको अन्धविश्वास केको आडमा आज पनि वयस्क छ ! नेपाल मात्र होईन, दक्षिण एसिया मात्र होईन विश्वसमाजलाई सम्झेर छक्क पर्छु ! आखिर केकालागि यस्तो हर्कतमा सम्मोहीत हुदैछ मानव, अनि राज्यहरू ?


Monday, February 21, 2022

आर्यमौन विपस्यी र उसको भुक्ने कुकुर

 

'अन्धविश्वास' पितृसत्ताले पालेको पोसेको पालतु कुत्ता हो जसले आगनमा सम्म आउन दिदैन घर भित्र पस्ने बिचार त्यो विभेदित मस्तिष्कले कहाँ सोच्न र कल्पना गर्न सक्छ । आन्तरिक वा वाह्य शान्तिकालागि गरिने 'आर्यमौन'को सिद्धान्तलाई आफुकेन्द्रित निजी हितकालागि सामाजिक अपराध गर्ने साधन बनाईनु हुदैन ।


धर्म, संस्कृति, मूल्य, मान्यता लगायतको पालनाको अभिनय गर्ने ती कर्तालाई अन्धविश्वास अन्धविश्वास नलाग्न सक्छ किनकी त्यो चेतनाको तहमा तिनलाई पुग्न अवसर र सद्भाव दिइएको छैन । हजारौं हजार वर्ष भईसक्यो परिणाम नास्ती तर पनि त्यो वास्तवमा अन्धविश्वास नै हो भन्ने चेत छैन । पितृसत्तात्मक समाजकको सत्ताकेन्द्रको खेलले लक्ष्यित समुहलाई सधै बन्दी बनाउने चाल र जाल हो धर्म, संस्कृति नामको विभेदीत मान्यताहरू । 


आफु आर्यमौनको पालनामा बस्ने विपस्यी तर सबै संचार तथा आदेश त्यही अन्धविश्वास रूपि कुकुर मार्फत लगाउने गराउने । धर्म, संस्कृतिका नाममा अभ्यासमा ल्याईएको अन्धविश्वास लाई पितृसत्ताको रखवाला गर्ने कुकुर (साधन)को रूपमा प्रयोग गरिरहेको हो होईन कहिले छुट्याउने !  बाहिर कुकुर लगाईदिएर आफू भित्र बसेर मनपरि गर्दै मुखमा रामराम बगलिमा छुरा प्रवृत्तिले के समाजमा यसरी विकास र समृद्धि सम्भव छ त ! निजी हितकालागि अभ्यासमा ल्याईएको आर्यमौनले सामाजिक न्याय दिन सक्छ र !


पुस ३०, २०७८कान्तिपुर संवाददाता

ललितपुर — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनिनुपर्ने तर्क गरेकी छन् । साझा प्रकाशनको २५औं वार्षिक साधारणसभामा ‘व्यत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै उक्त विचार व्यक्त गरेकी हुन् ।



प्रतिक्रियावादी र मार्क्सवाद

 प्रतिक्रियावादी (Reactionist) भनेको के हो, को हो, यसको चरित्र, विशेषता कस्तो हुन्छ ? प्रतिक्रियावादी श्राप हो भने मार्कसवादी वर्दान हो र ? ऐतिहासिक द्वन्दात्मक भौतिकवादी भन्दा बाहेक अरू सबै प्रतिक्रियावादी हुन् भनेर मान्नु बौद्धिकता र सभ्यको परिचय हो ? 


मार्क्सवाद (Marxism) र भौतिकवाद (Metarialism) को नामको धोती र चन्दन लगाएर हिड्नेले मार्क्सवाद/नवमार्क्सवाद (Neo-Marxism) तिनैको पिताजीले उनलाई मात्र दिएको मन्त्र हो झै गरेर अाफुलाई त्यस विषयको ब्राह्मण (Intellectual) बनाउनाले गलत अभ्यास हुदैछ । अाफु मात्र क्रान्तिकारी, परिवर्तनकारी, अरू बुर्जुवा, यथास्थितिवादी, प्रतिक्रियावादी प्रवृत्ति । त्यस्ता लोमडी स्वभाव र प्रवृत्तिका, जीविकोपार्जनकालागि भौतिकवादी बनेकाहरू लाई थाहा हुनु पर्दछ कि यो ब्रह्माण्डमा एउटै मात्र सत्य छ त्यो "परिवर्तन" हो । परिवर्तन धुर्वसत्य हो । अरूको वर्ग पहिचान नगरी अरूलाई प्रतिक्रियावादी देख्नु अाफुलाई परिवर्तनकारी प्रमाणीत गर्न खोज्नु मात्र हो । त्यस्ता असमानतामा परेकाको वर्गीय पहिचान गरेर तिनमा भौतिक चेतना जगाउनु पहिलो कर्तव्य ठान्नु उपयुक्त हुन्छ ।


समाजमा भौतिकको पहुचको अाधारमा स्थायित्व रहेको‍ संरचनात्मक वर्गीय  असमानता अाफु र अाफ्नो समुहले मात्र अाजै उन्मुलन गर्न सकिन्छ भनेर सोच्नु सामाजिक विज्ञानको सिद्धान्त र अादर्श बाहेकको विचार हो । समाजमा सामाजिक  न्याय स्थापना गर्न एकता, सद्भाव र शान्ति साथै गुणस्तर चेतनाको अावस्यकता उत्तिकै रहेको हुन्छ । समाजको एक बहुसंख्यकलाई यो समाजबाट तिरस्कार गरेर कस्तो खालको समाजवाद (Socialism) र कस्तो खालको वैज्ञानिक साम्यवाद (Scientific Communism) को कल्पना गरेको । अाफ्नो मानसिक हैसियत अनुसार अाफुले मात्र उपभोग र व्यक्तिगत समाजवाद र साम्यवाद ल्याउन हिडेको कि ऐतिहासिक द्वन्दात्मक भौतिकवाद अनुसारको कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्स साथै लेनिनवादी विश्लेषण गरेको वैज्ञानिक सामाजिक साम्यवादकालागि हिडेको ?


ती निम्मनवर्गीय जो अाफु शोषण, विभेद र असमानतामा परेको थाहा छैन तर लयलयमा लागेर भौतिकवादको विपक्षका विषयमा क्रिया-प्रतिक्रिया गर्दछन् । त्यसता अचेतमा रहेका मानिसलाई प्रतिक्रियावादी वा प्रवृत्ति भन्न मिल्दैन । तर उच्च वर्गवाट प्रतिनिधित्व गर्ने र अाफु उच्च वर्ग, पद प्रतिष्ठामा टिकिरहन भौतिकवादको सामाजिक विज्ञानलाई अस्विकार गर्दै अन्धविश्वास र भाग्यवाद संग जोड्ने वा पतनवादी धारणा राख्ने लाई प्रतिक्रियावादी प्रवृत्ति भन्न सकिन्छ भन्ने भाव लेलिन बाट पाउन सकिन्छ । 


मानवलाई अखण्ड विश्वदृष्टिकोण प्रदानगर्ने सर्वशक्तिमान सामाजिक शिक्षा हो मार्क्सवादको ऐतिहासिक द्वन्दात्मक भौतिकवाद (Historical Dialectical materialism) । जसले मानवमा भएको विभिन्न प्रकारको अन्धविश्वास बाट टाढा रहन मद्दत गर्दछ भने प्रतिक्रियावादी प्रवृत्ति साथै बुर्जुवा उत्पिडनको विरोध गर्दछ भन्छन् लेलिन ।


कन्फ्युजन

 आफू सम्झेर, आफै देखि आफु कन्फ्युजनमा छु । म को हुँ ! म के हुँ ! म किन यहाँ छु ! देख्दा एक्लो देखिएपनि म भित्र धेरै म हरू किन छन् ! कुन म चै म हुँ ! मैले आफुले आफुलाई किन चिन्न नसकेको ! म हरू मध्येको कुन म चै वास्तविक म हुँ !


च्याँखे दाउ, भूईमान्छे, MCC र हुटिट्याउँ

 

अमेरिकाको EDV भर्ने नेपाली नागरिकता त्याग्न चाहनेको मन एकातर्फ, तर्कले वचन अर्कोतर्फ भन्ने पनि पढियो बुझीयो अब मनमा के होला भन्ने बुझ्न सकिएन । व्यक्तिगत उदेश्य/लक्ष्य प्राप्तिकालागि अमेरिकाको भिसा लागि सकेका, पुगिसकेकाहरूको मन, वचन र कर्म कस्तो भन्ने सुन्न र बुझ्न रहर छ । 


MCC को पक्ष/विपक्षमा अभियान चलाएर व्यक्तिगत साथै राजनीतिक दुनो सोझ्याउने शक्तिमा सधै बसेर निरंतर लाभलिने त्यस्ता च्याँखे दाउपेच जानेकाहरू पनि पर्याप्त छन् जो आफै सडक, सदन र सरकारमा छन् । 


अब 'खाई न पाई छालाको टोपी लगाई' वर्गमा पर्ने हुदाखाने भूईमान्छे जो छौं त्यसको कुरा बुझ्दा हुटिट्याउँ र समुन्द्रको कथाको सम्झना आउँछ । त्यस पंचतन्त्रको कथामा आकाश थामेको छु सम्झने सानो भाले हुटिट्याउँले आफ्नो पोथीको विलाप देखेर अण्डा कब्जा गर्ने त्यो शक्तिशाली समुन्द्रलाई झुक्न बाध्य बनाएको थियो । 


भ्रष्टाचारले देश र समाज खोक्रो भईसकेको हुदा पनि त्यसको विरूद्ध चुईक्क नबोलेहरू, MCC को पक्ष/विपक्षमा बोलेर राष्ट्रवादी प्रमाणीत गर्न खोज्नु वा विचारमा विपक्षलाई राष्ट्रघाती तुल्याउने यस्ता अभ्यासले नेपालको एकता, सद्भाव, शान्ति र राजनैतिक स्थायित्व अझ संकटमा पर्दै गईरहेको छ । 


चिन र ईन्डिया जस्तो विश्वका शक्तिशाली मुलुकहरूको छिमेकी भएर अवसर लिन नसक्नुले निम्तने संकट नेपालका लागि घातक छ । कसले कति खेलाउदैछ, साथ दिदैछ र कति दबाबमा राख्न चाहाना राख्छ भन्ने विषय बुझेर सरकारले, राज्यले नेपाली समाजका जग्गा दलाल (मध्यस्तकर्ता)ले झै दुवै पक्ष बाट लाभ लिन नसक्नु आफ्नै गुण र क्षमतामा दोष हो भन्ने स्विकार्न सक्नु पर्दछ ।


राष्ट्रवादको व्याक फायर

 यसपालि पनि राष्ट्रवादको नामको हवाई फाईरिङ गर्न खोजे व्याकफायर हुन सक्छ । सत्तामाहुदा राष्ट्रवादी व्यवहार साथै नतिजा दिन नसक्ने तर सत्ता प्राप्तिकालागि उग्र-अतिवादी राष्ट्रवाद नामक प्रोपोगन्डाको आतिसबाजी गर्ने प्रवृत्तिको अभ्यासले फेसो उखेल्ने बाँदरको जस्तै हालत हुन सक्छ । ब्याकफायर हुन सक्छ । आफुले खनेको खाल्डोमा आफै पर्न सक्छ । आफुले हल्लाएको फेसोले आफ्नै अण्डकोष फुटाउन सक्छ ।


कम्युनिष्ट साथै लोकतान्त्रको छाला धारण गरेर आफ्नो दुनो सोझ्याउने पहिचान गरेर त्यस्ता नक्कली कम्युनिष्ट तथा लोकतान्त्रिक प्रवृत्तिलाई निर्वाचनको अवसर पारेर नाङ्गो बनाएर पानीमा डुबाउदै मतदानको सिस्नोले हान्न सक्नु पर्दछ आम भूईमान्छे मतदाताले ।


प्रणय दिवस

 😊

एक पक्षले प्रणय दिवसलाई निजी जीवनको गोप्यता सार्वजनिक गरेर भड्किलो नबनाउ भन्छन् भने अर्को पक्ष प्रेम अभिव्यक्तमा देखासिकी गर्दै प्रदर्शन गरौं भन्छ । 

आ-आफ्नो स्थानमा दुवै पक्ष गलत हैनन् तर हामी तेस्रो पक्ष जो प्रेमलाई न मौन राख्न जान्दछौं न त अभिव्यक्त नै गर्न जान्दछौं त्यस पक्षधरले किन यति दबाब झेल्नु परिरहेको छ प्रेमको नाममा प्रेमीका बाट । 

उनी भन्दै थिईन "तिमी त माँया नै गर्न जान्दैनौं" भनेर ।

मौनवादी साथै अभिव्यक्तवादी प्रेमी प्रेमिकाको आतंकले तेस्रो पक्षको निजी जीवन प्रभावित भएको मर्म र भावना कस्ले बुझिदिने ! 😊


प्रेम, मौन भाव पनि हो साथै अभिव्यक्त पनि । कुनै निश्चित दिन तोकेर कुनै निश्चित व्यक्तिका नाममा मौन वा प्रदर्शन गरिने अभिव्यक्त फिटिङ्स टुगेदरकालागि हो भने वास्तविक प्रेम एक स्वभाव हो । यसले समय, स्थान र व्यक्ति हेर्दैन, देख्छ त केवल प्रेम र करूणा । त्यसैले त भनिन्छ प्रेम अन्धो हुन्छ किनकि आकृति, समय, स्थान देख्दैन, छुट्याउदैन । कसलाई दिदैछु र किन दिदैछु सोच्दैन खोज्दैन, दिदा समान रूपमा वितरण र अभिव्यक्त गर्दछ । कहिले कसै संग अपेक्षा राख्दैन, बस प्रेमले प्रेम दिन जान्दछ । जहाँ प्रेम हुन्छ त्यहाँ करूणा, विश्वास र शान्ति हुन्छ ।

🙈🙉🙊


विश्वव्यापी प्रणयदिवसको शुभकामना

 वर्तमान पितृसत्तात्मक पूँजीवादी समाजले महिलाले आफ्नो कला, योग्यता, क्षमता, तथा शक्ति प्रदर्शन गरेको भन्दा अंग प्रदर्शन गरेको हेर्न चाहान्छ । 


नेतृत्व, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भनेको कुनै निश्चित लिङ्गको प्राकृति क्षमता र वीरता हो भन्ने जस्तो देखिन्छ । तर यो निकृष्ट मूल्य मान्यता कुनै लिङ्ग विशेषले ऐतिहासिक सन्दर्भ संगै निर्माण गरेर त्यसैलाई निरंतरता दिदै अतिवादी पितृसत्तात्मक समाजलाई मजबुत बनाएको प्रमाण भेट्न सकिन्छ । 


पितृसत्तात्मक समाजको संस्कृति साथै मूल्य-मान्यता विश्वव्यापी रूपमा चलेको छ त्यो प्रकृतिक नभई समाज निर्मित हो भन्नेकुराको चेतना राख्नु पर्ने हुन्छ । अंग प्रदर्शनको चाहाना कसैको निजी नभई योजनाबद्ध रूपमा विकास गरिएको वा निर्माण गरिएको मनोविज्ञान हो, निर्मित संस्कृति हो । जसले ऐ तिर धकेलिरहेको र बाध्य बनाएको हो तर त्यस्तो महसुस हुदैन । 


शोषक, र नाफाखोरी पूँजीवादी पितृसत्तात्मक समाजको विनिर्माण गर्न सबैले चेतनाको विकास गरि न्यायिक समाज पुनःनिर्माण गर्ने सबैको कर्तव्य हो, दायित्व हो ।


प्रणय दिवसको अवसर पारेर वा प्रेमको नाममा शारीरिक भोक मेटन हिडेका त्यस्ता पिपासु प्रवृत्तिको सिकारी बाट सिकार हुनबाट बच्ने चेतनाको विकास होस् । पितृसतात्मक पूँजीवादी प्रणयदिवस अवसर भन्दा बढी चुनौतीपूर्ण रहेको भन्ने कुरा बुझ्न जरूरी छ ।


Friday, February 11, 2022

कुन तहको सामाजिक र मानवतावादी समाज

 

नेपाली समाजमा रहेका व्यक्तिमाथि घटने हरेक दैनिक घटनालाई पतनवादी, भाग्यवादी र अन्धविश्वासी धारणाले व्याख्या विश्लेषण गरेको पाईन्छ । पतनवादी, अन्धविश्वासी र भाग्यवादी व्याख्या र विश्लेषणले समाजमा जब सम्म स्थान पाई रहन्छ तब सम्म समाजमा सकारात्मक खुशी वृद्धि अर्थात विकासले कुनै स्थान पाउने छैन । समाजले आफै पैदागरेको विष आाफै फैलाउदैछ अनि आफै संक्रमित हुदैछ । समाज संक्रमित हुनु भनेको सामाजिक सम्बन्धमा दरार पैदा हुनु हो जसका कारणले सामाजिक सद्भाव, एकता र न्याय कमजोर हुनु हो । समाजमा एकता, सद्भाव र न्यायले स्थान नपाउनु भनेको समाज असामाजिक हुनु हो भने मानव अझ अमानवीयतामा प्रवेश गर्दै जानू हो । 


हामी मानवले आफुलाई सर्वश्रेष्ठ प्राणी मानव प्रमाणीत गर्न साथै सामाजिक हो भनेर प्रदर्शन गर्न पनि पतनवादी, अन्धविश्वासी तथा भाग्यवादी संस्कृतिलाई अस्विकार र बहिस्कार गर्न सक्नु पर्दछ । यति गर्न सके समाज र राज्यको सकारात्मक प्रगति, विकास र रूपान्तरणको बाधक मानिने भ्रष्टाचार उन्मुलन हुन सक्छ । भ्रष्टाचार बाट संक्रमित र प्रताडित नेपाली समाजमा भईरहेको भ्रष्टाचार रूपी रोगको सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता  नेपाली समाजनै हो नकि कुनै अन्य समाज हो भन्ने कुरा बुझ्न जरुरी छ ।


नेपाली समाजमा अभ्यास भईरहेको सामाजिक स्थिति, अवस्था र तह कुन श्रेणीको हो साथै नेपाली समाजमा अभ्यास भईरहेको मानवतावादको संस्कृति कुन स्तरको हो भन्ने पहिचान गर्न जरुरी छ । त्यस पश्चात् सामाजिक मूल्य, मान्यतालाई पुनःनिर्माण गर्ने साथै मानवतावादको विशुद्धता प्राप्ति तर्फको मार्ग अवलम्बन गर्न जरुरी छ । किनकि वर्तमान नेपाली समाज जुन अवस्थामा छ त्यसबाट छुट्कारा पाउने अरूकुनै विकल्प देखिदैन । रोगको पहिचान गरेर उपचारमा उपयुक्त विधि पद्धति अनुसरण गर्न सके मात्र रोग साथै संक्रमणकाल बाट छुटकार दिलाउन सकिन्छ ।


नेपाली समाजको संस्कृतिमा संक्रमण साथै मूल्य मान्यतामा पतनवाद, अन्धविश्वास र भाग्यवादको अभ्यासले नेपाली समाजको सामाजिक गुणस्तर कुन तहको र मानवमा रहेको मानवतावादी व्यवहार कति विशुद्धताको छ भन्ने कुरा हामी जो कोहीले अनुमान लगाउन सक्छौं ।