Sunday, July 24, 2022

रंग, वर्ण, वर्ग र चेतना

 रंग, वर्ण, वर्ग र चेतना


तिम्रो र हाम्रो उस्ता उस्तै छ मोडा;

काटिकुटी हाम्रो उस्तै छ मुहार ।

नाकको डाँडी पनि मिल्ने,

कानको लोती पनि मिल्ने, 

आँखाको आकार पनि मिल्ने, 

मुख र जिब्रो सम्म पनि मिल्ने,

छालाको रंग पनि उस्ता उस्तै,

साँच्चै ! झट्ट हेर्दा उस्ता उस्तै हुन्छ भान।

भौतिक रूपमा तिमी र हामी एकै समान ।


तिम्रो र हाम्रो उस्ता उस्तै छ मोडा ।

काटिकुटी उस्ता उस्तै छ मुहार ।


उस्ता उस्तै देखिँदा पनि, किन हाम्रो भाव बेग्लाबेग्लै !

नाकको डाँडी उस्तै छ तर इज्जत किन बेग्लाबेग्लै !

कानको लोती उस्तै छ तर कुण्डल किन बेग्लाबेग्लै !

आँखाको आकार उस्तै तर नजरमा तेज किन बेग्लाबेग्लै !

स्वादे जिब्रो एकै तर आहारामा व्यञ्जन किन बेग्लै !

छालाको रंग उस्तै तर रूपमा चमक किन बेग्लाबेग्लै !

भौतिक रूप उस्तै तर भौतिकमाथिको पहुँच किन बेग्लाबेग्लै  !

साँच्चै ! झट्ट हेर्दा उस्ता उस्तै हुन्छ भान !

तर पनि हामी बिच कति धेरै वर्गीय असमान !


वर्गको कुनै रंग हुदैन तर एकै रंगमा वर्ग छ ।

वर्गको कुनै वर्ण हुदैन तर एकै वर्णमा वर्ग छ ।

जहाँ वर्ग छ त्यहाँ भूत-भविष्यमा वर्गीय संघर्ष छ ।

जहाँ वर्गीय संघर्ष छ त्यहाँ भ्रम र वास्तविक चेतना छ ।

जहाँ भ्रमको चेतना छ त्यहाँ रंग,वर्ण र वर्गको सैतानी छ ।

जहाँ वास्तविक चेतना छ त्यहाँ न रंग-वर्ण छ न त वर्ग छ;

त्यहाँ मानव छ, जहाँ समाजवाद, साम्यवाद र मानवतावाद छ ।

जहाँ मानव छ, त्यहाँ समाजवाद, साम्यवाद र मानवतावाद छ ।।


फेरि पनि जसले जेसुकै भनुन् !

तिम्रो र हाम्रो उस्ता उस्तै मोडा;

काटिकुटी हाम्रो उस्तै छ मुहार ।

एकै जात, एकै रंग साथै एकै वर्ण भार;

अनि मन्दिर-मस्जिद-चर्चको एकै दुवार ।


रातभरि रामायण पढ्यो, साँचै सीता कसकी जोई !

आफ्नै रंग, वर्णमा वर्गीय असमानता खोजेको खै !


मिति: २०७९ असार २१ गते सोमबार

No comments:

Post a Comment