उदयपुरको त्रियुगा नगरपालिका-३, भुल्केको मस्जिदमा बासबसेका ती ११ जना भारतिय मुलुकका पाहुना र १ जना स्थानीयलाई कोभिड-१९ पोजेटिभ देखिएको छ, अर्थात कोरोना भाईरस संक्रमित भएको खबर सुन्नमा आएको छ।रोग वा रोगीको व्यक्तिगत आत्मसम्मान, साम्प्रदायिक वा समुदायको अवस्थामा र सामाजिक रूपमा हुने कुनैपनि खालका अपमान, लांछित (Stigma) वा कुनै पनि त्यस्ता अमानवीय अभिव्यक्ति एकले अर्को लाई दिनु हुन्न वा गर्नु हुन्न भन्ने विषय नै मानवतावाद (Humanism)को एक प्रमुख सिद्धान्त हो। जो जहाँ भएपनि, जुनसुकै मुलुकको भएपनि ती हरेक मानव सम्मानित (Respected) र सुरक्षीत (Secure) हुनु पर्दछ। तब मात्र अन्य मुलुकमा रहेको नेपाली राष्ट्रियताको संस्कार बोकेका हरेक मानव सुरक्षीत हुन सक्छ। हामीले अन्यलाई सम्मानित र सुरक्षीत राख्दै गर्दा हाम्रा नेपाली पनि कतै सुरक्षीत र सम्मानित हुनेछन्। यस्तो कठिन परिस्थितिमा जो जहाँ छौं, त्यहाँ हामी माता प्रकृतिको एकै सन्तान हौं भन्दै एक अर्काको आड भरोसा बनौं। नेपालमा संक्रमित स्वदेशी विदेशी वहाँहरूको शिघ्र स्वास्थ लाभको कामना गर्दै सम्पुर्णमा उच्च सतर्कता र सावधानी अपनाउने विषयमा कत्ति लापरबाही नगरिदिनहुन अनुरोध गर्दछौं। विश्वस्वास्थ संगठन र नेपाल सरकारले दिएको निर्देशन पालना गरौं भन्दै यस्तो विश्वसंकट र महामारीको समयमा नेपाली समाज एक भई विश्वसमाजलाई एक बनाउदै मानवमा मानवताभाव जागृति गराउदै शान्ति, प्रेम र सद्भाव छर्ने कार्य तर्फ अघि बढनुको विकल्प नखोजौं।
मस्जिदमा रहेका उनीहरुमा शुक्रबार नै कोरोना संक्रमणको पुष्टि भएको थियो। जुन प्रकृति र परिस्थिति बाट हालसालै उदयपुरको त्रियुगा नगरपालिकामा कोरोना संक्रमित भेटिएको छ यस्ता घटनालाई कपोकल्पित आधार र अप्रमाणित कुरालाई माध्यम बनाएर राष्ट्रिय एकतामा खलल पार्ने, सामाजिक सद्भाव भड्काउने, परराष्ट्र सम्बन्धमा आँच आउने खालका र उदार मानवतावाद विरूद्धका क्रियाकलापमा जानीनजानी कोही पनि त्यस्तो वक्तव्यमा नफँस्न र सहभागी नहुन आग्रह गर्दछौं। बोल्दा मीठो कामना, प्रेमभाव, उदारवाद, साम्प्रदायिक र सामुदायिक एकता, मानवतावाद तथा सिङ्गो माता प्रकृतिको हितहुने र एकआपस बिचको सम्बन्ध मजबुत बनाउने, सद्भाव प्रगाढ गराउने एवं फैलाउने खालका अभिव्यक्ति सम्प्रेषण गरौं। त्यस्ता अजिवौं गरिब मन, वचन र कर्मको बास नहोस् र त्यस्तो अभ्यास हामी मानवले कहिले गर्नु नपरोस्। हरेक प्रणी वा हामी मानव जीवनको आयु सिमित छ र अनिश्चित पनि, भुल्न नहुन्न कि हामी मानव यस पृथ्वी लोककालागि केही दिनको पाहुना हौं भनेर। त्यसैले कल्याणकारी सामाजिक मान्यता बिगार्ने, अभयदान दिने पृथ्वीको आयु छोट्याउने र माता प्रकृतिलाई कुरूप बनाउने हाम्रो अकर्मण्यता हुन जान्छ जो हाम्रो अधिकार भित्र पर्दैन। हाम्रो अधिकार प्रेमका साथ एक आपसमा मिलेर बस्नु र सद्भाव बढाउनु र सबैको हित चिताउनु भन्दा अरू केही छैन। एकलाई प्यास लागे अर्को पानी बन्ने र एकलाई भोक लागे अर्को अन्न बन्ने वक्तमा कृपया संयमित, शान्त र सकारात्मक रहन आग्रह गर्दछौं।
आफ्नो लापरबाही वा अन्यको लापरबाहीका कारणले जानेर वा नजानेर त्यो कोरोनाको संक्रमण तपाईं हामी, हाम्रो परिवार, नातागोता, छरछिमेकी टोल, समाज जसलाई पानी र जहाँ पनि हुन सक्ने हुन्छ। आफुलाई पर्दै गर्दाको बखतमा सहारा खोज्ने, प्यार र सम्मान खोज्ने मानवीय स्वभाव ले अरूलाई पर्दाको समयमा पनि त्यही प्रस्तुत गर्नु पर्ने हुन्छ। यस्ता रोगको संक्रमणले वर्ग-वर्ण, धर्म-लिङ्ग, जात-जाति, अग्लो-होचो, सबल-दूर्बल, मूर्ख-विद्वान, परिचर-प्रधान, कुरूप-सुन्दर, मजदुर-व्यवसायी कोही पनि छुट्याउदैन। सबैलाई सिकार बनाउछ। अर्थात हाम्रो नेपाली समाजमा चलेको उखान जस्तो "कोही अर्कोलाई खाने बाघले आफुलाई पनि खान सक्छ" भन्ने कुरा स्मरणमा राख्नु पर्दछ। यो बेला कसैलाई जिस्काउने, घृणागर्ने र आत्मसम्मानमा ठेस पुर्याउने नभई साथ र हौसला आदान प्रदान गर्ने हो। भनिने पनि गरिएको छ, "रोगीलाई हैन, रोगलाई घृणा गरौं" भनेजस्तै; संक्रमित रोगीलाई प्रेम गरौं, संक्रमणहुन सक्ने रोगबाट बाँच्न नियमको पालना गरौं। यस व्रम्हाणडका ग्रहहरू मध्ये पृथ्वी मात्र यस्तो ग्रह हो जहाँ जीवन जिउने, बाँचने अधिकार सबै जीवलाई समान छ र सबै त्यसरी नै बाँच्न चाहान्छन्। यो पवित्रता पृथ्वी भन्दा अरूमा देखिएको छैन अहिले सम्म। यो पृथ्वीमा मानिस पनि त्यही जीव मध्यको एक चेतनशील प्राणी मानिन्छ। ती मानव पनि अन्तिम श्वास सम्म बाँच्ने नैसर्गिक अधिकार, ईच्छा र रहर राख्दछन्। त्यसैका लागि एकले अर्कालाई अन्तिम अवस्था सम्म सकेको साथ सहयोग दिनु नै मानवता हो र त्यस प्रति गम्भीरतापूर्वक हर कोशिसले लाग्नु राज्यको संस्थागत र संवैधानिक दायित्व र कर्तव्य हो। विश्वमानव, विश्वसमाज र हरेक राज्यमा त्यस्तो कल्याणकारी र धार्मिक कार्य गर्नेमा अझ शक्ति र हौसला बढेर जाओस्।
अन्य सरहदबाट विभिन्न महत्वपूर्ण कामले नेपाल सिमाना भित्र आएका ती संक्रमितलाई सम्मान गर्न सकिएन भने अन्य मुलुकमा रहेका नेपाली राष्ट्रियता बोकेका मानिसहरू अपमानित हुन पाउन हुदैन भन्नेमा बेजोड विश्वास राख्न पाउने छैनौं। आफुलाई शक्तिशाली भनाउदा विभिन्न मुलुकहरूले त्यहाँका गैरनागरिक रुपि मानवलाई आआफ्नो देश फर्किन सक्नु हुन्छ भनेर दिएको अभिव्यक्ति असक्षम, गैरजिम्मेवारी र अमानवीय अभिव्यक्ति थियो। जसका कारणले त्यहाँ रहेका अन्य मुलुकका नागरिकलाई गहिरो चोट पुर्याएको भन्ने विषय त्यस्ता प्रशाशक र व्यवस्थापकहरूले स्विकार्नु पर्दछ। यस्तो कठिन परिस्थितिमा सहारा बन्न नसक्नु वा त्यस्तो चोट दिनु अमानवीय कार्य हो जो कुनैपनि धर्म विपरीत छ। यस रोग बाट संक्रमित रोगीलाई अपमान गर्ने, शक्ति र हौसला मा रहन नदिने कार्य कसैले गरे त्यो पनि असामाजिक कार्य हो। सकारात्मक रहेर यो हरेक राज्यले गरेको लकडाउन (Lockdown) को सम्मान र विश्वस्वस्थ संगठनले दिएको निर्देशित नियम (guideline)को पालना गर्ने र रोग वा रोगीलाई सम्मान गर्न र मानसिक रूपमा सशक्त रहने र राख्ने हर प्रयास हामीले छोडनु हुन्न। हरकुनै मुलुकमा रहेका हरकोही मानव सुरक्षीत र सम्मानित हुनु पर्दछ भन्नेमा हामीले विश्वास राखौं। हरेक नेपाली राष्ट्रियताको संस्कार बोकेका हरेक मानव पृथ्वीको जुनसुकै वायु, जल, जमिन जहाँ रहेपनि त्यसरी नै सुरक्षीत रहुन, जसरी नेपाली समाजले अन्य मुलुकका नागरिकलाई साथ, सहयो र सम्मानपूर्वक व्यवहार देखाएका छौं। यहि कामनाका साथ कोरोना बाट प्रताडित सम्पूर्ण मानव वहाँहरू प्रति सम्मान व्यक्त गर्दै संक्रमितलाई शिघ्र स्वास्थ लाभको कामना।
शान्तिको दुत भगवान गौतमबुद्ध जन्मिएको हाम्रो मुलुकले यतिबेला विश्वलाई प्रेम, शान्ति, संयमित र सकारात्मक रहनुको विकल्प छैन भन्दै अभियानमा हुनु पर्दछ जो हामी नेपाली समाज र राष्ट्रियताको पहिलो दायित्व हो। किनकि विश्वको सिर अर्थात पृथ्वीको छाना (Roof of the world) सर्वोच्च शिखर सगरमाथा ८ हजार ८ सय ४८ हामी नै हौं। पृथ्वीको प्राकृतिक शक्तिकेन्द्र मानिएको कैलाश जहाँ समय रोकिन्छ, त्यही समय र कैलाशको पति श्री पशुपतिनाथ हामी हौं। भगवान गौतमबुद्धले दिनु भएको मानवता, प्रेम र शान्तिको संदेश बुझेर
बुद्धं शरणं गच्छामि।
धर्मं शरणं गच्छामि।
संघं शरणं गच्छामि। को जाप लिएर, सुन्दै सुनाउदै हरेकमा त्यो संदेश पुर्याउने फेरि त्यही समय आएको छ। जो वहाँले पृथ्वीको एक पवित्र भूमि नेपालको लुम्बिनीमा खनेरजानू भएको मानवताको मुहान र मुल आजसम्म सुकेको छैन, साथै गाडेर जानू भएको शान्तिको ध्वजा आज सम्म फरफरीएको छ र त्यसको महत्व र पवित्रता आज नास भएको छैन, अर्थात ताजै छ भन्ने शान्तिहोम गरेर विश्व जगतलाई महसुस गराउने बेला यही हो। यो चुनौती लाई नेपाली समाजले अवसरमा परिवर्तन गर्न सक्नु पर्दछ। अन्य मुलुक शक्तिको र राजनीतिको खेल खेलिरहदा नेपाली समाजले मानव समृद्धिका लागि प्रेम, शान्ति र मानवताको योग, ध्यान र तपको माध्यम बाट अत्याधुनिक प्रविधिले छोपेको प्रेम र शान्तिको महत्व अझै छ भन्ने प्रमाणित गर्ने बेला आएको छ। जसको मानवतावादी शान्ति मोर्चाको नेतृत्व लिने पहिलो हकवाला नेपाली समाज नै हो भनेर देखाउने समय आएको छ। हाम्रो लुम्बिनीमा शान्तिको मुहान छ, हामी लुम्बिनीबासीमा मानवताको सितल गुण थियो, र छ अनि चोमलुङ्माको सिरबाट विश्वमा फेरि मानवताको वादलबाट शान्तिको वर्षा गराउने छौ र फेरि सबैको शान्ति जागृत गराउनेछौं। यसरी
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् ॥
ॐ शांतिः शांतिः शांतिः
“ला इलाहा इलल्लाहु मुहम्मदुर्रसूलुल्लाहि” अल्ला हरवक्त रेहम करे!
"ॐ त्र्य॑म्बकं यजामहे सु॒गन्धिं॑ पुष्टि॒वर्ध॑नम्।
उर्वारुकमिव बन्ध॑नान् मृ॒त्योर्मुक्षीय॒ मा ऽमृता॑त्।" श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्!

No comments:
Post a Comment