आमा
एक महिला (पत्नी)ले आफ्नो यौवन, सुन्दरता, र जीवन त्यो पुरूष (पति)लाई दिएको भनिन्छ र पितृसत्तात्मक सामन्ती समाज द्वारा यही भाष्य निर्माण गरिएको छ । तर वास्तविकता फरक छ, त्यो महिलाले जवानी र सुन्दरताले भरिएको आफ्नो यौवन साथै ईच्छा, चाहाना र रहरहरूले भरिएको सम्पूर्ण जीवन आफ्ना संतानकालागि त्याग गरेकी हुन्छिन् ।
त्यो सुन्दर र आकर्षक अनि स्वास्थ्य शरीर साथै शक्तिशाली र पोषणयुक्त एवं उर्वरताले भरिएको यौवनलाई सम्पूर्ण रूपमा संतान उत्पादनकालागि खर्चिएको हुने रहेछ । त्यो मानव भ्रूण जसलाई ९/१० महिना गर्भमा बोक्दा चाहिने पोषणको आपूर्ति त्यही सुन्दर र स्वास्थ्य शारीरिक स्रोत बाट खपत गरिरहेकी हुन्छिन् । जन्म पश्चात् त्यस शिशुलाई प्यास र भोककालागि स्तनपान गराईरहेकी हुन्छिन् जो त्यही शरीर भित्रको पोषण हो, सुन्दरताको धारा हो ।
एक नारीले आफ्नो यौवनले भरिएको सुन्दरता साथै स्वस्थ शरीरमा रहेको पोषणको त्याग नगरी कुनै शिशुको उत्पादन र विकास सामान्य रूपमा असम्भव हुन्छ । त्यो महिलालाई पितृसतात्मक समाजले पुरूषको मनोरञ्जन र संतुष्टीका साधनको रूपमा लिन्छ । तर अब दृष्टिकोण बदलिन जरुरी छ कि ती स्त्री सँगको सम्बन्ध तिनको पुरूष सँग भन्दा बढी संतान सँग रहेको हुन्छ भनेर । उनैको यौवन, स्वास्थ्य, र पोषणको त्याग र योगदानले सँतानको जन्म, विकास र वृद्धि भएको हुन्छ ।
एक आमा भएकी नारीको सुन्दरता बिगारिदिने, आमाको जवानी चुस्ने, आमाको यौवन ढाल्ने, आमाको शरीर बाट स्वास्थ्य खोस्ने त्यो पति पुरूष नभई उनिले जन्माएकी सन्तान मुख्य भागिदार हो । हरेक सन्तानले यसको जिम्मेवारी लिनु पर्दछ र बुझ्नु पर्दछ कि त्यही स्त्री आमाको त्यागका कारण हो संतानको अस्तित्व र वर्तमान । यतिमा आमाको बखान सकिँदैन...
आमा
मेरी अमा पनि सुन्दर थिईन्
स्वास्थ्यमा गुणस्तर थियो ।
जब म गर्भमा प्रवेश गरेँ
आमाको रूप बदलिन थाल्यो
स्वस्थ्यमा समस्या बढन थाल्यो ।
त्यो भन्दा पहिले मेरी आमा पनि
लेकमा फुल्दै गरेकी लालिगुराँस झै थिईन् ।
सबैथोक सहने क्षमता भएकी
उनीलाई झर्को लाग्न थाल्छ ।
सिकार सँग एक्लै लडने उनीलाई
सहयोग, सहारा, समर्थनको खाँचो हुन्छ ।
अन्न पानी बिर्सिएर काममा दौडिरहने
उनलाई भोक तिर्खा पनि लाग्न थाल्छ ।
आमाको त्यो शरीर भित्र
जब अर्को मान्छे बढन थाल्छ ।
पहिले मेरी आमा पनि शक्तिशाली थिईन् ।
जंगलको यौवन कालकी बघीनी झै थिईन् ।
मेरी आमा पनि जवान थिईन्
मनोविज्ञान पनि सशक्त थियो ।
जब मलाई जन्म दिईन्
उनको शरीर पनि बदलियो ।
शारीरिक क्षमता पनि बदलियो ।
स्तनपानले उनको आकर्षण गयो
निन्द्रा अपुगले शरीर कमजोर भयो ।
त्यो भन्दा पहिले मेरी आमा पनि
लेक बेसी बेग मार्ने सुन्दर डाँफे झैँ थिईन् ।
मेरी अमा पनि सुन्दर थिईन्
स्वास्थ्यमा गुणस्तर थियो ।
जब म गर्भमा प्रवेश गरेँ
जब मलाई जन्म दिईन्
आमाको रूप बदलिन थाल्यो
स्वस्थ्यमा समस्या बढन थाल्यो ।
त्यो भन्दा पहिले मेरी आमा पनि
लेकमा फुल्दै गरेकी लालिगुराँस झै थिईन् ।
जंगलको यौवन कालकी बघीनी झै थिईन् ।
लेक बेसी बेग मार्ने सुन्दर डाँफे झैँ थिईन् ।
(२०८१/०३/२८/शुक्रबार/मैतिदवी)

No comments:
Post a Comment