सभ्यता राज्यको पहिचान हो
आधुनिक नेपालको राजनीतिक सिमाना भित्र विकास भएका ऐतिहासिक सभ्यताको जगमा बनाईएको हो वर्तमान नेपाल । त्यस्ता सभ्यताहरूको विकास विश्वसमाजमा आफ्नै ढङ्गले गरिएको पाईन्छ जसको विशेष महत्व छ । सोही अनुसार नेपालमा पनि विषयविज्ञहरू द्वारा त्यस्ता सभ्यताको पहिचान गरिएको छ मुख्य गरेर जस्तै किराँत सभ्यता, नेवा सभ्यता, सिन्जा सभ्यता, लुम्बिनी सभ्यता र मिथिला सभ्यता मानिएको देखिन्छ । वर्तमानमा विश्वसमाजमा जसरी सभ्यता र महासभ्यताहरू बहसको केन्द्र बनेको छ त्यसरी नै नेपालमा पनि सभ्यता र इतिहास बहसको केन्द्र बनिरहेको छ । यसको वैज्ञानिक र दार्शनिक कारण भनेको मानव अन्य प्राणीहरू भन्दा फरक त्यही सभ्यता र सँस्कृतिले हो भनेर मानिन्छ र त्यही नै मानवको जीवनको आधार हो भनिन्छ । त्यसै कारण अबका दिनहरूमा सामाजिक विज्ञानको बलमा सभ्यता र इतिहासको बहसमा वैज्ञानिकता र अझ व्यपकता बढेर जानेछ ।
विश्व समाजमा त्यही सभ्यताको जगमा बनेको राज्यहरूले आफ्नो सभ्यता प्रति गर्व गर्छन् साथै खोज, अध्ययन, अनुसन्धान गर्दै त्यसको संरक्षण र संवर्धनमा लागि पर्दछन् । तर नेपाल मात्र यस्तो राज्य हो जसलाई आफ्नो सभ्यता प्रति कुनै गर्व र सम्मान देखिदैन । जब त्यहाँका नागरिकले आफ्नो इतिहास र सभ्यताको विषय उठाउदछ तब यो राज्यले बौद्धिकता र वैज्ञानिकता गुमाएको देखिन्छ । विश्व समाजमा नेपाल मात्र यस्तो राज्य हो जसले इतिहास र सभ्यतालाई ढाकछोप र तोडमोडमा अग्रसरता देखिन्छ । सभ्यताको जगमा निर्माण भएको वर्तमान नेपालले जब सम्म आफ्नो इतिहास र सभ्यता प्रति गर्व र सम्मान गर्न अग्रसरता देखाउदैन तब सम्म यो राज्यलाई संविधानले सार्वभौमसत्तासम्पन्न माने पनि त्यसमा व्यवहारिकता देखिदैन ।
इतिहास र सभ्यताहरूलाई जातिवादी देख्नु भनेको त्यो चरित्र र प्रवृत्ति नश्लिय, जातिवादी र धार्मिक अतिवादको होईन भन्न सकिन्न । यदि कुनै व्यक्ति, समुह, संस्था वा राज्य जसले त्यस राष्ट्रको सभ्यतालाई जातिवादी देख्दछ त्यो चेतना र प्रवृत्ति भएका मानव नागरिक भएपनि अनागरिक हो, जसलाई राष्ट्र प्रतिको प्रेम, बफादारिता नरहेको मान्न सकिन्छ । जो विविधता बीचको एकता र सद्भाव विपरीत एकता र सद्भाव भड्काउनेमा पर्दछ भनेर भन्न कञ्जुस्याँई गर्न हुन्न । त्यस्तो राज्य नश्लिय, जातिय र धार्मिक अतिवादको कब्जामा रहेको मान्न सकिन्छ । आधुनिक तथा वर्तमान नेपाल त्यसैको स्पष्ट नमुना हो ।
इतिहास र सभ्यतामा तथ्य र प्रमाणको आधार भएकाले सामाजिक विज्ञानको अध्ययनको क्षेत्र मानिएको हो । इतिहास र सभ्यतालाई काल्पनिक साहित्य निर्माण गरेर त्यसमाथि छेडखानी, तोडमोड गर्दै निच ढङ्गले शोषण र विभेद गरिएको स्पष्ट देख्न सकिन्छ । वर्तमान नेपालको विकासको जग मानिएका इतिहास र मानव सभ्यता माथि वर्तमान नेपाल तथा राज्यले गर्दै गरेको व्यवहारमा बौद्धिकता र वैज्ञानिकता गुमेको जस्तो प्रमाणित हुन्छ । वर्तमान राज्य र संविधानलाई नश्लिय, जातिय र धार्मिक अतिवादले पूर्णरूपमा कब्जामा राखिएको भनेर बुझ्न सकिन्छ ।
सभ्यता भनेको राज्य तथा त्यस राज्यका नागरिकहरूको पहिचान हो, इतिहास हो, मानवशास्त्र हो, समाजशास्त्र हो, भूगोलशास्त्र हो, राजनीतिशास्त्र हो, अर्थशास्त्र हो, कला-साहित्य ले भरिएको मानविकी हो, सामाजिक विज्ञान हो । मानव समाजको आवश्यकताले उत्पादन गरेको प्रविधि र ज्ञान हो साथै दर्शन हो । नेपालका सभ्यताको महत्व बुझ्न बुझाउन दिनरात नभनी लागिपरेका महान चेतना र शरीरहरूलाई सम्मान गर्दछौँ । किराँत सभ्यताको पुनः जागरणकालागि लागिपरेका सबै सबै प्रति उच्च सम्मान व्यक्त गर्दै 'किराँत स्वायत्तता जनअभियान'को यो दोस्रो वार्षिक उत्सवको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

No comments:
Post a Comment