गरिब र गरिबी, मानवको भाग्य, गर्भ र धर्मका कारणले हो र?
गरिबीलाई राजनीति बनाउनेहरू, मन्त्री,PM भईसके
गरिबीलाई व्यापार बनाउने व्यक्तिहरू, सम्पन्न भईसके
गरिबीको नाटक देखाउने गायक कलाकार, धनी हुदैछन्
गरिबहरूलाई शिक्षा स्वास्थ प्रदान गर्ने, सुगर फ्रि भईसके
गरिब र गरिबीको एम्बेस्डरहरू, दिनै धनधान्य भईसके
गरिबीको शत्रु पुँजीवाद भन्दै, आफै पुँजीपति बन्दैछन्
समाजलाई गरिबीकरण गर्दै, त्यसैमा आफु दानी हुदैछन्
गरिबीलाई समस्यिकरण गर्दै, उदार प्रजातान्त्रिक बन्दैछन्
गरिबीको अवस्था अझ खच्कंदो छ, झन गरिबी बढदैछन्
गरिब एवं गरिबी कुनै धर्म, गर्भ र भाग्यले निर्धारण गर्ने नभई समाजमा केही शक्तिशाली तर अल्पमतमा रहेका कुनै निश्चित व्यक्ति, समूह, वर्ग र राष्ट्रले योजनाबद्ध ढङ्गले बनाईरहेको हुन्छ। समाजले जब सम्म ऐ कुरा बुझ्दैन र बुझाउन सकिँदैन तब सम्म यो गरिबीको खेल खेलेर धेरै गरिब व्यक्ति गरिबी मुक्त भईसके, हुदैछन् र हुनेछन् अझै। पार्टी, आदर्श, सिद्धान्त, जात, जाति, भाषा, धर्म, लिङ्ग, पाछा, गोत्र, भूगोल, चुच्चे, थेप्चो, कैलो, कालो, होचो, अग्लो, समावेशीता, अधिकार लागयत यस्तै यस्तै विभिन्न नारा बनाईरहेका छन्। यसैको नाममा शक्तिशाली अफिमका रूपमा प्रयोग गर्दै वा कानेखुसी गरेर ती कानेखुसी गर्ने वा सडक संघर्षको नेतृत्व गर्ने वा सहानुभूतिपूर्ण व्यवहार गर्ने व्यक्ति, संस्था वा राष्ट्र निकै सम्पन्न भईसके। हाम्रो जस्तो विविधतामा एकता हुन नसकेको मुलुकमा तपाँई हामी मानवलाई राजनीति,जात, जाति, भाषा, धर्म, लिङ्गको अफिम सुघाएर नागरिकको चेतनालाई चेतको चेतनामा आउन नदिनेहरू व्यापक छन्। हामी जनता आफु समतामुलक हुन र कल्याणकारी अधिकार सम्पन्न हुन प्रजातान्त्रिक पद्धतिमा सहभागी बनेका हौं, नकि कसैलाई धनी बनाउन। जसरी हामीले कसैलाई धनी बनाउदैछौं प्रत्यक्ष परोक्ष त्यसरी नै हामीलाई कसैले नियत सहित योजनाबद्ध ढङ्गले गरिबीमा धकेल्दैछन्। त्यसको पहिलो दोष र जवाफदेहिता राज्यको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा बस्नेहरूले लिनु पर्दछ जस्ले सर्वसाधारणमाथिको कर्तव्य, दायित्व, नैतिकता र ईमानदारीता गुमाएर अन्तर्घात गर्यो र गर्दैछन्।
माक्सवाद अनुशार पुँजीवादी उत्पादनका स्वरूप भएको समाजमा शासक वर्गले उत्पादन, वितरण र विनिमयका साधनहरूको नियन्त्रण मात्र गर्दैनन् कि, राजनीतिक शक्तिका संस्थाहरूलाई हस्तक्षेप र नियन्त्रण समेत गर्छन्। अर्थात उत्पादनका साधनहरूमा समान पहुच नहुनुले वा असमानताले सृजना गर्ने वा गराईने पहिलो समस्याको विषय नै गरिबी हो। जो समाजमा समाजद्वारा नियोजित हुन्छ त्यसैले यसलाई भाग्यवाद संग नजोडी सामाजिक हो भन्नु गैरपतनवादी धारणा हो। यसरी नै विभिन्न समाजशास्त्री वैज्ञानिक र दार्शनिकहरूका अनुशार यस्ता विषयहरू सामाजिक हो र समाज द्वारा निर्मित हो भन्ने शास्त्रीय दृष्टिकोण सहित विभिन्न पुस्तकहरूमा प्रस्तुत गरेका छन्। युरोपका समाजशास्त्री Arturo Escobar द्वार सम्पन्न र शक्तिशाली राष्ट्रहरूले र वर्गहरूले गरिबीलाई कसरी अझ गरिबीकरण गर्दैछन् र समस्यिकरण गरिदैछ साथै यसैमाथि कस्ता खालका राजनीतिक गर्दैछन् भन्ने खुलेर वकालत गरेका छन्। सामान्य राज्यलाई कसरी कमजोर बनाईदैछ र अझ गरिबीमा धकेलिदैछ भन्ने सबाल तथ्य र कारण सहित "The making and unmaking of the third world through development"(1997)मा प्रस्तुत गरेका छन्।
गरिबी जसरी योजनाबद्ध निर्मीत विषय हो त्यसरी नै हाम्रो जन्म र जीवन पनि केही हदसम्म समाजद्वार निर्मित र निर्धारित हो। पिताको माध्यमबाट माताको गर्भमार्फत जन्मलिनु भग्यको खेल कसरी मान्नु! समाज र राज्यको लापरबाहीका कारण उपचार नपाएर वा दुर्घटना बाट ज्यान गएको विषय कसरी भाग्यको प्रसंग मान्नु! नदेखिएको भाग्यको भर कति पर्ने र त्रसित बनाई रहने नियम र धार्मिक संस्थाको भर किन र कति गर्ने भन्ने निर्णयमा आफै पुग्न जरुरी छ। मानव र राज्यलाई मूर्ख र बेबकुफ बनाई रहने र बनेको हेर्न चाहना राख्छन् केही निश्चित लक्ष्य प्राप्त गर्ने परराष्ट्र, व्यक्ति वा वर्ग।
त्यसैले आफ्नो दैनिक जीवनलाई व्यवहारिक र वैज्ञानिक सोचको बनाअौं। भाग्यवाद र बहुदेवतावाद प्रतिको विश्वासले अाज हामी र हाम्रो समाज विश्व परिवेशमा कुन स्थानमा छौं! र किन र कुन कारणले हो भनेर अझै नसोच्नु, नखोज्नु पनि गौहत्या भन्दा ठूलो पाप हो। किनकि त्यही कथित धार्मिक र परंरागत सोच बोकेको संस्कारले हरेक पल मानवको हत्या भईरहेको हुन्छ जो एक गौप्राणी भन्दा कयौं गुना ठूलो अपराध मान्नु पर्दछ।
आज हामी जे छौं र जे हौं त्यो भाग्य, गर्भ र धर्मको कारणले नभई समस्याको जड पत्ता लगाउन नसक्ने हाम्रो अवैज्ञानिक, असामाजिक सोच र संस्कार जस्तो सामाजिक र केहीको नियोजित कारणले हो। नत्र तेत्तीस कोटि देवताले बास गरेको नेपाल आज किन अन्तीम पहिलो सूचिमा छौं?
No comments:
Post a Comment