प्रविधि सम्पन्न मुलुकमा कपासको धागो, कपडा लगायत उत्पादन गरिन्छ तर नेपाली समाजले त्यसलाई खरानी बनाएर विगुत बनाउछौं र पवित्रताकालागि निधार, घाँटी साथै शरीरमा लगाएर सांकेतिक अन्तरक्रिया गर्दछौं । नेपाली समाजले विश्वसमाज साथै विश्वबजारकालागि आफुलाई तैयारी गर्न समाजलाई वैज्ञानिक र व्यवहारिक बनाउन जरुरी छ ।
धर्म, देवताको नाममा प्रथा र चलनमा जे जलाईदै आईएको छ वा जे चढाईदै आईएको छ त्यो अब जलाउने कि नजलाउने, चढाउने कि नचढाउने भन्ने विषयमा सम्बन्धित संस्था, समुहमा व्यापक रूपमा बौद्धिक छलफल चलाएर निष्कर्षमा पुर्याउनु पर्दछ । आफुलाई विश्वसमाजको प्रतिस्पर्धामा उत्तम साबित गर्न वर्तमानमा प्रचलनमा ल्याईएका मूल्यमान्यता र अभ्यासमा पुनःविचार गर्दै संस्कृतिको पुनःनिर्माणको विकल्प छैन । हैन नेपाली समाज नैपालमै रमाउने हो भन्ने लाग्छ र हामीलाई विश्वसमाज र बजार संग कुनै लेनदेन वा चासो छैन भनेर मान्ने हो भने हिजो देखि चलिआएको नेपाल आज जसरी चल्दैछ त्यसरी भोलि पनि चल्नेछ नआत्तिदा पनि हुन्छ ।
धर्मको नाममा, पितृकार्यको नाममा, कुलपुजाको नाममा कपास, चामल, घ्यू, तेल, तील, जौ लगायत जलाउनु, दूध चढाउने प्रचलन साथै विभिन्न जीव, पशुपंक्षीको बलि दिने बलि प्रथा लगायत संस्कार, परंपराको नाममा गरिदै आएको अभ्यास, चलन गलत हो मानिदैन । तर आफुलाई विश्वसमाजको नागरिकको रूपमा स्विकार्दै गर्दा आफैले आफुलाई के जवाफ दिने ! नेपाली समाजको आफ्नो परिचय गर्वका साथ विश्वसामु प्रदर्शन गर्न मर्म र भावनामा कुनै खालको परिवर्तन नल्याई धार्मिक, सामाजिक, साँस्कृतिक पुनःनिर्माण गर्दै रूपान्तरण साथै परिवर्तन गर्ने तर्फ अभ्यास गर्न जरुरी ठान्नु पर्दछ ।
धर्म, देवता वा कुलपितृको पवित्र कार्यमा सेवा वा भक्तिको क्रममा दूध चढाउने, पशुपक्षींको हत्या गरि रगत मासु चढाउने बलि प्रथा, घ्यू अन्न अग्निमा होम गर्ने लगायतका अभ्यास गर्ने देश र समाजहरूमा पहिलो दोस्रो भित्रनै परिन्छ । यस्ता प्रचलन र प्रथा चलाउने लामो अभ्यास मध्ये पनि नेपाली समाज एक पर्दछ । यस्ता पर्चलनले देश शक्तिशाली बन्ने, व्यापार घाटा नाफामा लाने, लगायत विकास तथा समृद्धि प्राप्त हुनेभए हाम्रो देश र समाजको सभ्यता संग कसैको प्रतिस्पर्धा गर्न सक्ने क्षमता हुदैन थियो । तर यस्तो अभ्यासले त्यस्तो नतिजा दिन सकेको देखिदैन । समाजले मानिआएको प्रथा चलन कहिले गलत हुदैन साथै सहि गलत भन्न खोजेको हैन । तर सामाजिक सभ्यता र संस्कृतिलाई वैज्ञानिक, व्यवहारिक र परिणाममुखी बनाउने दायित्वबाट कोही पनि पन्छिन मिल्दैन । र त्यो छुट कसैलाइ पनि हुदैन ।
नेपाली समाजभित्र प्रचलनमा रहेका त्यस्ता कुनै प्रकारका अन्धविश्वास, रूढिवादी, अतिवादी अभ्यास र आस्था जुन विषयले समाज र राज्यको विकास र समृद्धिको बाधक बनेको जस्तो लाग्छ त्यसलाई हामीद्वारा नै पुनःआकार, पुनःनिर्माण वा पुनःअभ्यासमा लान सक्नु पर्दछ । भावना, आवेग, लोभ र क्रोधले चलाईएको देश र समाजले व्यहोर्ने परिणामको राम्रो उदाहरण वर्तमान नेपाल हो । भावी नेपाल र भावी पुस्ताको भविष्य कस्तो तय गर्ने प्रमुख जिम्मेवारी वर्तमान पुस्ताको हो । यसकालागि अबको बौद्धिक छलफल, निष्कर्ष, निर्णय र अभ्यास कस्तो रहने भन्नेले तय गर्ने छ । नेपाल हामीले यस्तो बनाएको हो र अब कस्तो बनाउने त्यसको जवाफदेहिता हामीले लिन सक्नु पर्दछ ।
No comments:
Post a Comment