नियमिततामा चलेको सरल नेपाली समाज एक्कासि विश्वव्यापिकरणको अवधारणा अनुरूप विश्वसमाजिक संस्कृति र मूल्यमान्यतामा प्रवेश गर्दैगरेको वर्तमान स्थितिले समाजका आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, वातावरण, पारिवारिक साथै स्वास्थ लगायत सुक्ष्म र बृहत् बहुपक्ष क्षेत्रमा संक्रमणकाल चलिरहेको अनुभव गर्न सकिन्छ । विश्वबजार र विश्वसमाज नेपाली समाजको लागि अवसर हुनुपर्ने तर जुन वर्तमान अवस्था एवं परिस्थिति बाट गुज्रिरहेको छ त्यसको परिणामलाई अध्ययन गर्दा चुनौतीपूर्ण रहेको पाउन सकिन्छ । तर यसो भन्दै गर्दा केही स्वार्थ व्यक्ति (Agent) तथा समान स्वार्थ समुहले निजी लाभ लिदैगरेको कुरा नकार्न सकिन्न जुन क्रियाकलापले नेपाली समाजको साझा लक्ष्य प्राप्तिमा अझ संकट थपिरहेको निश्चित छ ।
विश्वव्यापीकरणको गहिरो प्रभाव नेपाली समाज, संस्कृति र मूल्यमान्यतामा परेको स्पष्ट देख्न सकिन्छ । विश्वपुँजीवादको उपभोक्तावादी संस्कृति तथा मानवलाई मजदुरीकरण साथै शक्ति राज्यहरूको साम्राजयवादको प्रयोगशाला नेपाल र नेपाली समाज हैन भन्ने कुनै आधार छैन । विश्वसमाजको सामाजिक प्रभाव नेपाली समाजको प्रत्येक कर्ता देखि संरचना सम्म सबै पक्षमा परेको छ जसमा कुनै गुणस्तर विकास र रूपान्तरण भन्दा पनि ठिक विपरीत रहेको देखिन्छ । नेपाली समाजमा लिङ्ग, जात, जाति, भाषा, संस्कृति, रंग र भूगोल लगायत विविधता बीचको असमानता र जटिलता छदै छ त्यसमाथि वर्गीय विभेदको अर्को संकटकालीन खाल्डो पनि बढदैछ । नेपालभरिका निम्नवर्गीय गरिब तथा अपहेलित किसानहरूले सिंहदरबार र सितलनिवास लाई पाले अनुसारको प्रतिफल नपाउनुले आम करदाता नागरिकहरूले कठिन संकट भोगिरहेको ले पनि केही संकेत गरिरहेको छ । युवाहरूमा विश्व संरचनाले उच्च आकांक्षि बनाईदिएको छ एकापटि भने अर्को पटी त्यस युवा जनशक्तीको प्रयोग गर्न सकेको देखिदैन राज्यले । नेपाली समाज दिप्रतिदिन समस्याको दलदलमा फँसेको स्पष्ट महसुस गर्न सकिन्छ ।
अर्थप्रधान र उपभोक्तावादी संस्कृतिको गहिरो प्रभाब बढ्दो छ । आवश्यक्ता र सपना त्यो सरल सामाजमा झै सिमित छैन । प्रविधिमैत्री र आधुनिकता प्रदर्शन गर्न महङ्गो रकम चुकाउनु पर्ने, आधुनिक शिक्षा स्वास्थ धान्न आम्दानी बढी हुनुपर्ने त्यस्तो रोजगारको अवसर नेपाल सरकारले उपलब्ध गराउन नसक्नु । व्यप्त बेरोजगारको समस्याका कारणले कामको खोजीमा आंसिक बसाईसरामा विदेशीएका युवाहरू गएको देश पनि नेपाली समाजमा वर्ग निर्धारणको कारक बनिरहेको देखिन्छ । युरोप, अमेरिका तथा शक्तिशाली राज्यमा जाने एक वर्गको प्रतिनिधित्व गर्दछन् भने खाँडी मुलुक जानेले अर्को वर्गको प्रतिनिधित्व गर्ने रहेछ भन्ने खालको मूल्यमान्यताको विकास नभएको होईन मान्न सकिन्न । अन्तर्राष्ट्रिय बसाइँसराइले एकातर्फ गुणस्तर मानवसाधन पलायन हुदैछ भने अर्को तर्फ परंरागत संयुक्त परिवारको अवधारणा पूर्ण रूपमा ढल्ने अवस्थामा छ । जसका कारणले सरल समाजको सुन्दरता मानिने संयुक्त पारिवारमा आज आफ्नो जन्मदिने अामा बुबा संगको एकै घरको बसाई पनि नसिब नभएको अवस्था बढदो छ ।
पुँजीवादको सिकार बनेको उदारवादी सरकारको शिक्षा र स्वास्थमा निजीकरणको नीतिमा नाफामुखी व्यक्ति/संस्थाहरूको चंगोलमा परेको समाजमा निजी अंग्रेजी विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउनु र निजी अस्पतालमा उपचार गराउनुले पनि वर्गीय पहिचान दिन्छ भन्ने मान्यताको विकास हुनु । राज्यले उपलब्ध गराउने शिक्षा र स्वास्थ्य जस्तो खर्चिलो पक्षमा पनि आफुले खाईनखाई आफ्ना संतान र परिवारको खर्च बेहोर्दा बेहोर्दै आफु मानव हुनुको सुन्दर पक्ष बिर्सनु । उच्च वर्गीय संस्कृति अवलम्बन गर्दा निम्नवर्गीय जहाँको त्यही । सरल समाजबाट उत्तरआधुनिक समाजमा प्रवेश संगै संस्कृति एवं मूल्यमान्यतामा आएको परिवर्तनले मानव जीवनमा ल्याएको जिटिलताले व्यक्ति तथा सामाजिक संकट अझ बढदो छ । शिक्षा र स्वास्थमा राज्यले कल्याणकारी नीति योजना र कार्यान्वयन गर्न सके त्यसमा हुने गरेको खर्च उत्पादन मुखी क्षेत्रमा लगानी गर्ने अवसर सृजना हुन सक्थ्यो ।
नेपाली समाजले भोगिरहेको पिडाहरू जस्तै हात्या, हिंसा, चोरी, दुर्घटना, भ्रष्टाचार, बसाईसराई, पारपाचुके, वातावरण प्रदुषण, वातावरण परिवर्तन, विदेश पलायन, अकाल मृत्यु, पारिवारिक बेमेल, सामाजिक बेमेल, गरिबी, नैतिकताहिन शिक्षा, खर्चालु उपचार, राजनीतिक अस्थिरता लगायत व्यक्तिगत साथै सामाजिक चुनौतीहरूको मुख्यकारक प्रविधि, विश्वसमाज, विश्वपुँजीवाद, साम्राजयवाद, विश्वव्यवस्था, आधुनिकिकरण, उदारवाद, परनिर्भरता लगायत हैन भन्न सकिन्न । यिनै विषय संग नेपाली समाज अछुतो रहन नसक्नुले संस्कृतिमा आएको एक्कासि परिवर्तन साथै सरल समाजिक मान्यता र उत्तरआधुनिक पुस्ता बीचको पुस्तान्तरणलाई नजरअन्दाज गर्न मिल्दैन ।
विश्वसमाजको सामाजिक व्यवस्था भित्रको आबद्धताले सरल नेपाली समाजको खानपिनको संस्कृति, विचारको संस्कृति, परंपरागत दैनिक जीवनशैली, परंरागत पेशाको प्रथा, आम्दानी एवं रोजगारको परंरागत संस्कृतिमा आएको परिवर्तन र रूपान्तरणको संक्रमणका कारणले व्यप्त पारिवारिक र सामाजिक विपत्ति भोगिरहेको छ नेपाली समाजले । अर्थात आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, वातावरणीय, साथै व्यक्ति तथा सामाजिक संरचनाको संस्कृतिमा आउदै गरेको रूपान्तरणको संवेदनशील समयमा नेपाली समाजमा व्यप्त संकटकालका लक्षणहरू देखिएको अस्विकार गर्न मिल्दैन । वर्तमान परिस्थिति र परिणाम जो नेपाली समाजले भोगिरहेको वा व्यहोरीरहेको छ त्यसलाई सूक्ष्म र बृहत् अध्ययन गर्दा नेपाल संस्कृतिको संक्रमणकाल बाट गुज्रिरहेको विषयको वास्तविक अध्ययन गर्नु पर्दछ ।
एकातर्फ यस विशेष कालखण्डलाई गहिरो अध्ययन गरि राज्यले नीति योजना तथा कार्यक्रम ल्याएर कार्यान्वयन पक्षमा लागेर नेपाली समाजले खेपिरहेको सर्वपक्षीय नोक्सानीलाई न्यूनिकरण गर्ने प्रयास गर्नु पर्दछ । अर्कोतर्फ नेपाली समाजका लागि यो संस्कृति संक्रमणकाल विषेश काल पनि हो जो गलत संस्कृतिको विनिर्माण गरि सुन्दर मूल्यमान्यता र मानवतावादी संस्कृतिको पुनःनिर्माण गर्ने अवसरको रूपमा लिएर गुणस्तर समाज निर्माण तर्फ लाग्नु पर्दछ ।
No comments:
Post a Comment