नेपाली समाजको वर्गीय संघर्ष र रोल्पा
सामाजिक विज्ञान अन्तर्गत रहेर विश्वसमाजको विकास तथा परिवर्तनको ऐतिहासिक सन्दर्भको अध्ययन गर्दा कार्ल मार्क्सले भन्नू भए जस्तो "हरेक इतिहास वर्ग संघर्षको इतिहास हो" भन्ने कथनले समाजको रूपान्तरणको अन्तरक्रिया स्पष्ट पार्दछ । फ्रान्सको रक्तिम क्रान्ति, रुसी क्रान्ति, चिनको साँस्कृतिक क्रान्ति लगायत वर्गीय संघर्षले विश्वसमाजको युग वा सामाजिक संरचनामा उत्पादनको स्वरूप नै परिवर्तन गरेको सर्वविधित नै छ ।
त्यसरी नै नेपाली समाजको ऐतिहासिक सन्दर्भ अध्ययनको क्रममा राणाकालीन व्यवस्था र त्यस व्यवस्थालाई टिकाउन शक्तिको अभ्यास गर्न तत्कालीन प्रधानमन्त्री जंग बहादुर राणाले जारी गरेको सन् १९१० को मुलुकी ऐनले संस्थागत गरेको सामाजिक विभेद, असमानता र अन्यायको अध्ययन बिना नेपालको सामाजिक विज्ञान अधुरो छ । सामाजिक न्याय, सामाजिक सुरक्षामा भन्दा पनि सत्ता, शक्ति र निजी विलासिता साथै आफू शासक बनेर नागरिकलाई रैती बनाई आफू शासक मै रमाउन चाहने त्यस राणा शासनका विरूद्ध समाजले गरेको वि.सं. २००७ सालको विद्रोह पनि वर्गीय संघर्ष नै थियो ।
राणाशासनको अनत्य संगसंगै सामन्तवादी समाज पनि कमजोर हुँदै गएको मान्न सकिन्छ । नेपाली समाज स्वतन्त्र पूँजीवादी समाजिक संरचनामा प्रवेश पनि गर्यो त्यसै क्रममा समाजमा सामाजिक सुरक्षा, सामाजिक न्याय, स्वायत्तता, प्रजातन्त्र तथा आर्थिक वृद्धिको जुन अपेक्षा गरिएको थियो त्यो पूरा गर्न सकेन पञ्चायती व्यवस्थाले । तत्कालीन पञ्चायती व्यवस्थाले विश्वव्यापीकरणको प्रभावका कारण विश्व पूँजीवाद संगै आर्थिक वृद्धि गर्न विभिन्न कलकारखानाको स्थापना तथा संचालन पनि गरियो । तर राज्य व्यवस्थाका व्यवस्थापकको उद्धारवादी सोच र अभ्यासमा रहेको संकिर्णताका कारण त्यो व्यवस्थाले अपनाएको नीति, नियम र कानुन विरूद्ध विभिन्न राजनीतिक दलका नाममा समाजले प्रजातान्त्रिक आन्दोलन गरे जसलाई जनआन्दोलन भाग एक भनियो ।
प्रजातन्त्र प्राप्ति पश्चात् राजनीतिक आदर्शका आधारमा बहुदलवाद बाट पनि सामाजिक विकास र परिवर्तन गर्न सकिन्छ भन्ने पक्षधर राज्यसत्ताको केन्द्रीय राजनीतिमा प्रवेश गर्यो । सामाजिक, भौगोलिक विविधता तथा जटिलताका कारणले सृजना गरेको अन्याय, असमानताको सम्बोधन गर्न नसक्ने अवस्था स्पष्ट थियो । त्यसैले अर्को तर्फ समाजिक असमानता, विभेद, गरिबी, असुरक्षा लाई परास्त गरि न्याय प्राप्ति र वितरणकालागि संक्रमित पूँजीवादी सामन्तवाद विरूद्ध वि.सं. २०५२ सालमा असन्तुष्ट समुह द्वार छुट्टै वर्गीय विद्रोहको घोषणा गरियो ।
राज्यसत्ताले वर्षौ वर्ष देखि आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, भौगोलिक लगायत आधारमा असमान व्यवहार गरिएको, पछाडि पारिएको समाज बाट क्रान्ति सुरू गरियो । त्यही क्रान्ति वर्गीय संघर्षको नाममा त्यस समुहले 'जनयुद्ध' भनेर घोषणा गरे भने राज्य तथा समाजले सशस्त्र संघर्ष नाम दिए । अर्को त्यही वर्गीय संघर्षको इतिहासको सुरूवात गर्ने जिल्लाको नाम हो रोल्पा ।
वर्गीय संघर्षका नाममा सुरू गरिएको जनयुद्ध अर्थात शस्त्र संघर्षको मर्म र भावना भनेकै नेपालमा रहेका निम्नवर्गीय साना किसान जो अभाव, गरिबी, विपन्नता र असमानताको चपेटामा पारिएको थियो तिनको उत्थान र न्यायका लागि थियो । त्यो १० वर्षको शस्त्र संघर्षमा राज्य पक्ष र विद्रोही पक्ष गरेर हजारौं नेपाली नागरिक घरबार बिहिन हुन पुगे, बेपत्ता भए, अंगभंग भए भने त्यसै क्रममा हजारौंले ज्यान गुमाउन पुगेका थियो । युद्धको कारणले धन जनको क्षति र नोक्सानी महसुस गर्दै दुवै पक्षले युद्धविराम गरि बिस्तृत शान्ति सम्झौता गर्ने पक्षमा पुगे । दश वर्षभन्दा लामो नेपाली गृहयुद्लाई अन्त्य गरेको घोषणा गर्दै नेपाल सरकार र विद्रोही पक्ष (नेकपा माओवादी) ले वि.सं. २०६३ मंसिर ५ गते बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे ।
०६२/०६३ को जनआन्दोलन भाग दुईका नाममा आम बहुल नेपाली नागरिकले सडक संघर्ष छेडे । त्यस जनआन्दोलनको परिणाम स्वरूप नेपालमा 'नेपालको अन्तरिम संविधान २०६३' जारी गरियो । संविधान निर्माणकालागि संविधान सभाको निर्वाचन दुई पटक भयो वि.सं. २०६४ र २०७० सालमा । बहुमत संविधान सभाका सदस्यहरूको हस्ताक्षर प्रक्रिया बाट वि. सं. २०७२ असोज ३ गते 'नेपालको संविधान २०७२' जारी गरियो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौँ संविधान हो । यस संविधानमा गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता जस्ता विषय मुद्दा स्थापित गरियो ।
नेपालमा नयाँ संविधान जारी गरियो । यतिका घटनाक्रम बाट अगाडि बढेको प्राकृति सम्पदाले भरिएको हरेक पक्ष र क्षेत्रमा उच्च सम्भावना बोकेको नेपाल र नेपालका रोल्पा जस्तो वर्गीय संघर्षको इतिहास बोकेको ऐतिहासिक सन्दर्भ जोडिएको जिल्ला र त्यहाँका आम नागरिकको जीवनस्तर आज पनि त्यस वर्गीय संघर्षको मर्म र भावनाले बोकेको गुणस्तरमा पुर्याउन नसके पनि आज पनि त्यसको सपना साकार पार्न त्यहाँका सरकार तथा हरेक नागरिक सम्भावनाको खोजीमा सकारात्मक ढङ्गले अगाडि बढिरहेको छ । भौगोलिक प्राकृति सम्पदामा उच्चतम सम्भावनाको खोजी गर्दै विश्वव्यापिकरण, विश्व बजारको अध्ययन गर्दै गर्दा रोल्पा जिल्लाको सामुदायिक र व्यक्तिगत जीवनस्तर उकास्न तथा आर्थिक वृद्धिदर बढाउन चौतर्फी पक्ष र दृष्टिकोण बाट अध्ययन, योजना र कार्यान्वयन तर्फ दृढताका साथ लाग्नु पर्दछ ।
विश्व बजारमा उच्चतम मूल्यमा बिक्ने तर विश्व बजारको माग अनुसारको आपूर्ति नभएकोले रोल्पा जस्तो उच्च सम्भावना बोकेको कृषिजन्य उपभोग्य वस्तुको उत्पादन गर्न कृषि पाकेट क्षेत्र घोषणा गरि त्यहाँ उत्पादित गुणस्तर खाद्यान्नलाई बजारमा लगि त्यहाँका प्रतेक नागरिकको जीवनस्तर उकास्न सक्ने तथा प्रतिव्यक्ति आय बढाउन सक्ने उच्च सम्भावना रहेको छ । त्यही कृषिजन्य वस्तुको पहिचान गरि पाकेट क्षेत्र घोषणा पश्चात् त्यहाँ अर्गानिक कृषि रिसर्च सेन्टरको स्थापना गर्ने, कृषि पर्यटन क्षेत्र घोषणा गरि आन्तरिक र वाह्य पर्यटक भित्र्याउने जस्ता योजना बनाई त्यस क्षेत्रका अम नागरिकलाई लाभान्वित बनाउने मात्र नभई विश्वसमाजमा नेपाल तथा नेपाली कृषिजन्य खाद्यान्नले बोकेको गुणस्तरले परिचित गराउन सकिन्छ ।
भौगोलिक, वातावरणीय तथा प्राकृतिक स्रोतले सम्पन्न नेपालको रोल्पा जिल्ला जहाँ जुन कृषिजन्य वस्तुको गुणस्तर उत्पादनले त्यसैको नाम बाट जिल्ला उपनामले विश्व समाजमा चिनाउन सकिने साथै आम नागरिकको जीवनस्तरमा गुणस्तरको वृद्धि र नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिको महत्व र सम्भावना स्पष्ट पार्न सकिन्छ ।





























