Saturday, January 29, 2022

भौतिकवादको बुझाईले समाजलाई वैज्ञानिक र व्यवहारिक बनाउन सक्छ

 मानिसहरू राजनीतिमा सधैं छल-कपटको सिकार भईरहेको छ साथै तब सम्म रहन्छ, जब सम्म तिनिहरूले सबै नैतिक, धार्मिक, राजनीतिक एवं सामाजिक भनाइहरू, घोषणाहरू र प्रतिबद्धताको पछाडि कुनै न कुनै वर्गको हित हुने कुरा पत्ता लगाउन सक्दैनन् । 


सुधारवाद र उदारवादका समर्थकहरूले जब सम्म यो बुझ्दैन कि सबै पुराना संस्था, जतिसुकै बर्बरतापूर्ण र घिनलाग्दो किननहोस्, उनै शासक वर्गको बलबुतोमा उनैको हितकालागि चलिरहेको हुन्छ, तब सम्म पुरोनो व्यवस्थाकका संरक्षकले तिनलाई बेबकुफ बनाई रहन्छ । 


साथै यो वर्गको प्रतिरोधको चकनाचुर गर्न केवल एउटै तरिका छ र त्यो जुन समाजमा हामीहरू रहिरहेका छौं त्यसैमा त्यस शक्तिहरूको पत्तालगाउने र उनिहरूलाई संघर्षकालागि जागृत र संगठित गर्ने, जुन पुरातनलाई विनाश गरेर नयाँको सृजना गर्नमा समर्थन हुन्छन् साथै जस्ले आफ्नो सामाजिक स्थितिको कारण समर्थन हुनु पर्दछ ।-लेनिन


जब कार्ल मार्क्स र फेडरिक एङ्गेल्सको ऐतिहासिक द्वन्दात्मक भौतिकवाद र लेनिनको साम्राज्यवादलाई महामानव विश्वेश्वरप्रसादको दृष्टिकोणले अध्ययन गर्न सक्दछौं तब मात्र नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद बुझ्न सक्छौं । यी सामाजिक दार्शनिक वा वैज्ञानिकलाई शत्रु नभई ज्ञानको स्रोत र गुणस्तर चेतनाको विकासको माध्यम बनाउन सक्नु पर्दछ । आफुले आफुलाई भाग्यवाद र अन्धविश्वासबाट टाढा राख्नकालागि भौतिकवादको बुझाई अनिवार्य छ जसले समाजलाई वैज्ञानिक र व्यवहारिक बनाउन सक्छ । 


वि.पि, नेपाली काङ्ग्रेस र प्रजातान्त्रिक समाजवाद लाई बुझ्न वि.पि ले बुझेका विषय बुझ्न सक्नु पर्दछ ।


मानव चेतना र मुल्यांकन

 मानव चेतनामा कुन र कस्तो मूल्य-मान्यता भएको व्यवस्थाले घर गरेको छ त्यही अनुरूप व्यक्ति, वस्तु वा घटनालाई लिने वा मुल्यांकन गर्ने गर्दछन् । समाजमा जस्तो सामाजिक संरचनात्मक व्यवस्था छ मानवमा त्यही अनुरूपको मूल्य-मान्यता र चेतनाको स्थिति, अवस्था निर्धारण हुने हुन्छ ।व्यक्ति व्यक्तिको दैनिक जीवनमा अभ्यास भईरहेको मूल्यमान्यता अनुरूप संरचनात्मक मूल्यमान्यताको निर्माण हुन्छ भने त्यही संरचनात्मक व्यवस्थाले प्रत्ये व्यक्तिलाई निर्देशन र नियन्त्रण गर्दछ । व्यक्ति र संरचना बीचको द्वन्दात्मक र कारक-प्रभावको अन्तरक्रियाले सामाजिक सुव्यवस्था, परिवर्तन र रूपान्तरण भईरहेको हुन्छ । 



समाजशास्त्रीय सिद्धान्त अनुरूप, सामाजिक निर्माणको प्रक्रिया बाट मानवको चेतनाको स्थिति र अवस्था निर्माण वा निर्धारण हुन्छ ।



मानव चेतना र मार्क्स

मानिसको सोचको दायराले निर्धारण गरेको फराकिलोपना, चिन्तनको गुणस्तरले निर्धारण गरेको गहिराई नै त्यस व्यक्तिको चेतनाको अवस्था हो अनि त्यही नै संसार/जगत हो । 


अर्थात कुनै व्यक्तिको दैनिक जीवनको अभ्यास, मूल्यमान्यता, सोचको गुणस्तर नै उसको संसार हो । त्यो संसारको मालिक आफै हो । व्यक्तिको चेतना जुन गुणस्तरको हुन्छ उसको संसार त्यही, त्यस्तै र त्यत्रै हुन्छ । 


सामान्यतय व्यक्ति आफ्नो चेतनारूपि संसारको दृष्टिकोणले अरूको संसारको मूल्यांकन गर्ने साथै त्यस प्रतिको धारणा निर्माण गर्ने गर्दछन् भने कोही व्यक्ति हुन्छन् जसले अरूको संसारको अध्ययन गरेर आफ्नो संसारको दायरा निर्माण गर्ने हुन्छ । 


कसै अन्यको जीवन संसारको अध्ययन अनुसन्धान गर्नु छ भने उसैको मूल्यमान्यता, संस्कृति, अभ्यास र भोगाई बाट मिश्रित संसारलाई बुझ्न सक्नु पर्दछ । जसले दोहोरो सिकाईको अवसर पनि प्राप्त गर्न सकिन्छ । 


त्यसैले हुनसक्छ मार्क्सले मानव चेतना र त्यसलाई प्रयोग र अभ्यासमा ल्याउनसक्ने क्षमतालाई निकै महत्व दिईएको पाईन्छ ।

प्रतिक्रियावादी कला-साहित्य र गैरराजनीतिकरण

कला, साहित्य र सृजना समाजको सामाजिक स्थिति, अवस्था, कालखण्ड र परिस्थितिको सूचक हो । जसलाई सामाजिक जगतमा मानव चेतनाको गुणस्तर वृद्धिको भूमिका निर्वाह गर्ने शक्तिशाली साधनको रूपमा पनि लिन सकिन्छ ।  तर वर्तमान नेपाली समाजमा जे अभ्यास भईरहेको छ त्यसले कुन पक्षलाई फाईदा वा कुन पक्षको वेवास्ता र पक्षपोषण गरिरहेको छ भन्ने अध्ययन गर्न सक्नु पर्दछ । समाजका गम्भीर विषयवस्तुहरूलाई गैरराजनीतिकरण (Depoliticization) गर्ने र कुनै वर्गको पक्षपोषण गर्ने साधनको रूपमा प्रयोग गरिनु हुन्न । नेपाली समाजमा मात्र नभई विश्वसमाजमा नै प्रतिक्रियावादी (Reactionist) प्रवृत्तिले कला, सृजना, साहित्य, अभिव्यक्तिमा पनि वर्गीय पक्षपोषण,  प्रतिक्रिया र अन्तरक्रिया गरिरहेको पाउन सकिन्छ । 

समाजिक संसार आफैमा जटिल हुन्छ, त्यस जटिलताले सृजना गरेको विविध प्रकारका अन्याय, असमानता, विभेदका विषयमा जुन कला, साहित्यले उठान गर्न सक्दैन, त्यसले एकातर्फ मनोरञ्जन दिएको जस्तो देखिएपनि वास्तवमा संरचनात्मक सामाजिक अन्याय (Socio-structural injustic) का विषयवस्तुलाई गैरराजनीतिकरण गरिएको छैन भन्न सकिन्न । सामाजिक संरचनात्मक असमानतालाई उठान गर्न नसकेको त्यस्ता कला, साहित्यले मानवको गुणस्तर चेतना (Quality consciousness) वृद्धिमा सहि दिशानिर्देश गर्न सक्दैन । जसरी राजनीति पेशा होईन सेवा हो त्यसरी नै कला, साहित्य र सृजना समाजको ऐतिहासिक सन्दर्भ (Historical context)को अध्ययन प्रस्तुत गरेर कस्तो खालको समाज निर्माण गर्ने भन्ने खबरदारी गर्दै, सकारात्मक भविष्य निर्माण गर्न मार्गनिर्देश गर्ने सेवामुखी विषय विधा हो । जसरी मानिआएको धामी, झाँक्री पेशा होईन सेवा हो त्यसरी नै कलाकार, साहित्यकार सर्जक पेशा नभई विशुद्ध सेवा, करूणा, कल्याण र परोपकार प्रवाह गर्ने विधा हो । यो त सेवामुखी गुण र क्षमताले भरिएको विशेष र शक्तिशाली परिचय हो, जसले सामाजिक मूल्यमान्यता र संस्कृतिको निर्माण, विनिर्माण र पुनःनिर्माण गर्न सक्दछ । त्यसैले त समाजमा अमूल्य गहनाको विशेषणले विभूशीत गरिन्छ ।

बजारमा बुद्ध, मार्क्स, आम्बेडकर, डोरबहादुर बिष्टहरू धेरै कम छन् । पूँजीवादी समाजमा कला, साहित्यलाई जीविकोपार्जन गर्न मात्र नभई नाफा कमाउने साधन बनाईएको छ । कला, साहित्य र सृजनालाई मनोरञ्जनको साधन मात्र सम्झिनु त्यसको मर्म र भावना विपरितका संस्कृति र मूल्यमान्यताको पुनःनिर्माण गर्नुले हुने क्षति नोक्सानी बडो घातक छ । जबकि हिजोको समाजमा कला साहित्यको जुन मानवतावादी स्थान थियो र त्यसको चेतना वृद्धि  प्रवाहको कार्य जुन थियो, आज फरक भईरहेको पाईन्छ । आफ्नो आवश्यक्ता पुरागर्न, वैशालु प्रेम योग र वियोगले भरिएको कला साहित्य र सृजनाको प्रस्तुति र अभ्यासले सामाजिक विषयवस्तुलाई गैरराजनीतिक गरिरहेको तथ्य र प्रमाण हरेक क्षणमा महसुस गर्न सकिन्छ । जानिनजानी जसले समाजमा असमानता सृजना गर्ने व्यक्ति, समूह, वा प्रवृत्ति  साथै निश्चित सामाजिक, सांस्कृतिक, एवं आर्थिक पूँजीपति वर्गलाई पक्षपोषण गरिरहेको हुन्छ । अर्थात ज्ञान अज्ञानमा, प्रत्यक्ष परोक्ष रूपमा असमानतामा रमाउने उच्च वर्गको पक्षपोषण गर्ने त्यही क्रियाकलापलाई लेनिनले प्रतिकृयावादी प्रवृत्ति भनेका हुन् सक्छ । त्यही प्रतिक्रियावादी प्रवृतिले समामजिक असमानताका विषयलाई गैरराजनीतिकरण गरिरहेको हुन्छ जसका कारणले संरचनात्मक असमानताको रूप परिवर्तन भएको छ तर अझ पनि कमजोर भएको छैन मान्न सकिन्छ ।

(द्वन्दात्मक दृष्टिकोण)।

डोर बहादुर बिष्ट

विकासको गति सुस्त भएको र समाजका विभिन्न वर्गबीच देखिएको आर्थिक विषमताका कारण नेपाली समाजको केही भागमा छटपटी उत्पन्न भएको छ । यो छटपटी विभिन्न स्वरुपमा प्रकट हुन थालेका छन् । आर्थिक परिवर्तनका कारण प्राप्त हुन आएका भौतिक लाभलाई सामान्य बजारतन्त्रभन्दा पर्तिरको वितरण प्रक्रिया मार्फत सुविधासम्पन्न वर्गतर्फ मोडेर लगिएको छ । नेपाली समाजको संरचनात्मक ढाँचालाई बदल्ने प्रयास नभएका होइनन् । तर ति प्रयासहरु आफै नै पछि गएर नेपाली समाजको परिवर्नको मार्गमा बाधाका रुपमा उपस्थित हुन सक्ने देखिन्छ । किनभने यी परिवर्ताहरु नेपाली समाजको उच्च वर्गको धारणा र मूल्य प्रणालीबाट हाँकिएका छन् ।



डोरबहादुर बिष्ट

भाग्यवाद र विकास (१९९०)

प्रतिक्रियावादी प्रवृत्ति र गैरराजनीतिकरण

दक्षिण एसिया वा त्यसभित्रको नेपालको राजनीतिक परिपाटीको अध्ययन गर्दा राजनीतिको मुख्य उदेश्य शक्ति हत्याउने वा शक्तिमा पुग्ने साधनको रूपमा मात्र देखिन्छ । सत्तामा पुग्ने छलफल हुन्छ तर केकालागि, किन र कसकालागि सत्तामा पुग्ने र अस्थायी सरकारको पुनर्गठन गर्ने भन्ने विषयमा गौण देखिन्छ । जनताको धन, मान र प्राणको रक्षा र सामाजिक सुरक्षा स्थापना गर्दै सकारात्मक खुशी वृद्धि  गर्नकालागि हो भन्ने विषयलाई केन्द्रमा राख्न सकेको देखिन्न । नेपाली राजनीति संस्कार, परिपाटी र अभ्यासको गहिरो अध्ययन गर्दा नेपालको राजनीतिले नै नेपाली जनताको समस्या साथै सामाजिक सुरक्षाका विषयलाई गैरराजनीतिकरण गरिरहेको देखिन्छ । अर्थात राजनीतिले राजनीतिलाई नै गैरराजनीतिकरण गरिरहेको महसुस हुन्छ ।


उच्च वर्गाबाट संचालित, निर्देशित नेपालको राजनीतिले भूइमान्छेको दर्दको, भोगाइको सम्बोधन गर्न सक्दैन । अत्यधिक मात्रामा, निम्म वर्गको प्रतिनिधित्व गर्ने सतहका कार्यकर्ताहरूमा पनि राजनीतिको उदेश्य, मर्म र भावनालाई नजरअन्दाज गर्दै निजी वा समान उदेश्य बोकेका सामुहले सामाजिक साथै आर्थिक अवसर प्राप्त गर्नकालागि जस्तो देखिन्छ । सबै दलमा त्यस्ता प्रतिक्रियावादी प्रवृत्ति संस्कार रहेकोदेखिन्छ जस्तै एकै व्यक्तिलाई पटक पटक लामो काखण्ड सम्म अध्यक्ष जस्तो प्रमुख पदमा स्विकार्नु र अधिनायकत्व प्रदान गर्नु पनि प्रतिक्रियावादी प्रवृत्ति हो। आफ्ना दलका अध्यक्षलाई आईलभ यु बा भनेर झुठो र बनावटी देवत्वकरण गर्दै चाकरीवाद पछ्याउनु पनि प्रतिक्रियावादी संस्कृति हो । त्यस्तै नातावाद कृपावाद, भित्रिया बाहिरिया, गुटको चरम भेदभावको अभ्यास गर्दै निजी स्वार्थ भन्दा माथी उठ्न नसक्ने र जनताको विषय उठान नगर्ने प्रवृत्ति पनि प्रतिक्रियावादी संस्कृति भित्र नै पर्दछ । 


यस्तै भित्रिया, बाहिरिया, नातावाद, कृपावाद, सामन्तवादी, देवत्वकरण , चाकरी प्रथा, जस्ता प्रतिक्रियावादी प्रवृतिले नेपालको राजनीतिकलाई वर्तमान अभ्यासको परिपाटीले राजनीतिको मूल्य, मान्यता, जनताको अधिकार, सामाजिक सुरक्षा जस्ता संवेदनशील विषयलाई गैरराजनीतिकरण गरिरहेको अध्ययन गर्न सकिन्छ । अरूलाई प्रतिक्रियावादी ठान्ने साथै आफुलाई द्वन्दात्मक भौतिकवादी ठान्ने कर्ताहरू नै त्यस्ता प्रतिक्रियावादी प्रवृत्तिको सिकार भएको देखिन्छ । सबै दलमा भएको प्रतिकृयावादी प्रवृत्तिले राजनीतिलाई नै गैरराजनीतिकरण गरिरहेको धेरै प्रमाणहरू महसुस गर्न सकिन्छ । कम्युनिस्ट आन्दोलनका कर्ताहरूमा विशेष अनुरोध, पहिले आफु र आफुमा भएको प्रतिकृयावादी प्रवृत्ति साथै सोचको संस्कृतिलाई जित्नुस् त्यसपछि अाफ्नो संगठनमा व्यप्त त्यस्ता विकृति, विसंगति, प्रतिक्रियावादी प्रवृतिलाई परास्त गर्नुस् र पवित्र हुनु हुनुहोस तत्पश्चात आफ्ना दलभन्दा बाहिर जरागाढेर बसेका त्यस्ता प्रवृती बिनस गर्न हामी पनि सघाउनेछौं । संगै जानेछौं त्यो प्रजातान्त्रिक/समाजवाद अभियानमा ।


राजनीतिलाई शक्तिको खेल मात्र सम्झीने साथै अाफ्नो र निम्न वर्गको वर्गीय अवस्थामा स्थायित्व कायम राख्न साधन बनाउने अभ्यासले जनताको अधिकार साथै सामाजिक सुरक्षाका लागि सम्बोधन गर्ने संस्थागत र वैधानिक अभ्यास गर्ने राजनीतिलाई गैरराजनीतिकरण गरिदैछ । राजनीतिले राजनीतिलाई गैरराजनीतिकरण गर्नु पनि प्रतिकृयावादी प्रवृत्ति सशक्त हुनुको परिणाम हो । प्रतिक्रियावादी प्रवृत्ति र यसभित्र पर्ने नातावाद, कृपावाद, चाकरी प्रथा, देवत्वकरण, सामन्तवादी संस्कृति राजनीति शत्रु मात्र नभई सामाजिक विकास, परिवर्तन, रूपान्तरणको मुख्य बाधक हो । जसरी भनिन्छ नी रोगीलाई हैन रोगलाई घृणा गरौं, त्यस्तै प्रतिक्रियावादी व्यक्तिलाई हैन प्रवृत्तिलाई सामाजिक न्यायकालागि जरैबाट उन्मुलन गर्न सबैमा गुणस्तर चेतनाको विकासको सुरूवात गरौं ।


Friday, January 28, 2022

गैरराजनीतिकरण

 हरेक क्रियाकलाप आफ्नो र समान स्थिति एवं अवस्थाबाट ग्रसित त्यस्ता व्यक्ति तथा समुहका अनुभवहरूको उन्मुक्तिकालागि गरौं चाहे त्यो श्रावणको सोमवारको लगागयत तिजको व्रता तथा अन्य धार्मिक परंपरागत उपवास किन नहोस् । सामाजिक न्याय र समानताका मुद्दालाई धार्मिकीकरण गरेर गैरराजनीतिकरण (Depoliticization) हुनबाट रोकौं । पहिले आफ्नो विषय लिएर सिंहदरबार र ह्वाइटहाउस जाने तरिका र बाटो हेर अनि फुर्सद मिलाएर श्री पशुपतिनाथ, जामे मस्जिद, गुम्बा र चर्च जाअौंला ।


आफु र आफुजस्तैले अनुभव र महसुस गरेका असमानताका विषय र मुद्दालाई गैरराजनीतिकरण हैन राजनीतिकरण गरौं । गैरराजनीतिकरण भन्नाले असमानताका विषय र मुद्दालाई बि.आई.सि.सी, सिंहदरबार र ह्वाइटहाउस लानु पर्नेमा पशुपतिनाथ र चर्च लानुलाई मान्न सकिन्छ । त्यसो त नेपाली समाजमा मात्र नभई विश्व समाजमा धर्म एवं धार्मिक संस्कार, संस्कृति र परंपराका नाममा नारीलाई पूर्ण नियन्त्रणमा राख्ने खेल पुरानै पितृसत्ताको हो, जो समय अनुसार परिवर्तित रूपमा आज पनि छ । त्यसको उदाहरण पर्याप्त देख्न सकिन्छ ।


धर्म र धार्मीक परंपराको नाममा भिन्न भिन्न धार्मिक संस्थाले विश्व नारीएकताको सबाल र अनुभव गरेका विभिन्न प्रकारका अन्यायका मुद्ध उठान र त्यसको सम्बोधनका प्रसंगमा प्रतिकुल भूमिका निर्वाह गरेको  न्यायप्रेमी नारिवादी बौद्धिक वर्गहरूले अध्ययन प्रस्तुत गरेका छन् । समाजमा धार्मिक अघोषित नियम, मूल्य र मान्यताका नाममा साथै राजनीतिक किचलो एवं अस्थिरताले विषय र मुद्दालाई केन्द्रित र सशक्त हुन नदिएका तथ्य पनि नकार्न सकिन्न ।


रक्सीको ब्राण्डीङ र परनिर्भरता

नेपालको आर्थिक वृद्धि र सबलतामा युरेनियमको प्रसोधन कि रक्सी ब्राण्डीङ? नेपालको स्थानिय प्रविधि, ज्ञान, कला र सिपले उत्पादित रक्सी लाई ब्राण्डीङ, प्याकिङको अवधारणामा लानु भनेको पुजीवादी विश्वसमाजले निर्धारण गरेको उत्पादन र गुणस्तरमा सहमति जनाउनु हो साथै परनिर्भरतामा लानु वा धकेल्नु हो।


दोस्रो विश्वयुद्ध अघि सम्म विश्वसाम्राज्यवादी प्रभुत्वशाली राज्यहरूले प्रत्यक्ष राजनीतिक र भौगोलिक रूपमा कमजोर मुलुकहरूलाई कोलनी बनाएका थिए। जुन शोषणका कारण त्यस्ता मुलुकहरू आज पनि उठ्न सकेको छैन। त्यहाँका प्राकृतिक स्रोतसाधन, उत्पादनका साधनमाथिको हस्तक्षेपले त्यस्ता प्रभुत्वशाली राज्यहरू अझ शक्तिशाली बन्दै गईरहेको छ। दोस्रो विश्वयुद्धपछि डिकोलनाईजेशनको अवधारणा ल्याईयो। जुन मुलुक प्रत्यक्ष साम्राज्यवादको चपेटामा थियो त्यस्ता मुलुकलाई हेर्दा सुन्दा डिकोलनाईजेशनले भौतिक रूपमा स्वतन्त्र त भए तर आज पनि त्यस्ता मुलुकहरू पूर्ण रूपमा सार्वभौमसत्तासम्पन्न भएको देखिदैन। डिकोलनाईज गरियो तर साम्राज्यवादीहरूको ध्येय र चासो परिवर्तन गरेनन्। अर्थात कोलनाईजेशनको रूपमात्र परिवर्तन गरे यथार्थमा भन्दा आर्थिक राजनैतिक रूपमा त्यो साम्राज्यवाद जीवित छ जसको विभिन्न सामाजिक वैज्ञानिकहरूले  आआफ्नै ढङ्गले खोज अनुसन्धान गरि तर्क पेसगरेको पाउन सकिन्छ। केही रेडिकल समाजशास्त्रीहरूले त्यही अार्थिक विस्तारवादका सशक्त अंग र योजनाहरू हुन् विश्वव्यापीकरण, आधुनिकिकरण, उद्धारवाद, नवउद्धारवाद, प्रजातन्त्र र मानवअधिकार भनेेेेका छन्। जसको सहायताबाट विश्वसमाजमा अदृश्य र आर्थिक प्रभुत्व जमाउने साधनको रूपमा प्रयोग गरिरहेको देख्न सकिन्छ।


नेपालले गरेको त्यो अौद्योगिक क्रान्तिले नेपालमा विभिन्न प्रकारका उपयोगिताका वस्तु उत्पादन गर्ने भिन्नभिन्न उद्योग र कलकारखानाहरू स्थापित भए तर प्रजातन्त्रको स्थापना संगै त्यस्ता कलकारखानाहरूको नियोजित ढङ्गले विनास गरेको कुरा नेता कर्मचारीलाई लगाईरहेको पाउन सकिन्छ। तर यथार्थमा ति त्यस्ता साधनरूपि पात्र मात्र हुन् साम्राज्यवादको विश्वव्यापीकरणको नामको। यो प्यारो र सुन्दर देशलाई यो स्थितिमा पुर्‍याउन नेपालीले अारोप मात्र खेपेकाहुन्। वास्तवमा एक नजरले हेर्दा कुनै अदृश्य साम्राज्यवादी शक्तिले आफ्नो चक्र घुमाईरहेको यथार्थ स्विकार्न गार्‍हो हुन सक्छ। आधुनिकिकरण, विश्वव्यापीकरणको नाममा पुराना र स्थानीय कला, ज्ञान, सिप र प्रविधिको नास भएको पर्याप्त देख्न सकिन्छ। आफै सोचौं कुनैपनि विषयलाई बन्देज गरिने फुकुवा गरिने, उत्पादन गर्दा मापदण्ड तोकिने जस्ता कुराहरू कस्ले गरिरहेको छ र किन गरिरहेको छ भन्ने कुरा सोच्ने विषय हो। त्यसैको सिकार बन्दैछ परंरागत सिप, ज्ञान र प्रविधि बाट उत्पादन गरिदै आएको रक्सी, आराखा, अैला जे भनौं।


विकास र समृद्धिको नाममा नेपालको रक्सीलाई ब्राण्डीङ गर्नाले निम्तिने चुनौती अत्यन्त घातकपुर्ण रहेको छ। विश्वव बजरजारका वादशाहले नेपालको रक्सीको उत्पादन, प्याकिङ, लेबलिङ र वितरणमा लगानी गर्नेछ र प्याटेन्ट अधिकार लिनेछ। अनि घरघरैमा मौलिक ढङ्गले रक्सी उत्पादनमा नीतिगत र कानुनी ढङ्गले रोक लाग्ने छ। यो जसरी चल्दैछ त्यसरी चल्नध दिनु पर्दछ। आर्थिक वृद्धिको नाममा यसमाथि हस्तक्षेप, अाक्रमण र छेडखानीले नेपाली प्रविधिको नास र परनिर्भरता बढाउने निश्चित छ। रक्सीमा परनिर्भरता बढाउने खेल हो। समयमै होस पुर्याउन नसके संकट निम्तने छ जसरी मोहीको ठाँउमा कोक/पेप्सी। यो कदम र आवाज आत्मनिर्भरता र स्थानिय ज्ञान प्रविधि माथिको हमला हो।


प्रति केजी करोडौं करोड पर्ने न्युक्लियर बम उत्पादन गर्ने कच्चापदार्थको उत्खनन् प्रसोधन बिक्रीवितरण छोडेर गिलासको नेरू १० पर्ने रक्सी को विषय अलिक अप्रासंगिक छ। आफुले लगाउने साँस्कृतिक जनाई डोरा उत्पादन गर्न नसक्ने परनिर्भरताको वर्तमान स्थिति र परिवेशलाई बुझ्दा, उन्नति र सम्भावनाको मुल मानिने घरको हरेक युवा छोराछोरीलाई विदेश पठाएर नआएको आत्मनिर्भरता अब रक्सी र गाँजाले हुन्छ भनेर मान्नु गफाडीको गफ हो। आमाको दुध चुसेर नभएको अब बुबाको घोडा चुसेर हुन्छ भने जस्तै हो। नेपालमा सरल नेपालीलाई पंगु बनाउन सकिन्छ भन्ने अभ्यास हिजो देखिको हो र कहिले सम्म रहन्छ भन्ने मात्र हो। 


के रक्सीलाई ब्राण्डीङ, गाँजाको प्रसोधन गरेरमात्र नेपालको विकास र समृद्धि हुन्छ भनेर ठोकुवा दिन सकिन्छ त! तर यसले पनिर्भरता बढाउछ भन्ने मान्न सकिन्छ। विकास र समृद्धि वस्तु उत्पादन र आर्थिक वृद्धिदरमा नभई सभ्य नागरिकको सुख र खुशीको जमानी बस्ने राष्ट्रसेवकको नियतमा हुन्छ, दुरदर्शितामा हुन्छ।


Friday, January 14, 2022

न्युयोर्क, २०७८, २७ पुस-

 अमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ । डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो । वंशानुगत रुपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन् ।प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य छ । बाल्टीमोरको एक अस्पतालमा सात घन्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको हो ।


Friday, January 7, 2022

संस्कृति संक्रमण

 

नियमिततामा चलेको सरल नेपाली समाज एक्कासि विश्वव्यापिकरणको अवधारणा अनुरूप विश्वसमाजिक संस्कृति र मूल्यमान्यतामा प्रवेश गर्दैगरेको वर्तमान स्थितिले समाजका आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, वातावरण, पारिवारिक साथै स्वास्थ लगायत सुक्ष्म र बृहत् बहुपक्ष क्षेत्रमा संक्रमणकाल चलिरहेको अनुभव गर्न सकिन्छ । विश्वबजार र विश्वसमाज नेपाली समाजको लागि अवसर हुनुपर्ने तर जुन वर्तमान अवस्था एवं परिस्थिति बाट गुज्रिरहेको छ त्यसको परिणामलाई अध्ययन गर्दा चुनौतीपूर्ण रहेको पाउन सकिन्छ । तर यसो भन्दै गर्दा केही स्वार्थ व्यक्ति (Agent) तथा समान स्वार्थ समुहले निजी लाभ लिदैगरेको कुरा नकार्न सकिन्न जुन क्रियाकलापले नेपाली समाजको साझा लक्ष्य प्राप्तिमा अझ संकट थपिरहेको निश्चित छ ।


विश्वव्यापीकरणको गहिरो प्रभाव नेपाली समाज, संस्कृति र मूल्यमान्यतामा परेको स्पष्ट देख्न सकिन्छ । विश्वपुँजीवादको उपभोक्तावादी संस्कृति तथा मानवलाई मजदुरीकरण साथै शक्ति राज्यहरूको साम्राजयवादको प्रयोगशाला नेपाल र नेपाली समाज हैन भन्ने कुनै आधार छैन । विश्वसमाजको सामाजिक प्रभाव नेपाली समाजको प्रत्येक कर्ता देखि संरचना सम्म सबै पक्षमा परेको छ जसमा कुनै गुणस्तर विकास र रूपान्तरण भन्दा पनि ठिक विपरीत रहेको देखिन्छ । नेपाली समाजमा लिङ्ग, जात, जाति, भाषा, संस्कृति, रंग र भूगोल लगायत विविधता बीचको असमानता र जटिलता छदै छ त्यसमाथि वर्गीय विभेदको अर्को संकटकालीन खाल्डो पनि बढदैछ । नेपालभरिका निम्नवर्गीय गरिब तथा अपहेलित किसानहरूले सिंहदरबार र सितलनिवास लाई पाले अनुसारको प्रतिफल नपाउनुले आम करदाता नागरिकहरूले कठिन संकट भोगिरहेको ले पनि केही संकेत गरिरहेको छ । युवाहरूमा विश्व संरचनाले उच्च आकांक्षि बनाईदिएको छ एकापटि भने अर्को पटी त्यस युवा जनशक्तीको प्रयोग गर्न सकेको देखिदैन राज्यले । नेपाली समाज दिप्रतिदिन समस्याको दलदलमा फँसेको स्पष्ट महसुस गर्न सकिन्छ ।


अर्थप्रधान र उपभोक्तावादी संस्कृतिको गहिरो प्रभाब बढ्दो छ । आवश्यक्ता र सपना त्यो सरल सामाजमा झै सिमित छैन । प्रविधिमैत्री र आधुनिकता प्रदर्शन गर्न महङ्गो रकम चुकाउनु पर्ने, आधुनिक शिक्षा स्वास्थ धान्न आम्दानी बढी हुनुपर्ने त्यस्तो रोजगारको अवसर नेपाल सरकारले उपलब्ध गराउन नसक्नु । व्यप्त बेरोजगारको समस्याका कारणले कामको खोजीमा आंसिक बसाईसरामा विदेशीएका युवाहरू गएको देश पनि नेपाली समाजमा वर्ग निर्धारणको कारक बनिरहेको देखिन्छ । युरोप, अमेरिका तथा शक्तिशाली राज्यमा जाने एक वर्गको प्रतिनिधित्व गर्दछन् भने खाँडी मुलुक जानेले अर्को वर्गको प्रतिनिधित्व गर्ने रहेछ भन्ने खालको मूल्यमान्यताको विकास नभएको होईन मान्न सकिन्न । अन्तर्राष्ट्रिय बसाइँसराइले एकातर्फ गुणस्तर मानवसाधन पलायन हुदैछ भने अर्को तर्फ परंरागत  संयुक्त परिवारको अवधारणा पूर्ण रूपमा ढल्ने अवस्थामा छ । जसका कारणले सरल समाजको सुन्दरता मानिने संयुक्त पारिवारमा आज आफ्नो जन्मदिने अामा बुबा संगको एकै घरको बसाई पनि नसिब नभएको अवस्था बढदो छ ।


पुँजीवादको सिकार बनेको उदारवादी सरकारको शिक्षा र स्वास्थमा निजीकरणको नीतिमा नाफामुखी व्यक्ति/संस्थाहरूको चंगोलमा परेको समाजमा निजी अंग्रेजी  विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउनु र निजी अस्पतालमा उपचार गराउनुले पनि वर्गीय पहिचान दिन्छ भन्ने मान्यताको विकास हुनु । राज्यले उपलब्ध गराउने शिक्षा र स्वास्थ्य जस्तो खर्चिलो पक्षमा पनि आफुले खाईनखाई आफ्ना संतान र परिवारको खर्च बेहोर्दा बेहोर्दै आफु मानव हुनुको सुन्दर पक्ष बिर्सनु । उच्च वर्गीय संस्कृति अवलम्बन गर्दा निम्नवर्गीय जहाँको त्यही । सरल समाजबाट उत्तरआधुनिक समाजमा प्रवेश संगै संस्कृति एवं मूल्यमान्यतामा आएको परिवर्तनले मानव जीवनमा ल्याएको जिटिलताले व्यक्ति तथा सामाजिक संकट अझ बढदो छ । शिक्षा र स्वास्थमा राज्यले कल्याणकारी नीति योजना र कार्यान्वयन गर्न सके त्यसमा हुने गरेको खर्च उत्पादन मुखी क्षेत्रमा लगानी गर्ने अवसर सृजना हुन सक्थ्यो ।


नेपाली समाजले भोगिरहेको पिडाहरू जस्तै हात्या, हिंसा, चोरी, दुर्घटना, भ्रष्टाचार, बसाईसराई, पारपाचुके, वातावरण प्रदुषण, वातावरण परिवर्तन, विदेश पलायन, अकाल मृत्यु, पारिवारिक बेमेल, सामाजिक बेमेल, गरिबी, नैतिकताहिन शिक्षा, खर्चालु उपचार, राजनीतिक अस्थिरता लगायत व्यक्तिगत साथै सामाजिक चुनौतीहरूको मुख्यकारक प्रविधि, विश्वसमाज, विश्वपुँजीवाद, साम्राजयवाद, विश्वव्यवस्था, आधुनिकिकरण, उदारवाद, परनिर्भरता लगायत हैन भन्न सकिन्न । यिनै विषय संग नेपाली समाज अछुतो रहन नसक्नुले संस्कृतिमा आएको एक्कासि परिवर्तन साथै सरल समाजिक मान्यता र उत्तरआधुनिक पुस्ता बीचको पुस्तान्तरणलाई नजरअन्दाज गर्न मिल्दैन । 


विश्वसमाजको सामाजिक व्यवस्था भित्रको आबद्धताले सरल नेपाली समाजको खानपिनको संस्कृति, विचारको संस्कृति, परंपरागत दैनिक जीवनशैली, परंरागत पेशाको प्रथा, आम्दानी एवं रोजगारको परंरागत संस्कृतिमा आएको परिवर्तन र रूपान्तरणको संक्रमणका कारणले व्यप्त पारिवारिक र सामाजिक विपत्ति भोगिरहेको छ नेपाली समाजले । अर्थात आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, वातावरणीय, साथै व्यक्ति तथा सामाजिक संरचनाको संस्कृतिमा आउदै गरेको रूपान्तरणको संवेदनशील समयमा नेपाली समाजमा व्यप्त संकटकालका लक्षणहरू देखिएको अस्विकार गर्न मिल्दैन । वर्तमान परिस्थिति र परिणाम जो नेपाली समाजले भोगिरहेको वा व्यहोरीरहेको छ त्यसलाई सूक्ष्म र बृहत् अध्ययन गर्दा नेपाल संस्कृतिको संक्रमणकाल बाट गुज्रिरहेको विषयको वास्तविक अध्ययन गर्नु पर्दछ ।


एकातर्फ यस विशेष कालखण्डलाई गहिरो अध्ययन गरि राज्यले नीति योजना तथा कार्यक्रम ल्याएर कार्यान्वयन पक्षमा लागेर नेपाली समाजले खेपिरहेको सर्वपक्षीय नोक्सानीलाई न्यूनिकरण गर्ने प्रयास गर्नु पर्दछ । अर्कोतर्फ नेपाली समाजका लागि यो संस्कृति संक्रमणकाल विषेश काल पनि हो जो गलत संस्कृतिको विनिर्माण गरि सुन्दर मूल्यमान्यता र मानवतावादी संस्कृतिको पुनःनिर्माण गर्ने अवसरको रूपमा लिएर गुणस्तर समाज निर्माण तर्फ लाग्नु पर्दछ ।