Saturday, April 15, 2023

विश्वको ठग लोकतन्त्र

 विश्वको ठग लोकतन्त्र


मलाई भोट देउ भनेर भोट मागिदैछ !

हामीलाई भोट हाल भनेर भोट फकाईदैछ !

मलाई आशीर्वादमा भोट दिनु भनेर ढोगेर भोट मागिदैछ !

विभिन्न तिकडम हर्कतको प्रयोग गरेर भोट हाल्न बाध्य बनाईदैछ !

सांकेतिक अन्तरक्रिया गर्दै विभिन्न खुल्ला वा गुप्त नाराले प्रलोभनमा पारेर स्वार्थ समुहले मतदातालाई प्रभावमा पारेको देखिन्छ । 

नेपालको बडो अचम्मको लोकतन्त्र !


जुन हर्कतले निर्वाचन गराईदैछ, मतदाता माथि बाध्य बनाईदैछ, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली आफैमा त्यो अलोकतान्त्रिक छ । लोकतन्त्रको नाममा देखाउने दाँत बनाईएको छ निर्वाचन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली । उदार र लोक कल्याणकारी लोकतन्त्रको अभ्यासमा कञ्जुस्याँइ गर्ने सत्ता र शक्तिका कुलतमा फँसेका शासक/पुँजीपति वर्गको नाङ्गो नाच कहिले सम्म सहने ! उच्च वर्ग, शासक वर्ग वा हुनेखाने वर्ग र अघाएका मान्छेले अर्थ तथा परिभाषित गरिदिएको, आदर्श र सिद्धान्त निर्धारण गरिदिएको लोकतन्त्र मानिरहेका छौं र त्यही मनाई रहेका छन् । वर्तमान लोकतन्त्र र लोकतान्त्रिक अभ्यास हामी हुदा खाने, भोको र भूँइमान्छेका हितकालागि हुँदै हैन भनेर बुझ्न र बुझाउन जरुरी छ । 


यतिका वर्ष भईसक्दा पनि आत्मसम्मान र जन्मदै अधिकार सम्पन्न हामी मानवको जीवनमा कत्ति पनि गुणस्तर नथपिएको अझ झन्झन् जटिलता तर्फ धकेलिदै गएको स्विकार्दैनौं भने हामीमै र हाम्रो चेतनामै समस्या रहेको बुझ्न जरुरी छ । फ्रेन्च रिभोलुसन दोहोर्‍याउनमा उद्दत्त गराउने र मानव मानव हत्यामा रमाउने रक्तपिपासु देखि होसियार । लोकतन्त्रले हत्यामा नभई सत्याग्रमा विश्वास गर्दछ । यदि नगरे लोकतन्त्रको हत्या हुन सक्छ । लोकतन्त्रको विकल्प अझ उदार लोकतन्त्र हो । हुनेखाने अघाएका वर्गले र हुदा खाने भोको र भूँइमान्छेले त्यसैमा विश्वास र आस्था राखौं ।



Friday, April 14, 2023

कान्छी बैनी रमा (बाल नर्सिङ शास्त्री) लाई जन्मदिनको शुभकामना !

 कान्छी बैनी रमा (बाल नर्सिङ शास्त्री) लाई जन्मदिनको शुभकामना !


मानव समाजमा समाजले राखिदिएको साङ्केतिक नामले भन्दा आफैले विषयगत अभ्यास र चेतनाले निर्माण गरेको परिचयको आयु लामो रहेको हुन्छ । नाम त जन्मन साथ उपलब्ध गराईन्छ तर परिचय निर्माण गर्न जीवनको उर्वर समयको लामो लगानीका पश्चात पनि सबैले निर्माण गर्न सकिँदैन । आफ्नो विषयगत क्षेत्रको पहिचान गरि त्यसैमा पहिचान र परिचय निर्माण गर्ने सचेतना महत्वपूर्ण रहेको हुन्छ । 


हामी मानवलाई जन्म अरूले दिएको, हिडन अरूले सिकाएको, बोल्न अरूले सिकाएको, पढन लेख्न अरूले सिकाएको, जीवन जीउन जीवनदर्शन अरूलेनै सिकाएको, भौतिक शरीर र प्राणमा शक्ति र उर्जाको स्रोत पनि उरू (प्रकृति) र भौतिक शरीरको अवसान पश्चात् अन्तिम संस्कार पनि अरूले नै गरिदिने हुन्छ । यस्ता चुक्ता गर्न खोज्दा पनि तिर्न नसकिने ऋणलाई बिर्सिएर हामी मानव आजीवन नाफा वा भौतिक पुँजी संकलनको नाममा वातावरण तथा प्रकृतिको विनाश र दोहन गर्ने, अन्य प्राणीलाई आफ्नो निजी लाभका लागि हदपार गर्ने तथा अधिकार, स्वतन्त्र र आत्मसम्मानमा आफुसमानको हैसियत राख्ने अरू मानवलाई जानिनजानी योजनाबद्ध ढङ्गले चुस्ने, धुत्ने, लुट्ने, ठग्ने अमानवीय र असामाजिक कार्य खुल्लम खुल्ला गरिरहेका हुन्छौं । हामी मानवको प्राण जसरी प्रकृति वा अरू कसैको प्रेम र करूणाका कारणले प्राप्त भएको साथै चलिरहेको प्रमुख विषय केन्द्रमा राखी आफुलाई सदैव करूणा र मानवतावादमा लगाउने प्रधान विषय स्मरण रहोस् ।


मानव प्राणीको शक्तिशाली हतियार भनेको "चेतना" नै हो । मानवका लागि चेतना अवसर पनि हो र चुनौती पनि । अहिलेसम्म त्यो सचेतनाको उच्च सम्भावना जीवहरू मध्ये मानिसमा रहेको पाईएको बौद्धिक एवं उच्च चेतनशील पात्रहरूले मानेका छन् । त्यसैको खोजी नै मानव जीवनको लक्ष्य, उदेश्य र ध्येय हो । त्यही परोपकारी, कल्याणकारी र करूणामय सचेतनाको खोज अध्ययन तथा प्रकृति र धर्म (मानवतावाद)को रक्षार्थ साहसिक र चेतनशीलताको शुभकामना ।


💐कमरेड रमा लाई 💐 जन्मदिनको लाखौंलाख शुभकामना !💐



जे हुदैछ गलत हुदैछ, बुझ्न र बुझाउन जरुरी छ

 जे हुदैछ गलत हुदैछ, बुझ्न र बुझाउन जरुरी छ


विश्व मानव समाजको सबै भन्दा खतरा मन्द विष भनेको जात-जातिका नाममा मानव-मानव बीच विभाजित गराउने जातिवाद, धर्म-धर्मका नाममा मानव-मानव बीच फुट गराउने धार्मिक साम्प्रदायिकता हो । 


पहिचानको वर्चस्वताका नाममा भुसको आगो झै भित्र भित्र बालिरहेको यो जातिवाद र आईडिया अफ गडका नाममा ईश्वरिय कट्टरपन्थिमा विश्वास गराउने धार्मिक साम्प्रदायिकता खुल्लेआम भड्काउने विषालु खेल खेलेर पूँजीपति शासक वर्गले विश्व मानव समाजमा आधिपत्य जमाएको स्पष्ट देख्न सकिन्छ । मार्क्सले यही विषय सबै मानवका शासित/मजदुर वर्गलाई बुझाउन खोजेका छन् । 


सचेत मानवले यस्ता अति जातिकेन्द्रियतालाई निस्तेज बनाउदै धार्मिक साम्प्रदायमा वर्गीय एकता खोज्न जरुरी छ । जहिले सम्म विश्व मानव समाजमा जात-जाति बीच बेमेल तथा धार्मिक साम्प्रदायिकता भड्काउनेमा विश्वास राखिन्छ/गराईन्छ तब सम्म हुनेखाने सिमित तर शक्तिशाली वर्ग द्वारा भोको भूंइमान्छे अर्थात हुदा खाने वर्ग स्थाइ रूपमा असमानता, अभाव, गरिबी र अन्यायको गहिरो र जरजरताको सिकार भई रहनु पर्ने हुन्छ । 


धनीलाई गरिब र गरिबलाई अझ गरिबीमा धकेल्ने कंगालिकरणको खेल खेलाईरहेको पूँजीवाद विरूद्ध एक र सचेत हुन जरुरी छ । यो साम्राज्यवादी धार्मिक पितृसतात्मक पूँजीवादी विश्व समाजमा जे हुदैछ गलत हुदैछ, न्यायप्रेमी मानवले समयमै बुझ्न र बुझाउन जरुरी छ ।



सिंहदरबारको ह्वाइटहाउस, प्रभूको मन्दिर र मतदान


 सिंहदरबारको ह्वाइटहाउस, प्रभूको मन्दिर र मतदान


नेपाली काङ्ग्रेस तर्फका उपनिर्वाचनका उमेदवार श्री जितनारायण श्रेष्ठ र श्री गोविन्द भट्टराईहरूलाई प्रश्न गर्नुहोस् ।


१. पितृसत्तात्मक समाजले हजारौं हजार वर्ष देखि दास बनाएर राखेको लैङ्गिक विभेदमा पारिएका महिला र अर्धनारीको न्यायका लागि मुक्तिका मुद्दाहरू के छ भनेर ।


२. हिन्दु धर्म वर्णाश्रम र त्यसैको आधारमा घोषित अघोषित जात व्यवस्था निर्माण गरेर हजारौं हजार वर्षदेखि दलनमा पारिएको कथित शुद्र माथि भएको विभेद र दुर्ववहारमा न्याय लागि क्षतिपूर्तिमा समानताको मुद्दा के छ भनेर ।


३. कुनै निश्चित भूगोल, भाषा, धर्म, रंगका भएकै आधारमा आज सम्म राज्यसत्ता भन्दा पर राखिएको, सिमान्तकृत बनाईएकाहरूको न्यायकालागि समावेशीकरणको मुद्दा के छ भनेर ।


४. कुनै निश्चित पेशा, व्यवसाय भएकै आधारमा सामाजिक सुरक्षा र न्याय बाट बञ्चित गराईएको किसान-मजदुरको न्यायकालागि सुरक्षाको मुद्दा के छ भनेर ।


५. आर्थिक आधारमा विपन्न, भौतिकताको पहुँचमा गरिब माथि वर्षौंदेखि हुँदै आएको शोषण र दमन विरूद्धको न्यायकालागि दिगो सुरक्षाको एजेण्डाहरू के छ भनेर ।


६. हरेक बालबालिका तथा विद्यार्थीकालागि निशुल्क र गुणस्तर शिक्षा साथै जेष्ठ नागरिकको स्वास्थ उपचार लगायत सामाजिक सुरक्षाको निश्चितताको मुद्दा के छ भनेर ।


७. अशक्त, कुपोषण तथा शारीरिक अपांगता भएका नागरिकका लागि विशेष व्यवस्था र सुविधाको सुरक्षित कार्यक्रम के कस्तो छ भनेर ।


८. भौतिक पूर्वाधार, यातायात तथा विकास निर्माणमा मानव समाज मैत्री बनाउने वैज्ञानिक र व्यवहारिक योजना कस्तो छ भनेर ।


९. हामी नागरिकले तिमीलाई र तिम्रो राजनीतिक संगठनलाई किन र के भनेर मतदान गर्ने, तिम्रो अनुहार, जात-थर र पार्टी हेरेर नै भोट दिनु पर्ने कहिले सम्म हो भनेर सोधौं ।


त्यसरी नै विविध कारणले अन्यायमा परेको वा पारिएको विषय र मुद्दामा न्यायको मुद्दाहरू के के छ भनेर सोध्नु होस् अनि लिखित गराउनसहोस् तत्पश्चात निर्वाचनमा आफ्नो मतदान दिएर सुरक्षीत हुनुहोस् । 


यो एक दिनको निर्वाचनमा छिनभरको मतदानले हामी र हाम्रो भविष्य कस्तो निर्माण गर्ने हो भन्ने तय गर्ने महत्वपूर्ण समय हो । त्यसैले त्यस्ता सामाजिक अन्याय, अत्याचार, विभेद, शोषण, दमन, बहिस्करण, सिमान्तिकरण उन्मुलन गर्न प्रयास गरिरहेको १४/१५ अौं सताब्दिको आदिम प्रजातान्त्रिक निर्वाचन प्रणालीमा सहभागी बनौं ।  नो भोट, भोट फिर्ता माग्ने जस्ता विषय भए कस्तो राम्रो हुन्थ्यो, बाध्यता छ, विकल्प छैन त के गर्ने !


के गर्ने त यस्तै कथित परंपरागत आदिम निर्वाचन प्रणालीलाई आजको २१आैं शताब्दीमा पनि प्रजातान्त्रिक प्रक्रिया मान्नु पर्ने हाम्रो बाध्यता एकातर्फ लज्जास्पद रहेको छ । तर पनि मतदान गरौं र आफ्ना एजेन्डालाई विजयी बनाआैं । हचुवामा, भावनामा, लयलयमा बहकिएर भन्दा पनि वास्तविकताको अध्ययन गरि अमूल्य मतदानको सदुपयोग गर्नेमा निश्चित बनौं ।


असमानता, अभाव र गरिबीका कारण देवता वा राज्यको नियतले हो भन्ने लाग्न सक्छ । त्यही समाजिक सुरक्षा र न्याय भन्ने विषय राज्य र राजनीति संग जोडिएको हुन्छ भनेर लाग्नेले त्यही उमद्वारहरूलाई सोध्नु होला । र देवतावादमा विश्वास राख्नेहरूले त्यही मन्दिरमा रहेका देवता वा देवताको सचिवालयको स्वकीय सचिव लाई सोध्नु होला ।


सामाजिक अन्याय, सामाजिक अससुरक्षा साथै निजी अभाव र गरिबी निवारण वा समाधान मन्दिर, मस्जिद, चर्च र गुम्बामा नभई सिंहदरबार र ह्वाईट हाउसमा हुन्छ । भौतिक सत्यले यसै भनेर मान्दछ । आईडिया अफ गडले यस्ता सामाजिक असुरक्षा, सामाजिक अन्याय, अभाव र गरिबी जस्ता समस्यालाई अझ बढी कसरी सहन सकिन्छ भन्ने बनाउदछ । वर्तमानको हाम्रो अवस्था विद्रोहको हो नकि सहनसिलताको ।


न्याय माग्न मन्दिर जाने चेतनाले मतदान नेताको हितका लागि गर्न सक्छ । जबकि निर्वाचनमा गरिने मतदान स्वयंको मुक्ति, स्वतन्त्रता, स्वायत्तता, सामाजिक न्याय र सुरक्षाको लागि हो । त्यसैले कहिले सम्म प्रभूको मन्दिर जाने र कहिले देखि सिंहदरबारको ह्वाइटहाउस जाने हामी स्वयंले निर्णय गर्न सक्नु पर्दछ । आईडिया अफ डिमोक्रेसीका नाममा कहिले सम्म ठग्ने र ठगिने विषयमा केन्द्रित हुन जरुरी छ ।



नेपालमा पनि लोकतन्त्रका नाममा ठगी हुदैछ

 नेपालमा पनि लोकतन्त्रका नाममा ठगी हुदैछ


पुँजीवादी उत्पादनको स्वरूपमा पनि ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले अध्ययन गर्दा उत्पादनको सामाजिक स्वरूपको ऐतिहासिक सन्दर्भका दास युग र सामन्त युगका राजनीतिक/धार्मिक संघ संगठन (मालिक, सामन्त, राजा, बादशाह) ले झै शोषण, दमन, अन्याय र अत्याचार गरिरहेका छन् । बस फरक यतिहो फरक नाम र फरक रूपमा शैली बदलेर आएको मात्र छ तर प्रवृत्ति त्यही र उहि छ । तिलक चन्दन नलगाएका हेर्दा लट्टे बाबा झैं देखिने लामो कपाल र दाह्री लामो भएका भौतिकवादी दार्शनका अघोरी बाबा ले भने झै राजनीतिक पनि पुँजीपतिको अधिनमा दास (साधन) रहेको देखिन्छ । 


नेपाली काङ्ग्रेसले वकालत गरिरहेको लोकतान्त्र र समाजवादका नाममा लोकतान्त्रिक आदर्श, सिद्धान्त, मूल्यमान्यता, वकालत, व्यवहार तथा कार्यान्वयन अमिल्दो र आउट डेटेड छ । विश्व समाजमा लोकतान्त्रिक समाजवादी पार्टीले गर्दै गरेको अभ्यास कस्तो छ र यहाँ नेपालमा के भईरहेको छ तुलनात्मक अध्ययन गर्न सकिन्छ । यदि नेपाली काङ्ग्रेसले वर्तमान लोकतान्त्रिक अभ्यासलाई अझ उन्नत लोकतान्त्रिक र कल्याणकारी अभ्यास गरिदैन भने नेपाली काङ्ग्रेस ठगी प्रवृत्ति भएका सामाजिक असमानता र बेमेलमा रमाउने पात्र र प्रवृत्तिको नेतृत्वमा रहेको छ भनेर मान्दा हुन्छ । 


नेपालमा लोकतन्त्र र सुशासनका नाममा सबै राजनीतिक दल तथा व्युरोक्र्याट प्रणाली द्वारा आम करदाता नागरिकलाई शोषण गर्ने ठगी कार्य हुदैछ । यसमा नेपाली काङ्ग्रेसले पुनःविचार, पुनःनिर्माण र पुनःआकारीत गर्न जरुरी छ । यतिका वर्ष भईसक्यो नेपाली काङ्ग्रेसले नेतृत्व गरेको तर खै कहाँ छ न्यायिक र कल्याणकारी राज्य ! काङ्ग्रेस सच्चिनु पर्छ र सच्याईनु पर्छ । काङ्ग्रेस सच्याउनु छ भने काङ्ग्रेस भित्र बसेरै सच्याउनु पर्दछ वास्तवमै ति दाजु ले भने झै ।



लोकतान्त्रमा देवत्वकरण नगरौं

 लोकतान्त्रमा देवत्वकरण नगरौं


एकातर्फ सो कल्ड नेता ले/लाई गलामा माला  लगाईमाग्नु वा लगाईदिनु र अर्को तर्फ आफू समान अधिकार सम्पन्न अर्को मानवलाई वा विशेष अख्तियार प्राप्त व्यक्तित्व ले/लाई हातमा फुलको गुच्छा लिनु वा दिनु दुवै फरक फरक विषय र प्रसंग हुन् । 


एक प्रसंगमा सम्बन्धमा दास र मालिक (रैती)को अन्तरक्रियाको झलक पाईन्छ भने अर्कोमा अधिकार र हैसियतमा समान व्यक्तिलाई शुभकामना आदान प्रदान गरेको सुसंस्कृत सभ्यता झल्किन्छ । आफुले आफैलाई मालिक र रैती नबनाआैं । कोही मानव कोही अर्को मानव भन्दा श्रेष्ठ र निम्न हुदैन अर्थात सबै अधिकार र आत्मसम्मानमा समान हौं । कसैले कसैलाई देवत्वकरण नगरौं । समान हैसियत र सामान्य अवस्थामा पनि यो समाजलाई चलाउन सकिन्छ र चल्छ पनि ।


करदाता नागरिक मालिक हुन् । नागरिक/लोकको सेवा गर्ने ध्येयले अगाडि बढेका नेता/कर्मचारी लाई नोकर (public servent) नै मानौं र सम्बन्धितले स्विकार गरौं, त्यही यथार्थ हो । यहाँ कोही कसैको मालिक हो भने आम नागरिक मालिक हुन् भने यहाँ कोही कसैको सेवक हुन् भने नेता/कर्मचारी हुन् । कोही नेता/कर्मचारी मालिक बन्न नखोजौं साथै करदाता नागरिक दास बन्न नखोजौं ।


विश्व मानव समाजमा अधिकार र आत्मसम्मानमा समानताको वकालत गर्ने पोस्ट लोकतान्त्रिक युगमा यस्ता देवत्वकरण र दानविकरणको असभ्य संस्कृतिको बहिष्कार गरौं ।



मेयर वसंत बस्नेत

 "Development is the process of maximizing positive happiness of the people." (Sociology)


त्रियुगा नगरपालिकाको करदाता नागरिकको दिगो एवं सकारात्मक खुशी वृद्धि गर्न समाज भित्रका केही महत्त्वपूर्ण एवं विविध पक्ष आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरण लगायत विषयमा अनौपचारिक तर संस्थागत छलफल गरियो । 


त्यस मध्य समाजमा बढदो कुलत तथा दुर्व्यसनले समाज तथा परिवार भित्र पर्न गएका विभिन्न असरहरूलाई न्युनिकरण गर्नकालागि साझेदारी कार्यक्रम सञ्चालन गर्ने,  मानव जीवन संग जोडिएको चुरे वन तथा वातावरण संग सम्बन्धित जलस्रोत घटन नदिने, नागरिकको जीविकोपार्जन संग सम्बन्धित कृषि पाकेट क्षेत्र विकास, साथै माहुरी तथा पशुपालन जस्ता विषयमा निकैनै गम्भीर विषय छलफल गरियो । साथै नागरिक तथा नगर क्षेत्रलाई आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक लगायत पक्ष बाट एकआपस बीच सम्बन्ध सद्भाव, पहुँच र आर्थिक वृद्धि जोडन चक्रपथ परिक्रमा सडक पूर्वाधार विकास गर्ने योजनामा पनि निकै गम्भीरतापूर्वक विषय राख्नु भयो नगर प्रमुखले ।


त्रियुगा न.पा कार्यपालिका प्रमुख मेयर श्री वसंत बस्नेत, नेपाली काङ्ग्रेस उदयपुरका जिल्लाकार्यसमिति सदस्य श्री एल.बि. कार्की, सर्वाङ्गीण विकास नेपाल (HD Nepal/Holistic Development Nepal) का वरिष्ठ उपाध्यक्ष श्री शैलेश अधिकारीका साथमा ।



कार्ल मार्क्स मार्क्सवादी हुन् कि साम्यवादी !

 कार्ल मार्क्स मार्क्सवादी हुन् कि साम्यवादी !


कार्ल मार्क्स (Karl Marx) र मार्क्सवाद (Marxism) फरक फरक हो । सामाजिक विज्ञानका दार्शनिक कार्ल मार्क्स व्यक्ति हुन् भने मार्क्सवाद सामाजिक विज्ञान अन्तर्गतको एक थेसिस हो जो समाजको विकास, परिवर्तन र अन्तरक्रियाको अध्ययन गर्ने समाजशास्त्रीय दृष्टिकोणहरूमा द्वन्द्वात्मक दृष्टिकोण (Conflict Perspective)को एकलो शक्तिशाली प्रयाक्सिस सिद्धान्त (Praxis Theory) हो । 


कार्ल मार्क्सको धारणा द्वन्द्वात्मक दृष्टिकोण मार्क्सवाद संग मिल्न/नमिल्न सक्छ । कार्ल मार्क्स मार्क्सवादी हुन पनि सक्छन् नहुन पनि सक्छन् । कार्ल मार्क्सको धारणा व्यक्तिगत हो भने मार्क्सवाद सामाजिक विज्ञान हो । मार्क्सले माक्र्सवाद देख्छन्, बोल्छन्, लेख्छन् र प्रयाक्सिसमा लाग्छन् तर मार्क्सवादले सामाजिक विज्ञान बोल्दछ, माक्र्सवाद बोल्छ । मार्क्सले मार्क्सवादको प्रतिपादन गरेपनि उक्त मार्क्सवाद सबै मानवको साझा बौद्धिक सम्पत्ति हो । 


मार्कसवाद (Marxism) , समाजवाद (Sociolism) र साम्यवाद (Communism) आफैमा फरक फरक भावअर्थ बोकेको सामाजिक विज्ञानका विषय र प्रसंग हुन् । त्यसरी नै मार्कसवादी (Marxist), समाजवादी (Socialist) र साम्यवादी (Communist) पनि फरक फरक उदेश्य तथा ध्येय राख्ने व्यक्ति, समूह वा संस्था हुन । यी सबै एकै भौतिकवाद (Materialism) कित्ताका हुन् तर आफैमा फरक फरक हुन् ।


नेपाली काङ्ग्रेसका बौद्धिक नेतृत्व आदरणीय दाजु श्री दामोदर कोईरालाका साथमा नेपाली काङ्ग्रेस उदयपुरका जिल्ला कार्यसमितिका पदाधिकारी (कोषाध्यक्ष) आदरणीय नाना श्री मौसम राई, नेपाली काङ्ग्रेस मोरङका आदरणीय मितामणी श्री भुवन घिमिरे लगायत हामी ।


यो संसार र समाज दुई भागमा बाडिएको देखिन्छ त्यस मध्य

 यो संसार र समाज दुई भागमा बाडिएको देखिन्छ त्यस मध्य


* पुरूष र नारी

* श्वेत र अश्वेत

* आर्य र अनार्य

* राजा र रैती 

* वर्गीय र वर्णाश्रम

* शासक र शासित 

* पितृसत्ता र नारीदास 

* पुँजीपति र मजदुर

* उच्च वर्ग र निम्न वर्ग

* हुनेखाने र हुदा खाने

* पानी चल्ने र पानी नचल्ने

* गैरमतवाली र मतवाली 

* बिफ खाने र बिफ नखाने

* माँसाहारी र साकाहरी 

* आदर्शवाद र भौतिकवाद 

* देवतावाद र दर्शनवाद

* मूर्ति पुजक र प्रकृति पुजक

* एकल देवतावाद र बहुदेवतावाद

* अन्धश्रद्धा मान्ने र विज्ञान जान्ने 

* साम्राज्यवाद र साम्यवाद

* शक्ति राज्य र तेस्रो मुलुक

* स्वाधीन र परनिर्भर 

* पश्चिमा र पूर्वीय 

* समुन्द्री र भूपरिवेष्ठित

* चोमलुङ्गमा र सागर

* माटो र मरूभूमी

* दफनाउने र पोल्ने 



क्रान्तिकारी प्रेमी

 "क्रान्तिकारी प्रेमी"


हुने खाने र हुदा खाने बीचको

यो गहिरो खाडल पुर्न

म वर्ग संघर्षको तैयारी गर्दैछु ।

हुने खानेको प्रवृत्ति बिरूद्ध

प्रेमले निर्णय गर्न सिकाउ 

र हुदा खानेका लागि करूणामय विद्रोह सिकाउ ।


आउ मलाई प्रेमको स्पर्श वितरण गर

जसले मेरो मानवता जागृत गराओस् ।

त्यही प्रेम र स्पर्शको धङधङीमा

शान्तिपूर्ण वर्ग संघर्ष छेड्न सकौं ।

प्रेमको सचेतनाले क्रान्तिको तैयारी गरौं ।

आउ अभियानमा संगै वर्ग संघर्षको तैयारी गरौं ।



युनाइटेड नेपाल (United Nepal)

 युनाइटेड नेपाल (United Nepal)


पृथ्वीनारायण शाहको अभियान भन्दा अगाडिको बाइसे राज्य र चौबीसी राज्यहरूको मोडललाई केही सुधार गरेर देशलाई पुनःसंरचना सहित अगाडि लानु पर्छ । सबै राज्यहरूलाई सार्वभौमसत्तासम्पन्न हस्तान्तरण गर्नु पर्छ । स्वतन्त्रता तथा भिन्न भिन्न राष्ट्र र राज्यको एकताको अवधारणाको अभ्यासमा जाँदा पनि हुन्छ जस्तै युनाइटेड अरब इमिरेट्स्, रसिया, युनाइटेड स्टेट अफ अमेरिका जसरी । आर्थिक भार थाम्न नसक्ने तर्कले संघीयताको मोडल भार भएको अवस्थामा युनाईटेड नेपालको मोडल पनि एक विकल्प हो ।


संघीयताको मोडल, गणतन्त्रको मोडलले नेपाली नागरिकलाई सम्बोधन गर्न नसकेको वास्तविकता हो । हामी आम नागरिकको सामाजिक सुरक्षा, सामाजिक न्याय, मौलिक हक र मानव अधिकारको प्रत्याभूति गर्न नपाउने, कागजमा मात्र सुरक्षित हो भने अबको विद्रोह यही मोडलमा जान सक्छ वा लानु पर्छ । जन्मसिद्ध अधिकार सम्पन्न एक मानव वा एक नेपाली नागरिकको संयमताको बाध टुटिसक्यो । नेपाली राष्ट्रियता भएका नागरिक मानव हो हैन भनेर राज्यसत्ताले कहिले सम्म छल गर्ने र नागरिकले सहिदिनु पर्ने !


त्यो रातो टोपी, कालो झोला र हेडसेट सुन्दै हिडिरहेको भौतिक शरीरको मस्तिष्कमा रहेको चेतनामा युनाईटेड नेपालको चिन्तनको विषय बनाउने नेपाल सरकारको एक नेपाली पशु प्राणी रूपी नागरिक म (ना.प्र.नं. १४३१९) । (तस्वीरका लागि प्रिय भाइ मनराज प्रति आभार)


वर्ष हैन नयाँ युगको प्रतिक्षामा छौं

 वर्ष हैन नयाँ युगको प्रतिक्षामा छौं 


हामी युग परिवर्तनको प्रतिक्षामा छौं ।

जो कति शताब्दीको एक युग हुन्छ 

त्यो पनि यकिन थाहा छैन ।

सय वर्षको एक शताब्दी 

र यति थाह छ 

तीन पैसठ्ठी दिनको एक वर्ष ।

हामी त्यो समतामुलक समाजको प्रतिक्षामा 

क्रान्तिमा होमिएकाहरूका लागि 

यो तीन पैसठ्ठी सेकेण्डको एक मिनेट झै लाग्ने 

शताब्दीअौं शताब्दी पछिको युगको प्रतिक्षामा छौं ।

किनकि हामी त्यो वर्ग बिहिन युगको प्रतिक्षामा छौं ।


हामी युग परिवर्तनको प्रतिक्षामा छौं ।

आदिम साम्यवादी समाजको त्यो स्वर्णिम युग

कति शताब्दीको युग थियो यकिन थाहा छैन ।

तर अमानवीय दास र कठोर सामन्त 

झेलेर आएको 

अब शोषणकारी पुँजीवाद युग कहिले ढाल्न सकिन्छ 

भन्ने तैयारीमा छौं ।

हो हामी यो पुँजीवाद पछिको 

समाजवाद युगको प्रतिक्षामा छौं ।

हुदा खानेको युग ल्याउछौं र आउँछ ठान्दै

हामी युग परिवर्तनको कठोर प्रतिक्षामा छौं । 


हो हामी वर्ष हैन, शताब्दी हैन

शताब्दीअौं शताब्दी पछिको 

त्यो राज्य बिहिन मानवतावादी समाजको 

प्राप्तिको क्रान्तिमा छौं, 

वर्गीय सचेतना र वर्ग संघर्षमा छौं ।

हामी साम्यवाद युगको प्रतिक्षामा छौं ।

मानव मानव हो 

मानव प्रकृतिको हिस्सा हो भनेर बुझने 

हो त्यो युगको प्रतिक्षामा छौं ।

हामी क्रान्तिकारी युग परिवर्तनको  प्रतिक्षामा छौं । 


तीन पैसठ्ठी सेकेण्डको एक मिनेट झै लाग्ने 

सयौं मिनेटको एक घण्टा लाग्ने घडी लिएर

शताब्दीअौं शताब्दीको एक युगको वर्ष मानेर

अजीबौं गरिब समयको प्रतिक्षामा छौं ।

हो हामी वर्ष हैन, शताब्दी हैन 

शताब्दीअौं शताब्दीको एक वर्ष पछि आउने

त्यो युगको प्रतिक्षामा छौं ।

त्यही न्याय र समतामुलक समाजको युगको 

शुभकामना दिने प्रतिक्षामा छौं ।

तीन पैसठ्ठी दिनको एक वर्ष हैन 

शताब्दअौं पछिको नयाँ युगको प्रतिक्षामा छौं ।

हो हामी युग परिवर्तनको प्रतिक्षामा छौं ।


(आदिम शहर काठमाण्डौको नयाँ वानेश्वर, २०७९/१२/३० बिहिबार)


उनी संग मेरो कुनै लेनदेन छैन न त मित्रता न त दुश्मनी

 उनी संग मेरो कुनै लेनदेन छैन न त मित्रता न त दुश्मनी


 


देवता/इश्वर/प्रभु/अल्लाह लाई देखेको पनि छैन र कुनै एकले दर्शन दिएका पनि छैनन् । उनले मेरो केही नोक्सानी पनि गरेका छैनन् र लाभान्वित पनि बनाएका छैनन् । लिएको दिएको जसको कुनै प्रमाण पनि छैन । भन्नू पर्दा उनी संग मेरो कुनै लेनदेन छैन साथै मित्रता, रिसराग र दुश्मनी पनि । उनी छन् छैन थाहा छैन तर आइडिया अफ गड (Idea of god)का नाममा सताब्दी सताब्दी देखि तर्साउने प्रवृत्ति र तर्सीने चेतना लाई पुनःनिर्माण गर्न जरुरी छ, यही सरोकारको विषय हो । 


हो म ऋणी र आभारी छु ! सूर्य बाट नियमित यो ब्रह्माण्ड, पृथ्वी, माता प्रकृति, प्राणी साथै हरेक मानव देखि । यो जीवन प्रदान गर्ने मानव प्रकृति र चेतना प्रदान गर्ने समाज तथा आज सम्म जे प्राप्त भएको छ त्यसको तथ्य र प्रमाण मानव समाजका सुन्दर चेतना बाहक मानव नै देखिन्छ । त्यसको श्रेय प्रकृति, प्राणी र मानवलाई नै दिनु पर्दछ नकि अप्रमाणीत अरूकोहीलाई । म हजुरहरू प्रति कृतघ्न छु । उनले (देवताले) केही दिएको र खोसेको प्रमाण नभएकोले उनी संग मेरो कुनै लेनदेन, मित्रता र दुश्मनी नभएको स्पष्ट छु । हजुरहरूको हामी प्रतिको मित्रता र भातृत्वलाई सम्मान अनि सलाम ।