मन्दिरमा उनी छैनन्
देवादीदेव महादेव हिजोआज
दुवाई, कतार, साउदी,
बहराइन र मलेसिया गएको छ ।
त्यसैले पशुपतिनाथको दरबारमा
कसैले देख्न भेटन पाएका छैनन् ।
उ त्यहीँ श्रमको ब्यस्ततामा छ
जो नेपालका भक्तजनहरूलाई
रेमिट्यान्स रूपी आशिर्वाद
पठाई रहेका छन् ।
तपाईंलाई थाहा छ छैन
धेरै भयो पशुपतिनाथको दरबारमा
पशुपतिनाथ बस्न छाडेको ।
उनको प्राण र आत्मा त्यहाँ छैन
उनी त हाम्रो प्राणको रक्षार्थ
वैदेशिक श्रमका खातिर
अल्लाहको दरबारमा
जिजसको चर्चमा मजदुरी गर्दैछन् ।
महादेवलाई जहाँ खोज्न जानुहुन्छ
त्यहाँ त धातु र पत्थर मात्र छ ।
जमिनको उर्वरता माटोमा
महादेव
धान, गहुँ, मकै,
कोदो फापर फलाउदैछन् ।
गोठमा दूध दुहुदैछन्
हाम्रो पोषणका लागि ।
हामी तिनको मन्दिरमा गएर खोज्दैछौं
जबकि उनी हाम्रो प्राणका खातिर
पोषण फलाउदैछन् दुहुदैछन् ।
उनी त हाम्रालागि हिलो,
गोबर र माटोमा खेल्दैछन्
अल्लाह र जिजसको दरबारमा
हाम्रालागि दास बनेर
वैदेशिक श्रम मजदुरी गरिरहेका छन् ।
उनी हिजोआज पशुपतिनाथ मन्दिरमा छैनन् ।
उनी धेरै भयो त्यहाँ छैनन् ।
हामीलाई थाहा छ
हाम्रो देवादिदेव महादेव
त्यस स्थानमा छैनन्
तर पनि हामी त्यही जान्छौं ।
किन जान्छौं,
आफुले आफुलाई कहिले सोधेनौं ।
२४ जनवरी २०२३, काठमाण्डौ

No comments:
Post a Comment