विविधता अभिशाप हैन वरदान हो
विविधता बीचको एकता (Unity in Diversity) भड्काउने वा खलल पुर्याउने राजनीतिक दल वा प्रतिक्रियावादी दलाल देखि सावधान । विगत लामो समय देखि बाँचदाको जन्ती र मर्दाको मलामीको व्यवहार र सम्बन्ध भएको हामी बीचको एकता र सद्भाव कमजोर पार्न खोजिदैछ । हामी भोको र भूँइमान्छेको सामाजिक सुरक्षा र सामाजिक न्याय साथै जन्मसिद्ध नैसर्गिक हक अधिकारको विषय र मुद्दा बाट हामीलाई भड्काईदैछ । यो विषय हामी सबै जात, जाति, भाषा, धर्म, रंग, भूगोल र लिङ्गका हाम्रो वर्गले बुझ्न जरुरी छ । वर्तमानमा जे हुदैछ त्यो प्रतिक्रियावादी शासक वर्गले हामी बीचको सद्भाव र एकता "फुटाउ र शासन गर" (Divide and Rule) को नीति अपनाई रहेको देखिन्छ । यस्तो अवस्थामा हामी सबै भोको र भूंइमान्छहरू जुनसुकै जात-जाति, धर्म, भूगोलको पहिचानको भएपनि क्षणिक खुशी र गहिरो दुःखको उत्तेजनामा नभई संयमित हुनु पर्दछ । हाम्रो खुशी र दुःखमा वा जन्ती र मलामीमा ती सत्ताको कुलतमा फँसेका र शक्तिले मातेका कुनै पनि निश्चित शासक पात्र र प्रवृत्ति आउने वाला छैनन् । किनकि त्यो पात्र र प्रवृत्तिलाई सिंहदरबारको बेसुर नशाले उन्मत्त बनाएको हुन्छ ।
एक अर्काको सुख र दुःखमा हाम्रो वर्गका छिमेकी, गाँउले त्यहीँ रहेको हिन्दु वर्णाश्रमले मानेको कथित व्राह्मण, क्षेत्री, वैश्य र शुद्र वा पहिचानको आधारमा खस-आर्य वा अन्य कुनै मधेसी, महिला वा जाति-जनजाति आउने छन् नकि सत्ता र शक्ति केन्द्र सिंहदरबारमा रहने तथा व्यवस्थापिका, कार्यपालिका वा न्यायपालिकाको चक्कर लगाउने अख्तियारवाला कुनै पात्र वा प्रवृत्ति आउने छैन । त्यसैले राजनीतिका नाममा हामी भोको र भूंइमान्छे बीच रहेको गहिरो सद्भाव र एकता भड्काई रहेको वा खलल पारिरहेको वा हाम्रो विषय र मुद्दा बाट हामीलाई नै बिचलित बनाईरहेको मुख्य विषय र प्रसंगलाई ध्यानमा राख्न जरुरी छ । हाम्रो सुख र खुशीमा सहभागी हुने र दुःख र पिडामा गहिरो समवेदना प्रकट गर्ने एकआपस बीचको एकताको मर्म र भावनाको केन्द्रलाई हामी सबैले बुझ्न र बुझाउन जरुरी छ । विविधता श्राप नभई वरदान हो जस बीचको एकता हाम्रो बल हो । वर्तमान राजनीति क्रियाकलाप र अभ्यासको ध्येय त्यसो नहुनु पर्ने हो तर पूँजीवादी पक्षपोषक स्वार्थ समुहले विविधता बीचको एकतालाई विखण्डन र द्वन्दमा धकेलेर आफू सधैं सत्ता र शक्तिमा रहिरहने कूटिल चाल गरिरहेको हो भन्ने विषय बुझ्नु पर्दछ ।
प्रदेशको नामाङ्कनको विषय र मुद्दालाई लिएर नेपाली समाजमा पक्ष विपक्षमा देखिएको क्षणिक खुशी र दर्दको उत्तेजनाले समाजलाई लामो र गहिरो द्वन्द वा विचलनमा लादै गरेको अनुमान सजिलै लगाउन सकिन्छ । कुनै निश्चित नामाङ्कनले खुशी हुने पक्षको शिक्षा, स्वास्थ, रोजगारका हकमा वा सामाजिक सुरक्षा र न्यायले न त छानीछानी डेरा जमाएर बस्छ न त उसको सुख दुःखमा ती नामाङ्कन गर्ने स्वार्थ पात्र वा समुह जन्ती आउछन् नत मलामी नै । अर्को तर्फ नामाङ्कनको सवालमा रहेका पहिचानको संघर्षमा रहेका पहिचानवादीहरूको त्यो आदिम पहिचान र महान सभ्यता गुमेको थियो न त गुम्नेनै छ । यो हर्ष र विष्मतको समय नभई संयमता र बौद्धिकताको परिक्षाको घडी हो । कसैको भावनामा ठेस पुग्दै गरेको माथि हाँस्ने रमाउने प्रवृत्ति हाम्रो वर्ग तथा सामाजिक एकता र सद्भावकालागि अत्यधिक हानिकारक रहेको बुझ्न जरुरी छ । एकता, सद्भाव, न्यायिक चेतना र संस्कृति हामी मानवको पहिचान हो भन्ने मूल ध्येय देखि विचलित हुनुहुदैन । यस राजनीतिक तिकडमको खेल हामी भोको र भूंइमान्छे फुटाउ र राज गर को सिकार बनाउने कूटिल चालको अवस्थालाई बुझेर विविधता बीचको एकता प्रदर्शन गर्ने अवसरको रूपमा परिणत गर्न सक्नु पर्दछ ।
प्रदेशको नामांकनको सवालमा पहिचान पक्ष र विपक्षको नभई प्रतिक्रियावादी शासक वर्गको हामी भोको र भूंइमान्छे फुटाउने र शासन गर्ने पात्र तथा प्रवृत्तिको स्वार्थ समूहको नियत हो । आफ्नो वर्गीय पहिचान र लोकेशनको केन्द्र बाट भड्काउन खोज्ने यस्ता क्रियाकलाप बाट कत्ति पनि प्रभावित, विचलित नभई आफ्नो वास्तविक विषय र मुद्दाको केन्द्रमा एक र सचेत भएर रहन सक्नु पर्दछ । भोको र भूंइमान्छेको एकता नै न्यायिक समाज निर्माणकालागि बल हो । विविधता बीचको एकता र सद्भाव नै शान्ति, विकास र समृद्धिको मूल आधार हो । विविधता बीचको एकता कायम राखौं । भोको र भूंइमान्छे हुनु र समाजमा जात, जाति, भाषा, धर्म, लिङ्ग र भूगोलको आधारमा पहिचानमा विविधता हुनु अभिशाप हैन वरदान हो भन्ने बुझौं, स्विकारौं र बुझाअौं ।
विविधता बीचको एकता र सद्भाव अमर रहोस् ।

No comments:
Post a Comment