Sunday, July 24, 2022

बालेन, हर्क र गोपीहरू लोकतान्त्रिक कि गैरराजनीतिकरणका अगुवा !

बालेन, हर्क र गोपीहरू लोकतान्त्रिक कि गैरराजनीतिकरणका अगुवा !


राज्य, राष्ट्र र समाजलाई गैरराजनीतिकरण (Depoliticization) गर्नु समस्याको दिगो समाधान कदापि हैन । विश्व व्यवस्थाले सृजना गरेको अन्याय र असमानता न्यूनिकरण गर्न साथै त्यस विरूद्धको कदमचाल निर्विकल्प राजनीतिले मात्र संभव छ । 


राज्य एक संस्था हो । संस्था संग त्यसको आफ्नो विधान हुन्छ । त्यही विधान हो संविधान । त्यस संस्थाका सदस्यहरू हुन नागरिक । नागरिक नै राष्ट्र हुन् । त्यही राज्य र राष्ट्रको समग्र रूप हो नेपाली समाज ।


त्यही नेपाली समाजले आफ्नो सिमा क्षेत्र भित्र रहेर पहिचानकालागि अन्तर्राष्ट्रिय मापदण्डमा रहेर आफुलाई विश्वसामु संस्थागत गराउदछ । तब मात्र एक देश, देश कहलिन्छ, एक समाज, समाज कहलिन्छ, एक राज्य, राज्य कहलिन्छ जब वैधानिक संस्था कहलिन्छ । 


समाजका सदस्यहरूले संस्था निर्माण गर्छन् । संस्थालाई जीवन्त राख्न र संचालनकालागि आम सहमति बाट विधि विधान निर्माण गरिन्छ । जुन विधविधानले साझा उदेश्य हासिल गर्न संस्थाको प्रणाली मार्फत योजना र कार्यान्वयनको खाका कोर्दछ । त्यही विधानले  सदस्यहरूको काम, कर्तव्य र अधिकार पनि सुनिश्चित गर्दछ । 


लोकतान्त्रिक विधान निर्माण गरे उच्च लोकतान्त्रिक अभ्यास गर्न पाउने हुन्छ त्यस राज्यका नागरिक सदस्यहरूले । "धर्मो रक्षति रक्षितः" ले बोकेको भावअर्थ झै धर्मलाई हामीले रक्षा गरे धर्मले हाम्रो रक्षा गर्ने छ भने जस्तै हामीले लोकतन्त्रको रक्षा गरे लोकतन्त्रले हाम्रो रक्षा गर्नेमा कुनै संका छैन । त्यही लोकतान्त्रिक अभ्यास रहयो स्थानिय तह निर्वाचन २०८९ । 


स्वतन्त्रता हरेक मानवको अधिकार हो । लोकतान्त्रिक विधि प्रकृयाले नै कुनै व्यक्तिलाई मुक्तिको आभाष दिलाउन सक्छ । नेपालमा त्यही अधिकारको सुरक्षा र स्वतन्त्रताको निश्चिता गर्ने साथै मुक्तिको आभाष दिलाउने एक राजनीतिक संस्था नेपाली काङ्ग्रेस हो । 


यस स्थानिय तह निर्वाचन २०८९ मा विभिन्न स्थानमा विभिन्न एकल व्यक्तिको स्वतन्त्र उमेद्वारी वा संगठनले गरेको निर्णय विरूद्ध गरेको वागी उमेदवारीको बिद्रोह प्रति सम्मान व्यक्त गर्नु पर्दछ लोकतान्त्रिक दलले । नेपाली काङ्ग्रेसले बोकेको लोकतान्त्रिक आदर्श, मूल्य, मान्यता संस्थागत नारा मात्र नभई त्यो लोकतन्त्र हरेक व्यक्तिले अभ्यास गर्नु पर्ने र आत्मसात गर्ने प्रवृत्ति, नैतिकता, आचरण र अनुशासन पनि हो । 


समाज र राज्य भित्र त्यसै संग सम्बन्धित बाहुल्य सदस्यहरूको मर्म र भावनालाई सम्मान गर्दै यस निर्वाचनमा नागरिकले स्वतन्त्र उमेदवारी र मतदानको अभ्यास पनि लोकतान्त्रिक आदर्शले निश्चितता गरेको हक अधिकार र मर्यादा हो । यस्ता लोकतान्त्रिक अभ्यास र क्रियाकलापमा हरेक नागरिक सदस्यहरूको साथ, समर्थन र हौसला बन्न सक्नु पर्दछ नेपाली काङ्ग्रेस । 


लोकतान्त्रिक अभ्यासमा विश्वास राख्ने त्यस्ता हरेक नागरिक लोकतान्त्रिक हुन् साथै जो लोकतन्त्रमा विश्वास राख्दछन् तिनको आत्मसम्मान र गौरवको रक्षा गर्नु सक्नु पर्दछ नेपाली काङ्ग्रेस ले । त्यसता विजयी पराजयी स्वतन्त्र र वागी सबै उमेद्वारलाई नेपाली काङ्ग्रेसले सकारात्मक अभिव्यक्ति दिदै बधाई तथा स्वागत गर्न सक्नु पर्दछ । 


समाज, राज्य र राष्ट्रलाई गैर-राजनीतिकरण हुन बाट रोक्न सक्नु पर्दछ । सामज, राज्य र राष्ट्रलाई गैरराजनीतिकरणको अभ्यास प्रतिको आकर्षण र मानसिकता बाट निकाल्न सक्नु पर्दछ । त्यसकालागि नेपाली काङ्ग्रेसले सत्ता र शक्तिका लागि भन्दा पनि जनता जनार्दन नागरिकको धन, मान, प्राण र गौरवको सुरक्षार्थ प्रधान हो भन्ने विचार, नैतिकता र व्यवहार प्रस्तुत गर्नु पर्दछ । 


समाजमा गैरराजनीतिकरण प्रतिको विश्वास हाम्रो वा राजनीतिक अकर्मण्यता र कमीकमजोरीका कारणले होईन भनेर पानी माथिको अोबानो बन्न खोज्नु हुदैन । जिम्मेवारी लिएर राजनीतिलाई गैरराजनीतिकरण हुन बाट रोक्न सक्नु पर्दछ ।  किनकि लोकतन्त्रमा राजनीति नै सबै समस्याको समाधान हो भन्ने आभाष दिलाउन सक्नु पर्दछ अङ्ग्रेजीमा एउटा भनाई पनि रहेको छ  "Politics is the master key for all locks" भने जस्तै । 


विश्व समाजमा चलिरहेको विश्व व्यवस्थाले अभ्यास गरिरहेको अन्याय र असमानता विरूद्ध आफ्नो कदमचालमा पनि एक विश्वव्यापी मान्यता प्राप्त राजनीतिक राज्य हुनु पर्ने कुरा बाट कसैलाई विमुख बनाईनु हुदैन । त्यसैकालागि पनि नेपाली काङ्ग्रेसले हरेक स्वतन्त्र उमेद्वारीको जिम्मा लिन सक्नु पर्दछ । 


लोकतान्त्रिक प्रक्रियाबाट, लोकतन्त्रको गर्भमा विकसित भई जन्मदिईएका बालेन, हर्क र गोपीहरू लोकतान्त्रिक वंश र नश्लका हुन् भन्ने आभाष दिलाउन सक्नु पर्दछ । साथै पूर्ण साथ, समर्थन र जिम्मेवारी लिएर राजनीतिक उदारता एवं  गैरराजनीतिकरण प्रतिको विश्वास र चेतनालाई निस्तेज पार्नसक्नु पर्दछ ।


लोकतान्त्रिक हर्क, बालेन र गोपालहरूलाई हार्दिक बाधाई तथा शुभ कार्यकालको शुभकामना ! साथै लोकतन्त्रमा विश्वास राखी, शक्तिशाली मतको क्षेप्यस्त्र प्रक्षेपण गरेर नोकरशाही र राजनीतिक दादागिरी विरूद्ध बिस्फोटनको शक्ति प्रदर्शन गरिरहने न्यायप्रेमी नागरिक मतदाताहरूमा कोटीकोटी नमन ।


जिल्ला कार्यसमिति सदस्य

नेपाली काङ्ग्रेस, उदयपुर


No comments:

Post a Comment