Sunday, July 24, 2022

एन्टी क्यापिटलिस्टको चेतना र एकता

 एन्टी क्यापिटलिस्टको चेतना र एकता



विश्वसमाजमा वर्गको अस्तित्व कोरल चट्टान (Coral Reef) झै दिर्घायुको रहेको छ । हिजो पनि थियो, आज पनि छ र मानव चेतनाले जबसम्म संरक्षण गरिरहनेछौं तबसम्म त्यसको अस्तित्व रहिरहनेछ । वर्गीय निर्धारण आर्थिक आधारमा मात्र नभई अन्य सामाजिक विविधता जस्तै रंग, वर्ण, धर्म, लिङ्ग, पद, स्थान लगायतका आधारमा पनि वर्ग निर्माण, पुन:निर्माण भएको नवमार्क्सवादी समाजशास्त्रीय अध्ययनमा पाउन सकिन्छ ।


वर्गले सृजना गरेको वर्गीय असमानता ढाकछोप गर्नकालागि समाजलाई रंग, वर्ण, धर्म र लिङ्गका विषय मुद्दामा डाईभर्ट गरेर स्वार्थ समूह र वर्गले आफ्नो लाभ उठाईरहेको पाउन सकिन्छ । अर्को तर्फ समाज, समय र भूगोल अनुसार त्यही रंग, वर्ण, धर्म, लैङ्गिक, स्थानका आधार बाट पनि वर्ग निर्माण भईरहेको पक्षमा नवमाक्रसवादीको तर्क छ नकी आर्थिक र भौतिक पहुँचको आधारमा मात्र । त्यसैले समाजको गहिरो अध्ययनकालागि र वास्तविक परिस्थिति बुझ्नकालागि समाजशास्त्रीय दृष्टिकोणको महत्व छ ।


मुख्यतः हामीले समाजलाई वर्गीय आधारमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने गर्नु पर्दछ, यश दृष्टिकोणलाई नजरअन्दाज गर्नै मिल्दैन । जसले वर्गीय व्यवस्थामा चलिरहेको समाजलाई न्यायिक समाज निर्माण गर्ने तर्फ उन्मुख गराउन जरुरी छ । रंग, वर्ण, धर्म, लैङ्गिक विषयमा भूल्याएर वास्तविक  चेतनामा आउन नदिन त्यस विज्ञान तथा प्रविधि, धार्मिक र पितृसत्तात्मक संस्थाको आडमा उदण्ड पूँजीवादले खेल खेलिरहेको प्रमाणको खोज गर्न जरुरी छ । वास्तविक चेतनाको अवस्थाले मात्र त्यो पितृसत्तात्मक पूँजीवाद ढाल्न सक्दछ ।


कम्युनिष्ट, समाजवादी , अथवा लोकतान्त्रिक समाजवादी जुनसुकै राजनैतिक दलका नाममा फरक फरक संघर्ष र संस्कृति रहेपनि हामी सबै न्यायप्रेमी र गैरपूँजीवादी पक्षधर नै हौं । त्यसैले ती सबै राजनैतिक दलको प्रयास र अभ्यास पूँजीवादलाई कमजोर बनाउदै ढाल्न तर्फको हुनु पर्दछ । तर आफू पवित्र सम्यवादी हुन् अन्य दललाई पूँजीवादी प्रमाणीत गर्ने खेल साथै एकआपस बिचको यो हर्कत असामाजिक र निच प्रवृत्ति हो । पूँजीवाद कुनै निश्चित दलले जन्म दिएको पनि हैन, र न कुनै राजनैतिक दल उदण्ड र अन्यायिक पूँजीवादको संरक्षक हो । साथै कुनै एक दलले समाजवाद वा साम्यवाद ल्याउन सकिन्छ भनेर कल्पना गर्नु आफुले आफुलाई ढाँटनु मात्र नभई अन्यलाई ठग्नु पनि हो । त्यसैले राजनीति कसैले पेवा र पेशा ठान्न र बन्न दिनु हुदैन ।


विश्वसमाजमा केही निश्चित र अम्लामा गन्न सकिने पूँजीपति वर्गले पूँजीवादलाई पालन, पोषण र संरक्षण गरेर व्रह्माण्डमा राज गर्न खोजीरहेको छ । यस्तो अवस्थामा पनि आफुलाई मानव ठान्ने विभेदित र शोषित मानवहरू एक हुन सकेका छैनौं । त्यसैले आफ्नो वर्गीय स्थान पहिचान गर्दै वास्तविक चेतनामा आउदै ल्याउदै न्यायिक समाज स्थापनाकालागि एक हुन जरूरी छ । नेपाली समाज जस्ता पिछडिएको समाज आफू आफुबिच विभाजित हुनुले न्यायीक समाजको जन्मलाई अझ पछाडि धकेल्नु हो । हामी मानवको वर्तमान अवस्थाको कारक र समृद्धिको बाधक भाग्यवाद, कर्मफलवाद जस्ता अन्धविश्वास नै मुख्य शत्रु हो जसलाई हामीले चेतनामा पालेर पोषेर राखेका छौं ।


हामी मानवको चेतनाको स्तरले सृजना गरेको विभाजन प्रवृत्ति नेपाली समाजको मात्र नभई विश्व समाजकै समस्या हो । जो न्यायिक र समतामूलक विश्व समाज निर्माणको बाधक बनेको देखिन्छ । पूँजीवाद विरोधी (Anti Capitalist) व्यक्ति, समूह र दलहरूको योजना चेतना र एकता नै हो पूँजीवाद ढाल्ने शक्ति जो हामी सबैले मनन् गर्ने बेला आईसकेको छ । पिढीदर पिढी एऊटै समस्या, अभाव र गरिबी, सामाजिक न्याय र सुरक्षाको असमान वितरण, मौलिकहक र मानवअधिकार बाट वञ्चित मानव भाग्य नभई भौतिक माथिको असमान वितरणले सृजीत वर्गीय सृजना हो भन्ने बुझ्न जरुरी छ ।

No comments:

Post a Comment