Sunday, July 28, 2024

देवतावादको अवसान (Demise of Divinism)



 देवतावादको अवसान (Demise of Divinism)


विश्वसमाजलाई संकटमा पार्ने देवतावादमा संकट र चुनौती बढन थालेको देखिन्छ । देवतावाद जति जति सलबलाउछ र जति सक्रिय हुन्छ त्यतिनै त्यसको अवसानको उल्टो दिनगन्तिको वेग बढदो हुन्छ । समाजले देवतावादलाई विकृत (Deform) र विनिर्माण (Deconstruct) गर्ने प्रक्रिया दिनप्रतिदिन बढदो देखिन्छ । यसको मुख्य कारक स्वयं देवतावाद नै हो । संख्यात्मक बाट गुणात्मक परिवर्तन गर्न नसक्ने द्वन्द्ववादी नियमको पालना नगर्नु यसको अवसान (Demise)को कारक हुन सक्छ ।


प्राकृतिक विज्ञानको नियम रहेको छ कि हरेक कुरा परिवर्तनशिल र गतिशील छ । त्यसरी नै गौतम बुद्धले भनेका छन् "सब्बे संखारा अनिच्चा" अर्थात सबै कुरा अस्थायी छ (Everything is impermanent)। त्यसरी नै समाजशास्त्रीय सैद्धान्तिक दृष्टिकोण (Sociological Theoretical Perspective) अनुसार समाजको परिवर्तनको आफ्नो नियम रहेको हुन्छ भनेर मान्दछ र हरेक संरचनाको उदय र अवसान हुन्छ भन्दछ । मानव समाजमा निश्चित ऐतिहासिक कालखण्डमा निश्चित कारणले सामाजिक संरचना र मूल्यमान्यताको जन्म हुन्छ र ढिलो चाँडो त्यसको अन्त्य हुन्छ भनेर वकालत गर्दछ । सोही नियमलाई आधार मान्ने हो भने त्यो देवतावाद (Divinism) को जन्म भयो र अवशान पनि हुने निश्चित देखिन्छ । 


देवतावादको अवसानको कारक स्वयं देवतावाद नै हुनेछ । देवतावादमा रहेको गुण साथै तथ्य र प्रमाणले भरिएको विज्ञानको मात्राले यसको आयु निर्धारण गर्ने हुन्छ । संख्यात्मक (Quantitative) बाट गुणात्मक परिवर्तन (Qualitative change) गर्न सक्ने द्वन्द्ववादको नियम (Hegel; Law of Dialectical) को पालना गर्न सकेन भने त्यस संरचनाको अन्त्य निश्चित हुन्छ भन्दछ ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद (Historical Dialectical Materialism) अर्थात मार्क्सवादले । देवतावादले स्वयंलाई गुणात्मक परिवर्तन भन्दा अव्यहारिक, अवैज्ञानिक र भड्किलो अभ्यास गर्नु नै यसको अवसानको कारक बन्ने छ ।


जसरी सामन्तवादको गर्भबाट पुँजीवाद (Capitalism)को जन्म भयो त्यस जन्म सँग पुँजीवादले स्वयंको विनासको चरित्र र समय पनि निर्धारित गरिसकेको हुन्छ । अर्थात पुँजीवादको अवसानको कारक स्वयं हो भनेको छ मार्क्सवाद (Marxism)ले । त्यसरी नै देवतावादको जन्म सँगै यसले आफ्नो अवसानको कारक स्वयं हो भनेर पूर्व तय छ मान्न सकिन्छ । देवतावादलाई भौतिकवादी (Materialism) दर्शन शत्रु हो भन्ने भ्रमको चेतना हुन्छ तर देवतावदको मुख्य शत्रु देवतावाद नै हो । देवतावदले गुणात्मक परिवर्तन भन्दा संख्यात्मक वृद्धिमा भ्रमको विश्वास राख्नु यसको अवसानको कारक बन्दछ । संख्यात्मक वृद्धि अस्थायी हो भने गुणात्मक वृद्धि दिगो विकास हुनसक्छ भन्ने पक्षमा कार्य नगर्नु सिघ्र अवसानको कारक बन्दछ ।


यदि कोही मानव देवतावदी कित्तामा छौँ र त्यस देवतावादको आयु लम्ब्याउनु छ भन्ने लाग्दछ भने देवतावादलाई गुणात्मक परिवर्तनमा लान सक्नु पर्दछ जो व्यवहारिक, वैज्ञानिक, मानवतावदी र कारूणीक गुणहरूले भरिपूर्ण बनाउने पहिलो र अनिवार्य सर्त हुनु पर्दछ । देवतावादको मुख्य शत्रु देवतावाद भित्र रहेको गुणको मात्रा हो नकि भौतिकवाद । देवतावादले भौतिकवादलाई शत्रु देख्नु भ्रमको चेतना (False consciousness) हो । देवतावादको शत्रु देवतावद नै हो भनेर बुझ्न सक्नु पर्दछ । देवतावादको अवसान निश्चित छ जसरी पुँजीवादको अवसान छ । जसरी पुँजीवादको अवसानको कारक त्यही पुँजीवादको उदण्ड चरित्र र भ्रमको चेतना हो त्यसरी नै देवतावादको अवसानको कारक स्वयं देवतावाद नै हो साथै त्यही देवतावादको अवैज्ञानिक, अव्यवहारिक व्याख्या र चरित्र साथै भ्रमको चेतना हो भनेर खोज गर्न सक्नु पर्दछ ।


No comments:

Post a Comment