Sunday, July 28, 2024

पितृसतात्मक समाजको बौद्धिकता

 


पितृसतात्मक समाजको बौद्धिकता


धार्मिक पितृसत्तात्मक नश्लिय सामन्तवादी समाजको उपज हो वर्तमान समाज । समाजमा घटिरहेका त्यस्ता हरेक घटना तथा त्यसको परिणामका कारक भनेको "सतीले श्राप दिएको" भन्ने भाष्य निर्माण र स्थापित गर्न खोजीएको छ । सतीले श्राप वा वरदान दिएका कारणले नेपाली समाजको विकास र समृद्धि निर्धारण हुने/नहुने भन्ने कतै कसैले प्रमाणित गर्न सक्ने छैन । तर नेपाली समाजको हकमा सतीले श्राप दिएका कारण हो भन्ने अप्रासंगिक, असामाजिक, अन्धविश्वासी र अवैज्ञानिक भाष्य निर्माण गरिएको छ र अझ गरिदैछ । 


धार्मिक पितृसत्तात्मक नश्लिय सामन्तवादी समाजका शासक वर्गले निर्माण गरेका यस्ता धेरै भाष्यहरू छन् जसले वर्तमानका धार्मिक पितृसतात्मक जातिवादी दलाल पुँजीवादका शासक तथा उच्च वर्गले पनि निजी तथा सामुहिक स्वार्थ पूर्ति गरिरहेका छन् आज पनि । यो भौतिक जगतमा रहेको मानव समाज तथा यसको विकास, परिवर्तन, निरंतरता, सम्बन्ध एवं अन्तरक्रियाका कारणले उक्त समाजको वर्तमान र भविष्य तथा परिणाम निर्धारण हुन्छ भन्ने समाजशास्त्र तथा त्यसको विज्ञान तथा तथ्य र प्रमाण सँग जोड्न, खोज्न, चिन्तन र अध्ययन गर्न सक्नु पर्दछ । 


"सतीले श्राप" दिएको भन्ने जस्ता अवैज्ञानिक भाष्यलाई उत्तर आधुनिक समाजमा वा पुँजीवादी समाजमा त्यस्ता विषय वा प्रसँगलाई समर्थन, प्रचार र अन्तरक्रिया गर्नु भनेको फेरि पनि धार्मिक पितृसतात्मक जातिवादी दलाल पुँजीवादलाई पुनःस्थापना गर्नु हो । अन्धविश्वासलाई समाजमा आश्रय दिनु, समर्थन गर्नु वा प्रचार गर्नु पनि हो । जब त्यो समाजका बौद्धिक तथा अगुवाले यस्ता धार्मिक पितृसतात्मक नश्लिय सामन्तवादी चिन्तन, भाषा, अभ्यास र अन्तर्क्रिया गर्दछ भने उक्त समाज अन्धविश्वासी समाज हो भन्ने स्पष्ट प्रमाणित हुन्छ । 


त्यस्तै तर्क, तथ्य, प्रमाण र विज्ञान नभएको अन्धविश्वासी, भाग्यवादी, कर्मफलवादी तथा पितृसतात्मक सामन्ती शासक वर्ग द्वारा निर्मित भाष्यको प्रयोगलाई अन्धश्रद्धालु एवं पितृसत्तात्मक समाजले बौद्धिकताको मान्यता दिएको हुन्छ साथै कथित बौद्धिकले पनि सोही भाषाको प्रयोग गरेर अन्तरक्रिया गरिरहेको हुन्छ । आदर्शवादी एवं प्रतिक्रियावादी प्रवृत्ति भएका बौद्धिकहरूले समाजमा त्यो शासक तथा उच्च वर्गको निरंतरताकालागि वकालत गरिरहन्छ । आदर्शवादले एक आदर्श, कथा वा भाष्य निर्माण गरेर सामाजिक संरचनामा रहेका वर्गीय खाडल ढाकछोप गर्ने गर्दछन् भन्ने आलोचना गर्दछ द्वन्द्वात्मक भौतिकवाद पक्षधरहरूले ।


अर्को तर्फ द्वन्द्वात्मक भौतिकवादी चिन्तक पक्षधरहरू उक्त आदर्श, कथा र भाष्यहरूमा त्यो शासक तथा उच्च वर्गको हितमा कार्य गरिरहेको हुन्छ भन्ने बुझ्न सक्दछन् र त्यस्ता सामन्ती भाष्यलाई विनिर्माण गर्न खोज्दछ । त्यसैले हुन सक्छ द्वन्द्वात्मक भौतिकवादी दार्शनका चिन्तकहरूले सामन्तवादी समाजका त्यस्ता भाष्यहरूमा कुन वर्गकालागि वर्गीय लाभ हुदैछ भन्ने खोज गर्न सक्नु पर्दछ भन्दछन् कार्ल मार्क्स ।  (अप्प दिपो भवः। बुद्ध)

No comments:

Post a Comment