Tuesday, July 30, 2024

मुक्ति मार्गका एजेन्ट र ट्राभल ऐजेन्सी

 मुक्ति मार्गका एजेन्ट र ट्राभल ऐजेन्सी



पिडानुभूति सचेतना तर्फको मुख्य मार्ग हो । स्लेबस्ड प्रज्ञा त्यस मार्गमा गुड्ने साधन हुन् । लामो समय सम्म निरंतर अभ्यास र चिन्तन भनेको सचेतनाको मुख्य द्वार भित्र प्रवेश गर्ने आधार हो । सचेतनाको त्यस आध्यात्मिक संसार भित्र प्रवेश गरिसकेका बुद्धहरूको त्यस पथमार्गमा अहिले सम्म धेरै चेतनाउन्मुख पात्रहरूको त्यो यात्र जारी रहेको छ । तर नक्कली मार्ग निर्माण गरेर आध्यात्मिक संसारमा पुग्न सकिन्छ भनेर ट्राभल एजेन्सी खोलेर व्यापार गर्ने त्यस्ता दलालहरूको पसलमा तुलनात्मक हिसाबमा भिडभाड निकै बाक्लो देखिन्छ । सक्कली र नक्कली मार्गको पहिचान गर्नु पनि सचेतना हो त्यतिकालागि पनि विचार, वचन र व्यवहारमा ऐक्यबद्धता वा एकता निर्माण गर्न लामो समय संघर्ष गर्नु पर्ने रहेछ स्वयं सँग । 


नर्क देखि स्वर्ग पुर्याईदिने, वैतरणी तारिदिने, मुक्ति दिलाईदिने, पापहरण गरिदिने, आत्माको शान्ति स्थापना गराईदिने, मृतकलाई लागेको भोक, प्यास र जाडो छलिदिने ग्यारेन्टी गर्ने दलाल र तिनका ट्राभल एजेन्सीले लुटिरहेको र लाभ लिदै गरेको बुझ्न् पनि पुस्तौं पुस्ता लाग्ने रहेछ । कहिले सम्म त्यस्ता नक्कली एजेन्सी र एजेन्टहरू बाट ठगिने भनेर स्वयं सँग प्रश्न गरिरहन्छौँ ! यस्ता ठगहरूले योजनाबद्ध ढङ्गले मानवको सृजनात्मक क्षमतालाई प्रेत चिन्तन तर्फ उन्मुख गराई रहेको हामीले कहिले बुझ्ने ! यस्ता दलालले तर्साई राख्न चाहान्छन् तर हामी कहिले सम्म डराई रहने भन्ने प्रश्न स्वयंलाई गर्दछौँ ।


समाजले बिजारोपण गरिदिएको त्यो संस्कृतिको पीडा बाट मुक्ति दिलाउने पहिलो र एकमात्र आफू हो । त्यसैले दार्शनिक र वैज्ञानिक अध्ययन र चिन्तन जस्तै वाद, प्रतिवाद र संवादको प्रक्रिया रहेको द्वन्द्वात्मक आदर्शवादको सिद्धान्तका माध्यम बाट स्वयंको विनिर्माण र पुनःनिर्माण को विकल्प नरहेको स्वयंले बुझ्न र स्वयंलाई बुझाउन जरुरी छ । त्यसैले बुद्धले पनि भनेका छन् "अप्प दिपो भव:।" अर्थात आफ्नो चेतनाको ज्योति स्वयंले बाल वा बन भन्ने लाग्दछ जो बुद्धको अन्तिम उपदेश हो ।  बुद्धको यो वाक्यांश भित्र हेगेलको त्यो द्वन्द्वात्मक आदर्शवाद (Dialectical Idealism)को मुख्य प्रक्रिया जस्तै वाद - प्रतिवाद - संवाद (Thesis - Antithesis - Synthesis) रहेको स्पष्ट हुन्छ । स्वयंलाई सचेतना तर्फ उन्मुख गर्ने र आध्यात्मिकता तर्फ लाने अल्फा एण्ड अोमेगा (Alpha and omega) मन्त्र भनेको नै यही हुन सक्छ ।


भाग्यवाद, कर्मफलवाद, स्वर्ग, नर्क, वैतरणी, पाप, धर्म, मुक्ति लगायत आध्यात्मिकता प्राप्त गर्न सकिन्छ भनेर खोलिएको त्यो ट्राभल एजेन्सी र त्यसका दलालहरू देखि सावधान । स्वयंमा भएको अन्धविश्वासलाई न्यूनिकरण गर्दै लानु नै सचेतना तर्फको यात्राको प्रारम्भ हुन सक्छ । यस भौतिक जगतमा चेतनाको हकमा न त आफुले अरूलाई, न त कसैले कसैलाई केही गर्न सक्दछ । जे जे गर्ने हो त्यो स्वयंले स्वयंलाई गर्ने हो । बुद्धलाई ज्ञानी मान्ने हो भने त्यस्ता देवतावाद र देवता देखेको भेटेको प्रसंग कतै गर्नु भएको छैन होला ।

No comments:

Post a Comment