Monday, April 4, 2022

आध्यात्म र अन्धविश्वास

 मानवको चेतनामा कति सम्मको गुणस्तरको सम्भावना रहेको हुन्छ भन्ने मानवतावादको एक समर्पणको उदाहरण हो निम्न तस्बिर । 


आध्यात्मवादले वकालत गर्ने आध्यात्मिकताको अभ्यास मानवले जब गर्न सक्दछ तब मात्र जीवमा सर्वश्रेष्ठ प्राणी कहलिन्छ । जीव जलचर मध्यमा मानवले आफुलाई सर्वश्रेष्ठ प्राणी सावित गर्ने विधि पद्धति हो आध्यात्मवाद । अन्धविश्वास आफैमा लालची, घमण्डी, क्रूर, क्रोधी, संकुचित, अतिवादी साथै विनाशकारी हुन्छ भने आध्यात्मिकताले दया, प्रेम, करूणा, शान्ति, सृजना र समर्पणको विशेष गुण बोकेको हुन्छ । 


हामी आफुले आफुलाई सामाजिक प्राणी मानव ठान्दै गर्दा हामी र हाम्रो चेतनामा रहेको गुणस्तरको सम्भावनाको अनुमान सम्म लगाउन सकेको छैनौं । आध्यात्मिकता भन्दा अन्धविश्वास सस्तो, सजिलो र उपलब्धता भएकोले  पनि अन्धविश्वासले प्रभावित र संचालित छौं हामी यस ग्रहका मानव । अन्धविश्वासको व्यापकता र पकड नै मानव सभ्यताको सकारात्मक खुशी वृद्धि, विकास र रूपान्तरणको बाधक बनेको देखिन्छ । शक्ति प्राप्तिको कुलत, भोकमा फँसेका व्यक्ति, समुह, संस्था र राज्यले विश्वास राख्ने अन्याय, असमानता, हत्या, हिंसा जस्ता अपराधीक क्रियाकलापमा अतिवादी अभ्यास गर्नु पनि अन्धविश्वास हो । चेतनाहिनता हो । त्यसैले गुणस्तर चेतनाको ठाडो सम्बन्ध र सम्भावना मानवले अभ्यास गर्ने आध्यात्मवाद संग रहेको हुन्छ । चेतनाको सम्बन्ध जब अन्धविश्वास संग हुन्छ तब अतिवाद बन्दछ भने जब चेतनाको सम्बन्ध आध्यात्मसंग रहन्छ तब प्रेम, करूणा, समर्पण र सद्भावले सम्पन्न सर्वश्रेष्ठ प्राणी कहलिन्छ । 

 

अन्धविश्वासले कुरूप र निच अतिवाद संग सम्बन्ध राख्दछ भने आध्यात्मले शान्त आत्मा संग सम्बन्ध राख्दछ । हत्या, हिंसा, काम, क्रोध, लोभ, मोह, अन्याय, असमानता, बहिष्कारण, सिमान्तकृत, लगायत समस्या न्यूनीकरण र समाधान गर्न गुणस्तर चेतनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सामाजिक संरचनात्मक समस्या समाधानमा आध्यात्मिकता र गुणस्तरीय चेतना बीच सम्बन्ध छ-छैन भन्ने विषयको खोज, अध्ययन गर्न जरुरी छ हामी मानवले ।


तस्बिरमा रहेको ऐतिहासिक पवित्र तिर्थस्थलको सामान्य जानकारी:


ङिङ दुई छेन्पो-ल्हुई जिम्सा :पवित्र ऐतिहासिक तिर्थस्थल नमोबुद्ध 


बौद्ध धर्मको धार्मिकशास्त्रमा उल्लेख भए अनुसार आज भन्दा ६ हजार वर्षअघि ङिङ दुई छेन्पोले भोकग्रस्त एवम् प्रसव वेदनाले मरणासन्न अवस्थामा रहेकी एउटी बघिनी र त्यसका पाँच वटा डमरूहरूलाई शरीर दान दिनुभएपछि कालान्तरमा लुमी ग्याल्सा (लुम्बिनी) मा भगवान बुद्ध साङके च्योम्दन्दले नामको टुलुवा (अवतार) जन्म लिनुभई जीवनको अन्तिम कालमा पुनः आफ्नो पूर्वजन्मको पवित्र स्थलको दर्शन गर्न स्वयं भगवान बुद्ध, स्यारिबु र माओग्याल्गीबुका साथ यही धार्मिक तिर्थस्थलमा आईपुग्नुभई साङके ङिङदुईछेन्पादा फ्याफुल्पा भनी ३ पटक ढोग गर्नु भएको थियो । त्यसबेला देखि यश ऐतिहाँसिक स्थानलाई साङके फुयाफुल्ला भनी तामाङ बाहेक अन्य भाषामा बोल्नेहरूले बुझन सजिलोको लागि नमोबुद्ध रूपान्तरित रूपमा नाम राखेको पाईन्छ । 

यस पवित्र तिर्थस्थलको दर्शनबाट शरिरको पाप हटछ भन्ने धार्मिक विश्वास रहेको छ । यो पवित्र तिर्थस्थल काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका अन्तर्गत रहेको छ ।


No comments:

Post a Comment