नेपाली समाजमा रहेका व्यक्तिमाथि घटने हरेक दैनिक घटनालाई पतनवादी, भाग्यवादी र अन्धविश्वासी धारणाले व्याख्या विश्लेषण गरेको पाईन्छ । पतनवादी, अन्धविश्वासी र भाग्यवादी व्याख्या र विश्लेषणले समाजमा जब सम्म स्थान पाई रहन्छ तब सम्म समाजमा सकारात्मक खुशी वृद्धि अर्थात विकासले कुनै स्थान पाउने छैन । समाजले आफै पैदागरेको विष आाफै फैलाउदैछ अनि आफै संक्रमित हुदैछ । समाज संक्रमित हुनु भनेको सामाजिक सम्बन्धमा दरार पैदा हुनु हो जसका कारणले सामाजिक सद्भाव, एकता र न्याय कमजोर हुनु हो । समाजमा एकता, सद्भाव र न्यायले स्थान नपाउनु भनेको समाज असामाजिक हुनु हो भने मानव अझ अमानवीयतामा प्रवेश गर्दै जानू हो ।
हामी मानवले आफुलाई सर्वश्रेष्ठ प्राणी मानव प्रमाणीत गर्न साथै सामाजिक हो भनेर प्रदर्शन गर्न पनि पतनवादी, अन्धविश्वासी तथा भाग्यवादी संस्कृतिलाई अस्विकार र बहिस्कार गर्न सक्नु पर्दछ । यति गर्न सके समाज र राज्यको सकारात्मक प्रगति, विकास र रूपान्तरणको बाधक मानिने भ्रष्टाचार उन्मुलन हुन सक्छ । भ्रष्टाचार बाट संक्रमित र प्रताडित नेपाली समाजमा भईरहेको भ्रष्टाचार रूपी रोगको सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता नेपाली समाजनै हो नकि कुनै अन्य समाज हो भन्ने कुरा बुझ्न जरुरी छ ।
नेपाली समाजमा अभ्यास भईरहेको सामाजिक स्थिति, अवस्था र तह कुन श्रेणीको हो साथै नेपाली समाजमा अभ्यास भईरहेको मानवतावादको संस्कृति कुन स्तरको हो भन्ने पहिचान गर्न जरुरी छ । त्यस पश्चात् सामाजिक मूल्य, मान्यतालाई पुनःनिर्माण गर्ने साथै मानवतावादको विशुद्धता प्राप्ति तर्फको मार्ग अवलम्बन गर्न जरुरी छ । किनकि वर्तमान नेपाली समाज जुन अवस्थामा छ त्यसबाट छुट्कारा पाउने अरूकुनै विकल्प देखिदैन । रोगको पहिचान गरेर उपचारमा उपयुक्त विधि पद्धति अनुसरण गर्न सके मात्र रोग साथै संक्रमणकाल बाट छुटकार दिलाउन सकिन्छ ।
नेपाली समाजको संस्कृतिमा संक्रमण साथै मूल्य मान्यतामा पतनवाद, अन्धविश्वास र भाग्यवादको अभ्यासले नेपाली समाजको सामाजिक गुणस्तर कुन तहको र मानवमा रहेको मानवतावादी व्यवहार कति विशुद्धताको छ भन्ने कुरा हामी जो कोहीले अनुमान लगाउन सक्छौं ।
No comments:
Post a Comment