Sunday, August 4, 2024

संविधान Vs सनातन धर्म

 संविधान Vs सनातन धर्म



सनातन धर्म हिजो सम्म सुरक्षित थियो जब सम्म वर्णाश्रम व्यवस्थाको आडमा शासन व्यवस्था चलाउन पाईरहेको थियो । मल्लकालमा जयस्थिती मल्लले अभ्यास गरेको जात व्यवस्था, पृथ्वीनारायण नारायण शाहको कथित एकीकरण,  राणाशासनकालमा वर्णाश्रम व्यवस्थामा आधारित जङ्गबहादुर राणाले जारी गरेको १९१० को जातिवादी मूलुकी ऐन, पञ्चायती व्यवस्था लाई सनातन धर्ममा आधारित राजनीतिक शासन सत्ताको उदाहरणका रूपमा लिन सकिन्छ । आज जब विज्ञान र न्याय उन्मुखताले भरिएको नेपालको संविधान-२०७२ जारी गरियो तब देखि सनातन हिन्दु धर्म असुरक्षित भएको छ । यो उत्तर आधुनिक समाज हो, यो विज्ञान तथा प्रविधिको युगमा कस्तो हाँस्यास्पद र काल्पनिक भाष्य र तर्क ! 


हामी नेपालका अधिकार तथा सार्वभौमसत्तासम्पन्न नागरिक हौँ । नेपाल भौगोलिक विविधतायुक्त बहुजातीय, बहुभाषिक, बहुधार्मीक, बहुसाँस्कृतिक सामाजिक बनावट भएको राज्य हो । संविधानले नै आन्तरिक र वाहय अधिकार र पहिचान सुरक्षीत गरिदिएको छ । त्यसैले राज्यको मूल कानुन एवं न्याय र सुरक्षाको दस्तावेज मानिने सर्वोच्च संविधान भन्दा माथि न त देवता हो न त कुनै निश्चित धर्मको धार्मिक ग्रन्थ । न्याय, सुरक्षा र अवसरमा समानता सुरक्षीत गर्ने संविधान माथिको हमला तुच्छता हो । हजारौँ हजार वर्ष धर्म र धार्मिक ग्रन्थका आधारमा राज्यव्यवस्था संचालन गर्दा धर्मको नाम र आडमा मानव तथा नागरिकको अधिकार खोसेको हैन भन्ने आधार छैन । यहाँ सनातन धर्म असुरक्षामा परेको भन्दा पनि धर्मका नाममा राजनीतिक गर्ने र राज्यसत्तामा एकल ढङ्गले बसिरहने वर्ग तथा वर्णाश्रम व्यवस्थाका शक्ति पिपाशु असुरक्षामा परेको हो सबैले बुझिसकेका छन् ।


सनातन धर्म असुरक्षामा छ भनेर  भाष्य निर्माण गरेर आम नागरिकलाई मूर्ख बनाउने र धार्मिक अतिवादी, जातिवादी समाज निर्माण गर्ने कार्य अमानवीय र करूणाविहिन क्रियाकलाप हो । धर्मका नाममा सर्वोच्च संविधानको मर्म र भावना माथि खेलवाड गर्ने अधिकार न त धर्म तथा धार्मिक संस्थालाई छ न त नश्लिय, जातिय, पितृसत्तात्मक, धार्मिक अतिवादलाई छ । विविधता बीचको एकताले निर्मित राज्य हो नेपाल । नेपाल राज्य सबैको साझा हो । नागरिकको आस्था र अभ्यास गरिरहेको धर्म तथा धार्मिक संस्था माथि संविधानको सम्मान छ तर संविधानको मर्यादा र अस्तित्वकालागि धार्मिक क्रियाकलापले चुनौति गरिरहेको छ । धर्मका नाममा समाजको एकता भड्काउने जस्ता भाष्य निर्माण गरेर गरिने क्रियाकलापलाई संविधान/कानुनले सहेर बस्ने छैन । समाजलाई धार्मिक द्वन्द्वमा अझ फसाई रहनेको पछाडि लाग्नु भन्दा संविधानले स्थापित गरिदिएको अधिकार, न्याय र सुरक्षाको वितरण गर भन्ने मुद्दामा लाग्नु गुणस्तर हुन्छ । 


३५ सय वर्ष अगाडिको समय छैन जहाँ वर्णाश्रम व्यवस्थाका आधारमा शासन व्यवस्था चलाउन सकिन्थ्यो । त्यो सामन्तवादी सामाजिक संरचना भएको समाज हैन । धर्मका नाममा र धार्मिक ग्रन्थ र काल्पनिकताले भरिएको शास्त्रका आधारमा राजनीति गर्ने र शासन सत्ता चलाउने समय पनि छैन । बौद्धिकतामा आफै बेवकुफ बन्ने अन्तरक्रिया बन्द गरौँ । सनातन धर्मका नाममा नश्लिय अभ्यास, एकल जातिय अभ्यास जस्ता निकृष्ट अभ्यास बन्द गरौँ । यसले सामाजिक सद्भाव र एकता भड्काउने भन्दा कुनै गुणस्तर कार्य गर्न सक्दैन । अमानविय र करूणाबिहिन प्रवृत्ति सुधार गरौँ । संविधानको रक्षा गर्न सके संविधानले हाम्रो रक्षा गर्ने छ भन्ने चेतना हामी नागरिकले राख्न सक्नु पर्दछ । संविधान मातहतको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका माथि नश्लिय जातिय र धार्मिक अतिवादको कब्जाबाट उन्मुक्ति दिलाउने सम्पूर्ण नागरिकको कर्तव्य हो । 


संविधान माथि कुनै पनि धर्म वा सनातन धर्मको आक्रमणबाट बचाउने न्यायप्रेमी नागरिकको हो । अर्को तर्फ सनातन धर्म माथि संविधानले कुनै प्रकारका हस्तक्षेप गरेको देखिदैन तर उक्त सनातन धर्म माथि नश्लिय, जातिय र धार्मिक अतिवादको पूर्ण कब्जामा रहेको देखिन्छ । कुनै पनि धर्म वा धार्मिक संस्थाले जातिय विभेद, पितृसत्ता वा कुनै पनि प्रकारका छुवाछुत विभेद पाल्दछ भने त्यो धर्म अवैज्ञानिक र अमानविय प्रवृत्ति भएकाहरूको कब्जामा छ भनेर बुझ्नु सक्नु पर्दछ । त्यो धर्म के धर्म जसले विभेद र अन्याय देख्दैन । त्यो धर्म के धर्म जसले अमानवियता र करूणाबिहिनता देख्दैन । यसको अर्थ धर्म वा सनातन धर्म संकटमा छ तर संविधान बाट नभई त्यस धर्म वा सनातनमा रहेको नश्लिय जातिय र धार्मिक अतिवादी पितृसतात्मक प्रवृति बाट छ । 


त्यही तथ्य र प्रमाणका आधारमा विश्लेषण गर्ने हो भने धर्म वा सनातन धर्म वास्तवमै संकटमा छ । तर त्यो सनातन धर्मलाई संकटमा पर्ने अन्य धर्म वा समुदाय साथै संविधान नभई त्यही धर्म भित्र रहेका नश्लवादी, जातिवादी, धार्मिक अतिवादी र पितृसतात्मक प्रवृति हो । सनातन धर्मका सनातनीहरूले समयमै शत्रुको पहिचान गर्न नसके सनातन धर्मको अवसान समय भन्दा अगावै हुनेछ । विविधता बीचको एकता सुव्यवस्थित गराउने नेपालको संविधान विभिन्न धर्म साथै सनातन धर्मको मित्र हो नकि शत्रु । सनातन धर्मले आफू भित्र रहेको मित्रको भेषमा रहेको शत्रुको पहिचान गर्न सक्नु पर्दछ । सनातन धर्मको शत्रु बाहिर हैन त्यही भित्र रहेको अध्ययन चिन्तन गर्न सक्नु पर्दछ । अप्प दिपो भव:।

No comments:

Post a Comment