Saturday, May 21, 2022

फित्ता चप्पलले सृजना गरेको भ्रमको चेतना

 फित्ता चप्पलले सृजना गरेको भ्रमको चेतना


हामीले लगाएको खराउ(फित्ता चप्पल)ले हामीलाई अनुभव गराएको चेतना त भ्रम हो भने सत्ताको कुर्सी, पदको ताज, शक्तिको राजदण्ड र उच्च वर्गीय काँचको महलले महसुस गराउने त्यो विश्वास भ्रमको चेतना हैन भन्न कस्ले सक्छ र । 


स्थानिय तहको निर्वाचन २०७९ को प्रचार प्रसारको क्रममा निर्वाचन भरि हामीले त्यही फोटोमा लगाएको चप्पल नै प्रयोग गरियो । सायद त्यस अवतारमा देख्ने धेरैको मनमा केही कौतुहलता रहयो होला अनि कोहीले त सिधै उत्सुक्ता राखे पनि । आफुलाई आध्यात्मिक रूपमा हलुका र पातलो बनाउन लगाएको त्यो फित्ता चप्पलले पनि मानसिकतालाई निकै भारी बनायो । हामीले लगाएको यो चप्पल अहंकारी चप्पल हो रहेछ । जो गुणस्तर चेतनाको बाधक पनि ।


हामीले भिरेको यो झोला कसैले दिनुभएको पवित्र प्रेमको उपहार हो । धेरैले सोधे झोलाको विषयमा सधैं किन, यसमा के छ भनेर ! कसै कसैलाई त यो हाम्रो झोलाको तौल पनि अनुभव गराईयो । आफुलाई आन्तरिक रूपमा संतुलित राख्न बोकेको यो झोलाको भित्र त्यस्ता चिज हरू छन् जो तौलमा वजन भए पनि त्यसको तौलले हामीलाई आध्यात्मिक चेतनाका विषयमा झस्काई रहन्थ्यो र मन निकै हलुका बनाउथियो । किनकि त्यस भित्र आध्यात्मिक देखि भौतिक खुराक छ भन्ने हामीलाई थाहा थियो । 


फित्ता चप्पल लगाएर निर्वाचन जितिन्छ वा जिताउन सकिन्छ भनेर हिड्नु भ्रमको चेतना रहेछ । कोहि मतदाताले फाटेको टालेर, कोही खाली पाउ र कोही आङ ढाक्ने सफा बस्त्र पहिरन लगाउन नपाएका, अभाव र गरिबीले सृजना गरेको चेतनशिलताको बिचमा फित्ता चप्पल लगाउने हामीले जो अभ्यास गरियो त्यस्तो अभ्यास वास्तविकता हो हैन भनेर हामीले (मैले) पहिचान गर्न सक्नु पर्नेरहेछ । त्यही चप्पल रहेछ मानवलाई मानव बन्न बाट रोकने । हामीले आफू भित्र रहेको भ्रमको वजन कम गर्न चप्ल लगाएको तर त्यो पनि यति भारी रहेछ बल्ल बुझियो ।


बाहिरी पहिरन, पद, सत्ता र शक्तिमा विश्वास गर्ने हामी यदि कसैले आफ्नो चेतनालाई भ्रम मान्न सक्दैन भने त्यो व्यक्तिले आफुले आफुलाई वास्तवि चेतना भन्द टाढा राखेर आफुलाई सजाय दिईरहेको मान्न सकिन्छ । वास्तविकता, यथार्थ र सत्य चेतना भनेको महान धर्ती, माता प्रकृति र न्याय प्रेमी मतदाता संग जोडिनु र त्यस भावनालाई बुझ्नु हो । सामाजिक असमानता, विभेद र अन्यायाको अध्ययन र खोजमा विश्वास राख्न नसक्ने चेतना त्यो वास्तविक चेतना विमुख रहेको मान्न सक्नु पर्दछ । अभाव र गरिबी सर्वश्रेष्ठ विश्वविद्यालय हो भने त्यसले पढाएको पाठ शिक्षाहरूमा सबै भन्दा तेज अनुभव हो । त्यो नै बौद्धिकता हो । त्यो नै वास्तविक चिन्तन एवं चेतना हो । 


आफू र आफ्नाको, मानवले मानवको वास्तविकता, स्थिति र अवस्था बुझ्न नसक्नु र नखोज्नु नक्कली चेतना हो । नक्कली चेतनाको स्रोत र गुणस्तर चेतनाको पथ छुट्याउने आफुले नै हो । पुज्यनिय पिताजीले किनिदिनु भएको यो फित्ता चप्पलले महसुस गराएको भावले मलाई नक्कली चेतना तर्फ आकर्षण गरिरहेको हरपल महसुस हुन्छ भने; सत्ता, शक्ति र भौतिक साधन माथिको पहुँचले पक्कै पनि चेतनाको निस्पट अन्धकार तर्फ आकर्षित गरेको छैन भन्न सकिँदैन । 


बुद्ध र मार्क्सको मानवतावादी दर्शनले मानव र मानव समाजलाई नक्कली चेतना बाट टाढा राख्न मद्दत गर्न सक्छ । बुद्ध र माक्र्स जस्तो सकिँदैन मान्छे बन्न तर मान्छेको संगतमा रहन त सकिन्छ । हामी सधैं यिनैको संगतमा रहन चाहन्छौं तर चप्पल छोडन नसक्नुले मानवतावादी दर्शन संगको दूरी घटाउन सकिरहेको छैन । त्यही झोला हो मार्क्स र बुद्ध । तौलमा हामीले बोकेको झोला भन्दा कयौं गुणा बजनदार रहेछ यो हलुका देखिने फित्ता चप्पल । लालच, घमण्ड, र असमानता जस्ता चेतनाले भरिएको चप्पललाई पनि यो झोलाले सधैं संतुलनमा रहन मद्दत भने गर्यो । 


हामीलाई यो फित्ता चप्पल लगाउन पनि किन बाध्य पारिदैछ ! यो चप्पल पनि त्यागेर वास्तविकतामा रहन सकिँदैन र ? के यो सत्ता, शक्ति र भौतिकतामा रहेको पहुँचका साथमा कुनै मान्छे भूईमान्छे भएर रहन सकिँदैन र ? वास्तविक चेतनाको बास किन अभाव र गरिबी मा नै हुन्छ ? अभाव र गरिबीले सिकाएको संघर्षको पेवा हो गुणस्तर चेतना ? 


गुणस्तर चेतनाको झोला बोक्न नसके पनि गुणस्तरीय झोला सधैं बोकौं । झोला गर्हौं होला तर मन निकै फराकिलो र हलुका हुन्छ रहेछ । चप्पल जतिसुकै पातलो र हलुका लगाअौं त्यसको वजन हलुका भएपनि चेतनालाई भारी बनाउछ रहेछ । जसले न अघि बढन दिन्छ न त माथि उक्लन । किनकि त्यसले महसुस गराउने भारीपना नै मानवलाई मानव बन्न नदिने प्रमुख बाधक हो । आफू आचेतमा छौं, भ्रममा छौं भन्ने बोध हुन्छ, त्यस भ्रम चेत बाट निस्कनु छ भनेर प्रयास र अभ्यास गर्न थाल्दछ तब मानव मानव बन्ने प्रक्रियामा प्रवेश गर्दछ । हामीलाई बुझाईएको, हामीले बुझेको, हामीले विश्वास गरिरहेको मूल्य मान्यता साथै त्यसै अनुसार गरिरहेको सबै अभ्यास भ्रम हो की वास्तविकता छुट्याउनै पर्दछ ।


No comments:

Post a Comment