Saturday, March 12, 2022

पुँजीवादी पितृसत्ता र मानव चेतना

 पुँजीवादी पितृसत्ता र मानव चेतना


विवाह पश्चात् महिलाले आफ्नो थर परिवर्तन गर्नु, दुवै थर लेख्नु जस्ता अभ्यास पितृसत्तात्मक समाजमा हुन्छ । विगतका समाजले विवाह पश्चात नारीले आफ्नो वंशाणुगत थरको अभ्यास गर्दैन थियो वा गराउदैन थिए । वर्तमान समाज हिजो सामन्तवादी पितृसत्ताको भन्दा फरक र उदार देखिएता पनि पितृसत्ताले पुँजीवाद र पुँजीवादले पितृसत्ता संग गठबन्धन गरेको छ, मीत लगाएको छ, एकअर्काले आ-आफ्नो उदेश्य, लक्ष्य प्राप्तिकालागि आफुलाई अन्तर्घुलित बनाएको छ । यसकालागि पुँजीवादी पितृसत्ताले हदपार गरेर सामाजिक समानता र सद्भाव भाँडन हदै सम्मको उदण्डता तर्फ आकर्षण भएको देखिन्छ । प्रमाणीत छ, किनकि यहाँ सबैलाई नाफा, शक्ति र सत्ता चाहिएको छ जो पुँजीवादी पितृसत्ताको प्रभावको कारण ह‍ईन नकार्न सकिन्न ।


लामो ऐतिहासिक पृष्ठभूमि बोकेको पितृसत्ताले आफ्नो सर्वसत्तावाद कायम राख्न समय अनुसार रूप परिवर्तन र परिस्थिति अनुसार निर्णय परिवर्तन गरेको अभ्यास पाउन सकिन्छ । त्यसरी नै पुँजीवादले लगानी, नाफा र पुनःलगानीको गायत्री मन्त्र टिकाउन र नाफाको नामको चोरी गरिरहने अवसरलाई निरंतर, स्थायी र दिगो बनाउन भावनासंग खेलेर हरेक छलकपट गरेको देखिन्छ । पुँजीवाद नाफाको नामको चोरी र पितृसत्ता लिङ्गको नामको सर्वसत्तावाद दुवै ठग हो साथै दुवै सामाजिक अन्याय, शोषण तथा असमानताको कारक हो । 


पुँजीवाद र पितृसत्ता दुवै मिलेर विश्वसमाजमा अझ असमानताको खाल्डो बढाउदैछ । विश्वसमाजलाई नाफा संकलन गर्ने थलो र सत्ता र शक्तिको क्रिडास्थल बनाईदैछ । यहाँ मानिसलाई, कुनै लिङ्ग विशेषलाई उपभोक्ता वा मजदुरको भन्दा माथिल्लो स्तर दिईएको छैन । यसले आफुपायक अर्थ र परिभाष साथै संस्कृतिको निर्माण र विनिर्माण र पुनःनिर्माण गरिरहेको छ । सुन्दरताको अर्थ जब सम्म आँखाको गाजल, ओठको लाली, अनुहारमा लगाउने लेपन मलम साथै शारीरिक बनावट, अतर-वस्त्र-आभुषणमा छ भनेर पितृसत्ताले व्याख्या विश्लेषण गर्दछ तब सम्म पुँजीवादले आफ्नै शैलीमा लाभ लिईरहनेछ । त्यसैले पुँजीवादले पितृसत्ताको पक्षपोषण गर्नु पहिलो दायित्व र कर्तव्य ठान्दछ । 


पुँजीवादले पितृसत्तालाई र पितृसत्ताले पुँजीवादलाई बडो प्राविधिक ढङ्गबाट समर्थन र सहयोग गरेको हुन्छ जो बुझ्न नाङ्गो आँखा, सरल मस्तिष्कले भन्दा सामाजिक दृष्टिकोणको बौद्धिक नजरनै चाहिने हुन्छ । समय संगै पुँजीवादी पितृसत्ताले चोरी र सर्वसत्ताकालागि आफुलाई अपडेट गराउने फरक फरक परिस्थिति अनुसार आफुलाई परिवर्तन गराईरहने गरेको पाईन्छ । साथै स्थान भूगोल र संस्कृति विशेष संगै "रोममा हुदा रोमन जस्तै" बन्न सक्ने बडो ईन्द्रजाले प्राविधिक क्षमता रहेको हुन्छ । नाफा, सत्ता र शक्तिका लागि सामाजिक हद पुनःनिर्माण गर्न जुनसुकै तह बाट गुज्रिने क्षमता हुन्छ जसको नाम विज्ञान, प्रविधि, आधुनिकता, उदारवाद भनेर चिनाउदछ, अर्थ लगाउदछ । 


पुँजीवादी पितृसत्ता सर्वव्यापक छ, विश्वको सबै स्थानमा आ-आफ्नो स्वरूपमा रहेको छ । सधैं रहदैन अर्थात यो सर्वकालिक भने होईन तर जति र जहिले सम्म रहन्छ तब सम्म नाफाको नामको चोरी डकैती (कर्ल माक्र्स) र लिङ्गको नामको सर्वसत्तावाद रहिरहनेछ । जसले समाजमा शोषण, विभेद र असमानता उन्मुलन हुन दिनेछैन । यसको उन्मुलनका लागि विश्वसमाजका सबै मानिसको सामाजिक सुरक्षा, मानव अधिकार, लगायत हकको वितरण र उपलब्धताले सुख र खुशीको अनुभव गराउनु पर्दछ भने सबैको चेतनाको गुणस्तर उच्च र समान हुनु पर्दछ ।


No comments:

Post a Comment