Monday, July 25, 2022

राजनैतिक हत्कण्डा

वि.स २००७ साल देखि आज सम्म कति पटक तन्त्र, प्रणाली र वादहरु फेरिए । सोँचौ मनन गरौं र भनौं के साच्चै शासकिय स्वरुप र प्रणाली फेरिएर हामी आम नागरिकको र राष्ट्रको सर्वाङ्गिण हित सम्बृद्धिमा केही तात्विक सकारात्मक परिवर्तन आयो त ? संघियता विकासको बाधक हुँदै होईन । फेरिपनि नागरिकलाई भ्रममा राखेर आफ्नो शासन र समप्रभुता माथि प्रत्यक्ष हस्तक्षेपको अधिकारलाई सुनिश्चित गर्न चलाईएको हत्कण्डा मात्र हो । र यसपछि पनि बारम्बार यी र यस्तै प्रकृतिका हत्कण्डाहरु दोहोरिरहने छन् ।


एउटा सरल समाजमा केही वर्गहरु हुन्छन जसलाई शक्ति र सत्ताको उन्माद हुन्छ । त्यो उन्मादमा आफू र आफ्ना जातिय, धार्मिक, आर्थिक, लौङ्गिक, समाजिकवर्ग कै पहुच र कब्जामा यो सरल समाज माथि नियन्त्रण चाहान्छ । त्यसलाई मुर्तरुप दिन त्यो निश्चित वर्ग वा समुदाय हर संभव प्रयत्नशिल रहन्छ । अनि त्यहि खेल र हत्कण्डालाई राजनितिको नाम दिएर सरल समाजको मानसिक्ता र भावनामा पासा फ्याकिरहन्छ । अनि भिन्न भिन्न समय र कालखण्डमा त्यस खेललाई भिन्न भिन्न नाम दिएर कहिले प्रजातन्त्र, कहिले राजतन्त्र, कहिले लोकतन्त्र जस्ता यावत नाम र भिन्न भिन्न विशेषण प्रयोग गरेर यथास्थिति लाई नै निरन्तरता प्रधान गरिरहन्छ । यसैमा उ रमाउछ किनकि जसरि पनि उसले राज्य शक्ति र शत्तामाथिको नियन्त्रण आफ्नो मुठ्ठिमा राख्न सफल हुन्छ।


हामी हरेक काल खण्डमा भिन्न भन्न नाम र विशेषणको शासकिय स्परुपको (पुरानै रक्सि नयाँ बोतलमा भरिएको) चाल र षडयन्त्रमा यसरी बहकिन्छौं कि त्यहि बहकाबको पुर्ण प्रयोगका साथ ती वर्ग आफ्नो स्वार्थसिद्धको सरल सुत्र प्रयोग  गरेर हामिलाई नागरिकको अधिकारबाट बञ्चित गर्दै रैतिको रुपमा कठपुतलि नृत्य गराउदै शत्ताको चास्निको रसस्वादन गरिरहेका हुन्छ । वाद र वास्तविकता बिचको अध्ययान गरिरहदा यी समपुर्ण कुरा शतप्रतिसत स्थाई र सिद्धात अनुरुप पाईन्छ।


अब पनि रैति नै बन्ने ? संघियता कसले कति बुझेको छ ! धर्म निरपेक्षता कसले कति अध्यायन गरेको छ ! कागको पछाडि मात्र दौड्ने कि कान पनि छाम्ने ! हामी संघियताले दिएको खुला अवसरको पुर्ण प्रयोग गरेर अगाडि बढने कि फेरि बहकिएर पश्चगमनकै मार्गमा लाग्ने ? धार्मिक अतिवादले एक शताब्दी भन्दा धेरै हामी माथि शासन गरेको हैन ! नतिजा शून्य नै थियो त ! अब फेरि धर्म सापेक्ष हुदा के नतिजा देला ? राजतन्त्रको वरदानले हाम्रो देशमा त्यसतो के उधुम गरेको थियो ? एक दशक अलि बढी त भयो नि राजसंस्था निस्तेज भको हैन र ? अब फेरि हिजो थुकेर आज चाट्न चाहिँ किन हामी अग्रसर हुँदै छौ ? नारायणकै अवतार भएको भए त भगवानले आफ्नै अलौकिक शक्तिको प्रयोगले स्वयं राजगद्दिमा विराजमान भै बक्सिन्थ्यो होला ! हामि भगवान नारायणलाई काँध हालेर उचाल्न सक्ने समर्थ्य राख्छौ र ? यो भन्दा अर्को धार्मिक अतिवादको सरल उदाहरण केही हुन सक्छ ? (- माक्सवादले "धर्म अफिम हो" भन्नुको सन्दर्भिक्ता स्पस्ट यहि नीर हुन्छ ।)


संघियता खारेजिको कुराले कालन्तरमा पुर्वअबस्थाकै (श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापि भुपति) मार्गचित्र चित्रण गर्दै छ । शासकिय स्वरुप समृद्धिको बाधक हैन । यो सत्यलाई प्रमाणित गर्न त्यति गार्हो छैन । विश्वसमाजमा एक नजर लगाअौं कुन कुन राष्ट्रमा कस्तो कस्तो वाद वा तन्त्रको अभ्यास छ र त्यसको प्रतिफल कस्तो छ ! ईमानदारिता, ईच्छाशक्ति र देश, जनताप्रति उत्तरदाई बन्न तिर दबाब दिदै र अब एउटा नयाँ पुस्ताको नयाँ सोँच र स्पस्ट दिर्घकालिन नीति सहितको यहि संघिय लोकतान्त्रिक गणतन्त्र मुलुक नेपाल भित्र‌ै रहेर राज्य र नागरिकको हक अधिकार न्यायिक राज्यको  अवधारणा सहित वर्ग बिहिन र समृद्ध राज्यको लागि आवाज बुलन्द गरौं ।


जयनेपाल ! (भुवन घिमिरे)


No comments:

Post a Comment