Sunday, July 24, 2022

माईला विश्वकर्मा: एक सामाजिक रोगी

माईला विश्वकर्मा: एक सामाजिक रोगी


उनी को हुन् ?


उ अन्य मान्छे झै मान्छे हो कि रैती/दास ?


उनको सामाजिक स्तर/स्थान कहाँ पर्छ ?


उनको सम्पन्नताको अवस्था कस्तो छ ?


उसको चेतनाको गुणस्तर किन सिंहदरबारका पुराना र नयाँ राजाको झै छैन ?


उनको सामाजिक पूँजी, साँस्कृतिक पूँजी र आर्थिक पूँजी माथिको पहुँच कस्तो छ ?


उनकै मानसिक स्वास्थ अवस्था सामान्य किन नभएको ?


मानसिक अवस्था सामान्य हो भने उनले किन त्यस्तो कदम चाल्नु पर्यो ?


के उनलाई यो समाजमा सिंहदरबारले जन्म दिएको पालन पोषण गरेको नागरिक झै सम्मानपूर्वक बाँच्न पाउने अधिकार र अपेक्षा छैन र ?


समाज र राज्यले यस्ता भूईमान्छे माईला विश्वकर्माहरूको गुणस्तर जीवनको सुरक्षाको ग्यारेन्टी गर्नेकी नगर्ने ?


समाजको मूल्यमान्यता र संस्कृतिको पुनःनिर्माण गर्न नसके साथै राजनीति र राज्यको चरित्र सुधार नगरिए भोलिको माईला विक हामी हौं भन्ने कुरा सोच्नेकी नसोच्ने ?


उपर रहेको सवालको जवाफमा नै समाज साथै समाज भित्रका माइला/माइलीहरूको स्थिति र अवस्था चित्रण गर्दछ एकातर्फ भने अर्को तर्फ राजनीति र राज्यको नैतिकता र सुशासनको व्यवस्था थाहा पाउन सकिन्छ साथै आम नागरिक भूँइमान्छेले अनुभूति गरिरहेको सामाजिक न्याय र सुरक्षाको गुणस्तर ।


माइला कामीको यो क्रियाकलापले केही संकेत गरिरहेको छ । मानव बस्ती मानिने यस पृथ्वी, नेपाली समाज र विश्वसमाजलाई केही भनिरहेको छ । एक स्वस्थ समाजका मानवको मानसिक स्वस्थ अवस्था पनि सामान्य रहेको हुन्छ । भने उनको वा समुहको आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, भौगोलिक, वातावरणीय लगायतको स्वास्थ स्थिति एवं स्तरमा पनि गुणस्तर रहेको हुन्छ । 

माइलालाई खाने बाघले हामीलाइ पनि खानेछ । हामीलाइ खाने बाघलाई हामीले नै सृजना गरेको, पालनपोषण गरिरहेको साथै हाम्रो अवसान ढिलोचाँडो त्यही अदृश्य तर अति हिंस्रक बाघ बाट हुनै निश्चित छ । प्रत्येक दिनको मानव अवसानको कारण त्यही बाघ नै हो भन्दा फरक नपर्ला ।


समाजमा निश्चित व्यक्ति वा समुहको भौतिक साधन माथिको असमान पहुँच साथै आम नागरिकको मौलिक हकअधिकार, सामाजिक न्याय र सुरक्षामा राज्य द्वारा असमान वितरण प्रतिको आकर्षण प्रवृत्ति नै हामीले हाम्रो अवसानकालागि पालेको बाघ हो । यसले सामाजिक सुव्यवस्थामा नियमिततामा स्थिर र दिगोपना आउन दिदैन । यो मानवको रूपभित्र रहेको अमानविय प्रवृत्ति, मूल्यमान्यता, संस्कृति र चेतना हो जसले हामी माइला/माइलीलाई संक्रमित गराउदछ र सामाजिक रोगी बनाउदछ । 


ऐतिहासिक सन्दर्भको गर्भबाट हुर्किदै, बढदै, विभिन्न रूप परिवर्तन गर्दै विकसित यो विनासक बाघ हो । कहिले अमानवीय दास युगको नाममा, कहिले क्रूर सामन्तवादको नाममा, त अहिले हिंस्रक र उदण्ड पूँजीवादको नाममा आफ्नो रूप फेर्दै समाजलाई संक्रमित बनाईरहेको छ । जसले हामी मानवको चेतनारूपि स्वतन्त्रता र भौतिक शरीररूपि मूक्तीमाथि नियन्त्रणको मन्द विषले संक्रमण गराई हामीलाई सामाजिक रोगी बनाई रहेको छ । 


हाम्रो आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, भौगोलिक, वातावरणीय साथै मनोवैज्ञानिक स्वास्थमा समानता र गुणस्तर नहुनु भनेको नै सामाजिक अस्वस्थता वा रोग हो । जसको कारक हामी समाज आफै र हाम्रो राजनीति र राज्य होईन भन्न सकिन्न । हामी माइला/माइलीहरू नियोजीत, निर्धारित र सृजित सामाजिक रोगी हौं । हामीहरू सबै रोगी छौं बस यति फरक छ कि कसैलाई त्यस विषयमा चेतना छ तर केही प्रतिक्रिया दिन नसकेको अवस्था छ । कोहीलाई आफू कस्तो रोगी छौं भन्ने स्पष्ट चेत राखेका छैनौं । न कुनै सामाजिक रोग लुकाउन सकिन्छ नत सामाजिक प्राणी रोगदेखि भाग्न सकेको छ । कथित माइला कामीको क्रिया रोग र रोगीको हो, न पूँजीवादी बाघ रूपि रोगले छोड्छ नत त्यसबाट भाग्न सकिन्छ ।


त्यसैले समाज र राज्यले सामाजिक न्याय र सुरक्षाको ग्यारेन्टी गर्ने हो भने, समतामुलक समाज निर्माण गर्ने हो भने, कथित सामाजिक रोगी माइला/माइलीहरू प्रत्येकको यसरी हेलिकप्टर बाट घण्टौ र सयौं सेवक लगाएर उदार गरिरहनु पर्दैन । किनकि सामाजिक न्यायको व्यवस्था भएको समाज र समतामुलक विधि प्रणालीमा विश्वास गर्ने राज्यमा न सामाजिक रोग संक्रमण हुन्छ नत कोही सामाजिक रोगी हुन्छ ।


हामी माइलाको प्रतिनिधि घटनालाई लिएर मेरो, तिम्रो अनि हाम्रो सामाजिक स्वास्थको कुरा गरिरहेका छौं । मानव र मानतावाद संग खेलवाड गर्ने पूँजीवादले निर्धारण गरेको हाम्रो सामाजिक स्वास्थको कुरा गरिरहेका छौं ।

No comments:

Post a Comment