सामाजिक सत्यको नियम हो परिवर्तन
प्रसव पीडा आफैमा सबैभन्दा शक्तिशाली पीडा हो । यसले सृष्टि मात्र गर्दछ भनेर मान्नु मूर्खता हो । प्रसव पिडाले नयाँ सृष्टिका लागि आफुलाई विनाश गरेर नयाँ सृजना गर्ने पनि गर्दछ । यो पीडा सृजना मात्र नभई विनाशकारी पनि हुन्छ । के को विनाश गर्ने, के को सृष्टि गर्ने भन्ने यही पिडामा निहित हुन्छ ।
सुशासन, विकास, परिवर्तन र समृद्धि जन्माउने प्रसव पिडामा रहेको समाजको यो विशेष घडीमा छेडखानी गर्नु मूर्खता हो । मूर्खता विनाशको संकेत हो । समाजले निर्माण मात्र गरेको छैन यसले कस्ता कस्ता मै हुँ भन्नाउदा व्यक्ति, संस्था, र वादको विनाश चुट्किमा गरेको ऐतिहाँसिक सन्दर्भ भूल्नु हुन्न । समाजले संस्कृति निर्माण, विनिर्माण र पुनःनिर्माण आफैले गर्दछ । समाजले संरचनाको आकार र पुनःआकार आफैले निर्धारण गर्ने गर्दछ । यही सामाजिक सत्य पनि हो ।
यो व्रम्हाण्डमा "परिवर्तन" मात्र धुर्व सत्य मानिन्छ । यही परिवर्तनको प्राकृतिक नियम र प्रक्रिया बाट समाज टाढा रहन सक्दैन । समाज परिवर्तनशील मात्र नभई अग्रगामी बहावको स्वभाव राख्दछ । जसरी नदिमा एक पटक बगेको पानी फर्कदैन ठ्याक्कै त्यस्तै हुन्छ समाजको प्रकृति पनि, अग्रगामी हुन्छ ।
आफुले आफुमा प्रत्येक क्षण आईरहेको भौतिक, अभौतिक परिवर्तन रोक्न सकिँदैन भने प्राकृतिक नियम र सामाजिक सत्यले स्विकारेको परिवर्तन, कुनै व्यक्ति, संस्था न त कुनै वादले रोक्न सक्छ । सामाजिक सत्यको नियम हो परिवर्तन । परिवर्तन निश्चित छ । त्यही परिवर्तनको उदाहरण हो जन्म, जीवन र मृत्यु ।
No comments:
Post a Comment