अब तिमीले व्रत हैन विद्रोह गर्नु पर्छ
धार्मिक स्थल गए जसरी नै सिंहदरबार, संसदभवन र प्रधान न्यायलय पुग्न सक्नु पर्दछ दक्षिण एसियाली हिन्दु पितृसत्तात्मक समाजका विभेदित र शोषित नारीजन । पितृसत्ताले दास बनाईएको नारीजन अब जाग्ने बेला आएको छ । पुरूषको झै संस्कृति र मूल्य मान्यताको विकास गर्ने बेला आएको छ । त्यस्तै अभ्यास गर्ने बेला आएको छ ।
पितृसत्ताले नारीजनलाई धार्मिक स्थलमा पठाएर आफू सिंहदरबार र सदनमा पहुँच बढाइरहेको विषयले सृजना गरेको असमानताका कुराको गहिरो अध्यन र चिन्तन गर्न जरुरी छ । समाजमा जरागाडेर बसेको असमानता लाई जब न्याय र समतामा परिणत गरिन्छ अनि पो विकास र समृद्धिको लक्ष्य प्राप्ति सम्भव छ । एक सिंहदरबार अर्को धार्मिकदरबार गएर समृद्धि आउन सक्छ भन्नू पितृसत्तात्मक समाजको दादागिरी हो । कि हैन !
एउटाले सारा संसार आफ्नो ठन्छ अर्कीको वंशज बाट प्राप्त आफ्नो पहिचान पनि आफ्नो छैन । यतिका वर्ष धर्मको नाममा धार्मिक स्थल जानेगरेकी उनी नै सबैभन्दा बढी विभेदमा छिन् । के यो प्रभुको श्राप हो कि पितृसत्ताको शोषण ! अब बुझ्ने खोज्ने बेला आएको छ । अब पनि नबुझे कहिले, आज पनि नखोजे कहिले ! अब व्रत बस्ने हैन न्याय र समताकालागि विद्रोह गर्नु पर्छ ।
मन्दिर जाने पाउलाई
सडक संघर्षमा हिडाउनु पर्छ ।
गर-गहना मात्र देख्ने नजरले
अब विभेद देख्नु पर्छ ।
साडी पहिरनलाई अब
विद्रोहको कफन बनाउनु पर्छ ।
भजन गाउने आवाजले
न्यायको आन्दोलन छेड्नु पर्छ ।
गाजल लगाउने आँखा अब
क्रान्तिको ज्वालाले भर्नु पर्छ ।
ममताले भरिएको हृदयलाई
न्याय र करूणाले भर्नु पर्छ ।
ऐना समात्ने हातले
भौतिकवादी माक्र्सवाद समात्नु पर्छ ।
लिपस्टिक पक्रिने अम्लाले
क्रान्तिको कलम समाउनु पर्छ ।
तिलहरी लगाउने काँधले अब
दर्शनको झोला बोक्नु पर्छ ।
कपाल काईयोलाई
व्यवस्थापिकाको माईक बनाउनु पर्छ ।
घर सफागर्ने मुठ्ठीले
न्यायपालिकाको तराजु समाउनु पर्छ ।
मेहेन्दीले सृगार्ने हातले
कार्यपालिकाको नेतृत्व नै गर्नु पर्छ ।
निधारको टीका फ्यालेर
वर्गीय विभेदको ट्याटु खोप्नु पर्छ ।
सिउदोले रंगिन सिरमा
राजनीति शक्तिको ताज राख्नु पर्छ ।
उनको नामको सौभाग्य भिर्नेले
अब आफ्नो भाग्य कोर्नु पर्छ ।
अरूलाई सुम्पिने शरीर अब
आफुले आफ्नालागि जिउनु पर्छ ।
सदियौं देखि नाचिदिएको
अब समताकालागि नचाउनु पर्छ ।
ती लामा कपाल काटेर अब
असमानताको कोरा बस्नु पर्छ ।
रूप यौवनकी खानीले अब
समानताको सुनामी ल्याउनु पर्छ ।
व्रत बस्ने सट्टा
विद्रोहको आमरण अनसन घोषणा गर्नु पर्छ ।
अब तिमीले व्रत हैन विद्रोह गर्नु पर्छ ।
अब तिमीले व्रत हैन विद्रोह गर्नु पर्छ ।

No comments:
Post a Comment