कला, साहित्य र सृजना समाजको सामाजिक स्थिति, अवस्था, कालखण्ड र परिस्थितिको सूचक हो । जसलाई सामाजिक जगतमा मानव चेतनाको गुणस्तर वृद्धिको भूमिका निर्वाह गर्ने शक्तिशाली साधनको रूपमा पनि लिन सकिन्छ । तर वर्तमान नेपाली समाजमा जे अभ्यास भईरहेको छ त्यसले कुन पक्षलाई फाईदा वा कुन पक्षको वेवास्ता र पक्षपोषण गरिरहेको छ भन्ने अध्ययन गर्न सक्नु पर्दछ । समाजका गम्भीर विषयवस्तुहरूलाई गैरराजनीतिकरण (Depoliticization) गर्ने र कुनै वर्गको पक्षपोषण गर्ने साधनको रूपमा प्रयोग गरिनु हुन्न । नेपाली समाजमा मात्र नभई विश्वसमाजमा नै प्रतिक्रियावादी (Reactionist) प्रवृत्तिले कला, सृजना, साहित्य, अभिव्यक्तिमा पनि वर्गीय पक्षपोषण, प्रतिक्रिया र अन्तरक्रिया गरिरहेको पाउन सकिन्छ ।
समाजिक संसार आफैमा जटिल हुन्छ, त्यस जटिलताले सृजना गरेको विविध प्रकारका अन्याय, असमानता, विभेदका विषयमा जुन कला, साहित्यले उठान गर्न सक्दैन, त्यसले एकातर्फ मनोरञ्जन दिएको जस्तो देखिएपनि वास्तवमा संरचनात्मक सामाजिक अन्याय (Socio-structural injustic) का विषयवस्तुलाई गैरराजनीतिकरण गरिएको छैन भन्न सकिन्न । सामाजिक संरचनात्मक असमानतालाई उठान गर्न नसकेको त्यस्ता कला, साहित्यले मानवको गुणस्तर चेतना (Quality consciousness) वृद्धिमा सहि दिशानिर्देश गर्न सक्दैन । जसरी राजनीति पेशा होईन सेवा हो त्यसरी नै कला, साहित्य र सृजना समाजको ऐतिहासिक सन्दर्भ (Historical context)को अध्ययन प्रस्तुत गरेर कस्तो खालको समाज निर्माण गर्ने भन्ने खबरदारी गर्दै, सकारात्मक भविष्य निर्माण गर्न मार्गनिर्देश गर्ने सेवामुखी विषय विधा हो । जसरी मानिआएको धामी, झाँक्री पेशा होईन सेवा हो त्यसरी नै कलाकार, साहित्यकार सर्जक पेशा नभई विशुद्ध सेवा, करूणा, कल्याण र परोपकार प्रवाह गर्ने विधा हो । यो त सेवामुखी गुण र क्षमताले भरिएको विशेष र शक्तिशाली परिचय हो, जसले सामाजिक मूल्यमान्यता र संस्कृतिको निर्माण, विनिर्माण र पुनःनिर्माण गर्न सक्दछ । त्यसैले त समाजमा अमूल्य गहनाको विशेषणले विभूशीत गरिन्छ ।
बजारमा बुद्ध, मार्क्स, आम्बेडकर, डोरबहादुर बिष्टहरू धेरै कम छन् । पूँजीवादी समाजमा कला, साहित्यलाई जीविकोपार्जन गर्न मात्र नभई नाफा कमाउने साधन बनाईएको छ । कला, साहित्य र सृजनालाई मनोरञ्जनको साधन मात्र सम्झिनु त्यसको मर्म र भावना विपरितका संस्कृति र मूल्यमान्यताको पुनःनिर्माण गर्नुले हुने क्षति नोक्सानी बडो घातक छ । जबकि हिजोको समाजमा कला साहित्यको जुन मानवतावादी स्थान थियो र त्यसको चेतना वृद्धि प्रवाहको कार्य जुन थियो, आज फरक भईरहेको पाईन्छ । आफ्नो आवश्यक्ता पुरागर्न, वैशालु प्रेम योग र वियोगले भरिएको कला साहित्य र सृजनाको प्रस्तुति र अभ्यासले सामाजिक विषयवस्तुलाई गैरराजनीतिक गरिरहेको तथ्य र प्रमाण हरेक क्षणमा महसुस गर्न सकिन्छ । जानिनजानी जसले समाजमा असमानता सृजना गर्ने व्यक्ति, समूह, वा प्रवृत्ति साथै निश्चित सामाजिक, सांस्कृतिक, एवं आर्थिक पूँजीपति वर्गलाई पक्षपोषण गरिरहेको हुन्छ । अर्थात ज्ञान अज्ञानमा, प्रत्यक्ष परोक्ष रूपमा असमानतामा रमाउने उच्च वर्गको पक्षपोषण गर्ने त्यही क्रियाकलापलाई लेनिनले प्रतिकृयावादी प्रवृत्ति भनेका हुन् सक्छ । त्यही प्रतिक्रियावादी प्रवृतिले समामजिक असमानताका विषयलाई गैरराजनीतिकरण गरिरहेको हुन्छ जसका कारणले संरचनात्मक असमानताको रूप परिवर्तन भएको छ तर अझ पनि कमजोर भएको छैन मान्न सकिन्छ ।
No comments:
Post a Comment