"सबै व्यक्ति हरू जन्मजात स्वतन्त्र हुन ती सबैको समान अधिकार र महत्व छ। निजहरूमा विचार शक्ति र सद्धिचार भएकोले निजहरूले आपसमा भातृत्वको भावना बाट व्यवहार गर्नु पर्छ।" धारा १, मानव अधिकारको विश्वव्यापी घोषणापत्र
समाजको ऐतिहासिक सन्दर्भ, अन्तरक्रिया, परिवर्तन र रूपान्तरण अध्ययन गर्दा समयको अन्तराल संगै दिन प्रतिदिन समाज सरलता देखि झन् झन् जटिलता तर्फ प्रवेश गरिरहेको छ । समाज आफैमा विविधताले भरिएकोले गर्दा यसको अध्ययन अझ जटिल रहेको छ । समाजको विकासक्रम संगै विविध मूल्यमान्यता, संस्कार तथा संस्कृतिको निर्माण, विनिर्माण साथै पुनःनिर्माणले एकातर्फ सन्तुलन जस्तो देखिएपनि अर्को तर्फ भने असमानताका विषय र मुद्दाहरू स्पष्ट देख्न सकिन्छ । जो संरचनात्मक असमानता समाजमा जरागाढेर बसेको छ र बढ्दैछ । समाज आफ्नो गतिमा परिवर्तन र रूपान्तरण भए संगै अझ जटिलता र असमानता तर्फ धकेलिदैछ ।
दक्षिण एसियाली समाजमा रहेको हिन्दु सम्प्रदायको मूल्यमान्यताको विकास, परिवर्तन साथै रूपान्तरणको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । हिन्दु सम्प्रदायले अभ्यासमा ल्याएको संस्कार, संस्कृति, प्रथा, मूल्यमान्यता साथै व्यवस्था कसरी विकास भएको हो भन्ने विषयमा विभिन्न इतिहासविद, मानवशास्त्री एवं विद्वानहरूको आआफ्नै खोज र अध्ययन रहेको पाईन्छ । सिन्धु घाटिबाट विस्तार हुँदै गएको यो सभ्यता भारत र नेपालमा हिजोआज हिन्दु सम्प्रदाय, जात र धर्मको नामबाट बाहुल संख्यामा मात्र नभई निर्णायक पनि रहेको छ । यस सम्प्रदायको संस्कृति, मूल्यमान्यता साथै प्रथाको अध्ययन गर्दै जाँदा यस भित्रको सबैभन्दा महत्वपूर्ण विषय हिन्दु वर्णा व्यवस्था रहेको छ ।
कसैले हिन्दु वर्णाश्रम व्यवस्था भित्र रहेको जातहरू ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र आाफ्नो कर्म वा कार्यविभाजनको आधारमा गरिएको हो भन्छन् । पछिल्लो समयमा त्यही वर्णाश्रम र जात व्यवस्था जन्म र वंशजको आाधारमा स्थापित भएको पनि सुन्न पाईन्छ । ऋषिकालमा समाजको सकारात्मक विकास, परिवर्तन र रूपान्तरणमा बौद्धिक भूमिकामा रहेका व्रह्मज्ञानीलाई ब्राह्मण भनियो भने राज्यको राजकाजमा, सिमाना साथै प्रजाको धन, मान र प्रणको सुरक्षार्थ खटनेलाई क्षत्रीय मानियो । त्यसरी नै राज्यमा आवश्यक खाद्यान्न, वस्तु तथा सेवा आयात निर्यात साथै बिक्रीवितरण गर्ने व्यापारी लाई वैश्य भनियो भने राज्यमा आवश्यक हातहतियार उत्पादन, छलाको काम, सुनको काम लगायत ब्राह्मण, क्षेत्री, वैश्यको सेवा गर्ने कर्तव्य हुन्छ उनैलाई शुद्र भनिएको पाईन्छ । त्यसरी नै ब्राह्मण मुख बाट जन्मिएको, क्षेत्री पाखुरा बाट वैश्य जाँघ बाट भने शुद्र पैतालाबाट जन्मीएको भन्ने काहावत पनि कतै कतै सुन्न पाईन्छ समाजमा । ऋषिकाल देखि सिन्धु घाटिको सभ्यता हुदै वंशजको आधारमा हिन्दु सम्प्रदाय सम्म आईपुग्दा जे जस्तो व्याख्या भएपनि अभ्यासमा भने हिन्दु वर्णाश्रम भित्र जात उच्च निचको पदसोपान र स्तरिकरण रहेको पक्ष स्पष्ट देख्न सकिन्छ ।
तत्कालीन गौतमबुद्बको कालखण्डमा पनि हिन्दु वर्णाश्रम विभाजन साथै त्यसको संस्कृति, मूल्यमान्यता र प्रथाको अभ्यास उच्च तहमा रहेको पाईन्छ । नेपालको इतिहासमा जात व्यवस्थाको सुरूवाती अभ्यासमा तत्कालिन राजा जयस्थिती मल्ल रहेको ऐतिहासिक सामाजिक अध्ययनले बताउँछ । त्यसपछि तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणा द्वारा जारी गरिएको सन् १९१० को मुलुको ऐनमा वैधानिक रूपमा हिन्दु वर्णाश्रमलाई आधार मानेर जात व्यवस्था जारी गरियो । जुन जात व्यवस्थामा पानी चल्ने नचल्ने उच्च निचको असमान व्यवस्था निर्माण गरियो । साथै दलित जातमा पर्नेले के छोएको वा छोईछिटो गरेको चल्ने नचल्ने, विवाह, घर भित्रको प्रवेशमा रोक सम्मको कानुन निर्माण गर्दै कार्यान्वयन गरेर हिन्दु वर्णाश्रमको असमान जत व्यवस्थाको अधिकतम अभ्यास गरिएको पाउन सकिन्छ । हिन्दु वर्णाश्रम भित्रको ब्राह्मण देखि शुद्र हुदै उच्च जात देखि दलित जात सम्म आईपुग्दा विभिन्न मूल्यमान्यता, प्रथाको परिवर्तन अध्ययन गर्दा अमानवीय र असमान अभ्यास भइरहेको पाइयो । उत्पिडित दलित समुदायको हक अधिकार सुरक्षीत र सुनिश्चित गरिएको लोकतान्त्रिक संविधान मानिएको नेपालको संविधान २०७२ जारी भईसक्दा पनि नेपाली समाजमा जात व्यवस्थाको गहिरो प्रभाव आज पनि देख्न सकिन्छ । राज्यले विभिन्न कानुन, नीति नियम, योजना र कार्यक्रमहरू कार्यान्वयन गर्दा पनि कथित दलित समुदायको जीवनस्तर उक्सन सकेको देखिदैन । यस पछाडिको प्रमुख कारण समाजको मूल्यमान्यता, प्रथा र संस्कृतिमा जरा गाडेर बसेको हिन्दु वर्णाश्रमको पदसोपान, असमान जात व्यवस्था र विभेदकारी छुवाछुत प्रथा होइन भन्न सक्ने आाधार पाउन सकिन्न ।
२१अौं शताब्दीको विश्वव्यापीकरणको अवधारणामा विश्वसमाजले अभ्यास गरिरहदा वा भनौं उत्तरआधुनिक समाजमा प्रवेश गरिसक्दा पनि हिन्दु वर्णाश्रममा शुद्र, जात व्यवस्थामा दलितमा पर्ने व्यक्ति वा समुदायले जन्मसिद्ध अधिकार अनुरूप एक सामान्य मानवको रूपमा आफ्नो सामाजिक सहभागीता, आर्थिक दैनिकी व्यतीतमा निकै असहज भएको तिनको जीवनस्तर देखेर सजिलै महसुस गर्न सकिन्छ । अलिखित र अघोषित रूपमा शताब्दी शताब्दीयौं अघिदेखि समाजमा असमान व्यवहार गरि उत्पीडनमा पारिएको विषयलाई मध्यनजर गर्दै नेपालको संविधान २०७२ मा कथित दलित सुमुदायको न्याय र उत्थानका लागि मौलिक हक अधिकार, समावेशीतामा अवसर लगायत विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयन सम्म गरेको छ । त्यस साथै सामाजिक विभेद र अन्यायमा पारे वा परे भने कानुनी कार्वाही साथै क्षतिपूर्ति उपलब्ध गराउने सम्म व्यवस्था गरेको छ । तथापि दलितको सवलमा छुवाछूत प्रतिको सामाजिक विभेदको मूल्यमान्यता, संस्कृति र प्रथाको अभ्यासमा पूर्णरूपमा उदार परिवर्तन नआएकोले आज पनि शुद्र वर्णका कथित दलित समुदायको आर्थीक, सामाजिक, राजनैतिक, सांस्कृतिक, स्वास्थ, शैक्षिक लगायत पक्षमा पिछडा, उत्पिडन, सिमान्तिकरण जस्तो विभेदमा परेको विषय नकार्न सकिन्न । यही र यस्तै छुवाछूतको विभेद, सृजीत सामाजिक असमानताका कारणले अर्थसामाजिक अवस्था दलित समुदायको कमजोर रहेको कारणले जीवनस्तर वृद्धिमा असमान प्रभाव परेको अध्ययन गर्न सकिन्छ । छुवछुत प्रथा र विभेदका कारण दलित किसानको जीवनस्तर वृद्धिमा प्रभाव परेको विषय नजरअन्दाज गर्न मिल्दैन ।
हिन्दु वर्णाश्रमको शुद्रमा पर्ने, जात व्यस्थामा कथित दलितमा पर्ने व्यक्ति वा समुदायले भोगिरहेको छुवाछुत प्रथा र सामाजिक विभेदका कारणले तिनको अर्थसामाजिक अवस्था साथै जीवनस्तर वृद्धिमा प्रभाव परेको छ छैन भन्ने समाजले गहिरो अध्ययन गर्न जरुरी छ । समाजले मूल्यमान्यता र प्रथाको नाममा अन्यायमा पारेको विषयलाई विधान र कानुनले न्याय र समानताको आभाष दिलाउन सक्छ त ! यदि सक्दैन भने जसरी आजसम्म समाजबाट संरचनात्मक अन्यायमा पारिएको छ त्यसरी नै समाज मात्रले न्याय र समानताको अनुभव दिलाउन सक्नु पर्दछ । किनकि यो ब्रह्माण्ड, पृथ्वी र समाज सबैको साझा हो । सामाजिक सहभागीताका साथ सम्मान पुर्वक बाँच्न पाउने अधिकार सबैको समान रहेको छ । थोमस जेफर्सनले भनेको जस्तो "The god who gave us life, gave us liberty at the same time." । स्वतन्त्र र समान अस्तित्व रहेको एक मानवले अर्को मानवलाई मानवको रूपमा लिन र स्विकार्न सक्दैनौं भने हामीले आफुलाई सर्वश्रेष्ठ प्राणी मानव हौं भन्न मिल्छ कि मिल्दैन ! मानव बस्ती भएको नेपालमा मानव मानव प्रति छुवाछुतको र जात व्यवस्थाको भेदभाव आज पनि रहेको छ भन्ने विषय सबैभन्दा निकृष्ट प्रथा र पृथ्वीकै कलंकीत समाज हुनबाट जोगिन समयमै सबैले सोच्नुपर्ने र महसुस गर्ने बेला आएको छ । समस्या के हो र कसरी सृजना भएको हो साथै समाधानको ढाँचा कस्तो हुनुपर्छ भन्ने जिम्मेवारी हामीले नै लिन सक्नु पर्द यदि विकसित नेपाल, सुखी र समृद्ध नेपाली बन्नु र बनाउनु छ भने । निश्चित व्यक्ति वा समुदायको अन्यायको पिडाको चिच्याहटले नेपाल नत विकसित कहलिन्छ न त सभ्य नेपाली नै ।
नेपाली काङ्ग्रेस उदयपुर
जिल्ला कार्यसमिति सदस्य
जिल्ला कार्यसमिति सदस्य
भुवनमान श्रेष्ठ
No comments:
Post a Comment