कोरोना-१९ विरूद्धमा विश्वसमाज विश्वयुद्धमा प्रवेश गरिसकेको यो lockdown को अवस्था हो। नगद वा जिन्सी नबिक्ने यो अत्यधिक संकट र विपत्तिको बेलामा राहत वितरण र मापदण्डको विषयलाई लिएर कसैले उछाल्छ भने त्यो समाजको भाँडभैलो चाहने अर्थ केन्द्रित विचार वाहक भनेर चिन्दा जान्दा हुन्छ। जो भदौमा आँखाफुटेको गोरुले हरवक्त हरियो देखे झै वर्गगीय द्वन्द देख्नुु अतिवाद हो। र यस्तो समय, को संग कति छ र छैन भन्ने छुट्याउने समय हैन। यो पृथ्वीको उत्पत्ति देखि अाजसम्म अाईपुग्दा यस्तो क्षण जो हामी भोगीरहेका छौं त्यो ऐतिहासिक संवेदनशीलताको घडी हो। न हिजो कसैले भोगेका थिए न भोलि भोग्नेनै छन्। राहतमा असमान वितरण र वितरणमा अन्याय भएका कुरा गर्ने मस्तिष्क मानवीय संवेदनशीलता र पिडाबोध नभएको मस्तिष्क हुनसक्छ।
यो घडीमा कोही राहत लिन जान्छन् भने त्यो रहरले नभई भोकको लोभको बाध्यताले हुन सक्छ। यही कठिन समय अझै लम्बिने हो वा गुज्रिने हो भने पक्कै भुवन हजुरको नागरिक पनि राहत थाप्ने त्यो लाईना हुनेछ। म संग एउटा मोटर साईकल छ, पिताजी भारतिय पेन्सनर हुनुहुन्छ, बजारमा घर घडेरी र खेत बारी छ। यही अबस्था लम्बिदै गर्दा थाहा छैन म, मेरो पिताजीको घरमा रासन पानी सकिदा हामी त्यो राहतको लाईनमा बस्न पाउँछौं कि पाउदिनौं! तर म त्यो लाममा हुनेछु हाम्रो परिवारको भोक मेटनाकालागि, त्यतिखेर कसैले बकबास गरे त्यसलाई त्यहीं समातेर, हामी संग हाम्रो विवाहका समयमा खरिद गरेको तोलाका तोला सुन, त्यो मोटरसाईकल, घर जग्गा, र नगद पैसा जो छ त्यही खुवाईदिने बाचा गर्दछु। अन्न, अन्न हो जो उच्च, मध्यम र निम्न मानिने सबै समुहमा पर्ने मानवको आधारभूत आवश्यकता हो। जो बाँच्नकालागि सबैलाई चाहिन्छ र उत्तीनै चाहिन्छ।
यो विशेष र शून्य परिस्थितिमा कोही राहत बाड्दै छन् भने सबै धनी धनाड्य होईनन्। कोही राहत लिदैछन् भने ती सबै निम्न वर्गीय हुन भन्ने होईनन्। सरकारले भोक र संकटमा परेका जनताकालागि सहयोग अपिल गरेर उपलब्ध गराउदै गरेको राहत थाप्न र लिन कुनै लाज नमाने हुन्छ। भोको पेटले लाज मानेर साथै भजन गाएर बस्दैन कोही, कहिले पनि। राहत उपलब्ध गराउने वा वितरण गर्ने र राहत लिनेको कुरा त भयो अब राहत लिएको दिएको नापतौल गरेर बस्ने आफुलाई उच्च वर्ग ठान्ने न्यायका देवताको भकारीको आफ्नो अन्न र बगानको फुलपात सकिएको वक्त आउनेछ। ऐन वक्तपर भएको नगद, जिन्सी, जग्गा जब बिक्दैन तब अाजको दिनमा ती राहत वितरणमा न्याय अन्याय भएको र दुधको दूध, पानिको पानी छुट्याउने साहस राख्ने न्यायका देवता बनेकाको र आफुलाई पुग्दो ठान्ने प्रिय जनहरूको हातमा जब मुम्बईको ट्राफिक जाममा आफ्नो र आफ्ना परिवारको पापी पेटकालागि थाली र कटौरा लिएर बसे जसरी राहत लिन लामलागेर बस्नु पर्ने दिनको अनुमान लगाउन नसक्ने छोटो बुद्धि भएका, मानवता कम भएका, अरूको भोक नबुझने र अवस्थामा खेलवाड गर्ने प्रियजनहरूमा हार्दिक निवेदन गर्दछु। सामान्य अवस्थामा पनि यो राहत वा अन्न हामी सबै मानवको पापी पेटको नैसर्गिक अधिकार हो। यो विश्वसमाज पिडाको समयमा झन् सबैको भुडी र भोक उहीँ हो, यसमा धनी गरिब छुट्याउनु हुन्न। यो अन्नरूपि राहत हरेक मानव र पशुको अधिकार हो। कृपया गरेर यस्तो मानव संवेदनशिल विषयलाई अनअावश्यक बखेडा बनाउने प्रिय मानवमा न्यायको भूत चढेको देख्दा पृथ्वीको भविष्यको अनुमान लगाउन सकिन्छ। भोको भुडीलाई मापदण्ड बनाउने, वर्गीय विभाजन गराउने प्रियजनमा बौद्धिकतामा स्वस्थता र पवित्रता नदेखिनु हो। बोल्नु वा अभिव्यक्ति दिनु भन्दा पहिले हिजो, अाज र भोलि अनि माथि, तल र आठै दिशामा नजर लगाउने क्षमताको विकास गरौं। बोल्दा बिग्रन सक्छ र कसैको चित्तमा ठेस पुग्न सक्छ भन्ने थाहा होस् त्यसैले गहिरो अध्ययन गरौं। माया, प्रेम र मानवतामा टेकेर अाफ्नो सोचलाई हरवक्त अभ्यासमा राखौं। सिङ्गो मानवको स्तर गिर्नेगरी र अपमान हुने खालको अभिव्यक्ति बन्द गरौं।
मानवतावादी माक्र्सले आफ्नो माक्र्सवादमा समाजको उत्पादनका स्वरूपमा हुने ती वर्गहरू, त्यो उच्च वर्ग र गरिखाने वर्ग बिचमा द्वन्दात्मक सम्बन्ध त हुन्छ तर परिपुरक पनि हुन्छ भनेका छन्। त्यसमा निम्न वर्गहरूले आफुलाई कसरी चेतनामा ल्याउछन् र ती उच्च वर्गीय कसरी सहमतिमा आउछन् भन्ने विषयमा स्पष्ट पार्न खोजेका छन्। उच्च वर्गकाले गर्ने शोषणको अन्त्य र निम्नवर्गको न्याय र हितको अवस्थको कल्पनाको अध्ययन नै माक्र्सवाद हो। जहाँ दुवै वर्गले न जितेको अवस्था, नत हारेको त्यो मानवतावादी अवस्थाको वकालत गर्दछ जहाँ समाजमा मानवता स्थापित कसरी गर्न सकिन्छ भन्ने विषयलाई जोड दिएका छन्। तर यो संकटको घडीमा नेपाली समाजमा आफू आफू बिचमा यति तिरस्कार र असमानताको खाल्डो देखिनु र सोचमा सहानुभूति र सदासयता नदेखिनुले नेपाली समाजको भविष्य दुर्घटनामा पर्ने निश्चित छ।
मानवताले प्रेमको जन्म हुन्छ तर घृणा र द्वेषले द्वन्द, जस्ले समाजको शान्ति, समृद्धि, नियमितता, व्यवस्थालाई नोक्सानी गर्नसक्छ। अहिले वर्गीय द्वन्द्वको युद्धको शंखघोष छेडने समय होईन प्रियजन। यो बेला एकलाई प्यास लागे अर्को पानी बन्ने र एकलाई भोकलागे अर्को अन्न बन्ने समय हो। आफु भित्र रहेको लोभ, ईर्ष्या, घमण्ड, अचेतलाई बाहिर फालेर आफु भित्र रहेको मानवता जगाउने बेला हो। एक आपस बिच सहयोग आदान प्रदान गरौं। मानवता बाहेकको सबै कुरा त्यागौं र यस परिस्थितिलाई जितौं। यस्तो घडीमा राज्यले अन्तर्राष्ट्रियले राहत उपलब्ध गराउने र राहत ग्रहण गर्ने सवालमा धनी, गरिब र हुनेखाने र हुदा खानेको कुरा आउदैन। भोकको कुरा आउछ, मात्र भोक यस्तो संकटको बेलामा, शुन्यताको समयमा। फेरि पनि स्मरण गराउदछु यो समय परिस्थितिलाई गहिरो गरि बुझ्ने कोसिस गरौं, अनि त्यो अजिबौं गरिब सोचबाट माथि उठौं। तिन छाक खान पाउने राहत जन्मसिद्ध अधिकार हो, जो राज्यले उपलब्ध गराउने कुरा हो। त्यसैले व्यक्तिगत संकिण, छोटो र लोभी मानसिकताले कञ्जुस निर्णय लिन स्वभाविक हो। यसमा हजुरको दोष फेरीपनि नभएको जानकारी गराउदछौं, किनकि समाजले सिकाएको व्यवहारिकता र दिएको ज्ञानको बौद्धिकता त्यति नै हो। दोषी सामाजिक संरचना हो। ढुक्क हुनुहोस्, तपाई हाम्रो समाजको बौद्धिक र गुणस्तर मानसिकताको कस्तो अबस्था छ भन्ने मापन गर्नसक्ने प्रतिनिधि पात्र मात्र हो। जसले समाजको सभ्यता र मस्तिष्कको स्तर मापन गर्न मद्दत गर्दछ।

No comments:
Post a Comment